पेन्सन रोक्ने कि ?! अघोरी बाबा र पत्रकार सम्वाद सन्दर्भ

बाबा के सुन्दै हुनुहुन्छ ?’
भरत दाहालको वार्ता सुन्दै थिएँ । मलाई उनको विश्लेषण घत लाग्छ । ऐतिहासिक श्रृङ्खला जोडेर वस्तुगत ढंगले मिमाँसा प्रस्तुत गर्छन् । भगवान छन् भने उनको रक्षा गर्लान् । म अहिले यति नै भन्छु ।

‘अरक्षितं तिष्ठति दैव रक्षितम्’
‘अब तिमी आफ्नो कुरा भन । आत्तिएका छौ,के भयो ?’
‘बाबा अनर्थ हुने भो । राज्यले फेरि जनतामा त्रास र आशङ्का फैलाई दियो ।’

‘के राज्यले १६ देखि ३५ वर्षका युवती विदेशीका हातमा जिम्मादिने सम्झौता गर्यो ?’
‘के देशलाई सिक्किम जस्तै विकसित गर्ने प्रतिज्ञा गर्यो ?’
के कामै नलाग्ने धरती फेरि फिर्ता लिने भो ? अथवा आकाश मार्गबाट विशाल नेपालको सिमानामा हवाई मार्गबाटै सीमा स्तम्भ गाड्ने भयो ?

के देशको बचाउका लागि अराजनितिक काजीले राजनीतिबाट सन्यास लिने भए ? आखिर यी बाँचुन्जेल यो मुलुकको हित त हुनेवाला छैन । सन्यास लिएका हुन भने देश निर्माणमा तिनको सहयोग नै मान्नुपर्छ । यतिन्जेल त असहयोग नै गरेका हुन् । उनीहरुको उपस्थिति नै यो मुलुकको निम्ति घातक भएको हो । यो कुरा इतिहासले भोलि प्रमाणित गर्छ ।

कि तिमीले राजनीतिक सरदारले डाका भएर देश लुटेको देख्यौ र निमुखा जनता चाहिँ ईश्वरको प्रतिमा बनेर हेरिरहेको पायौ ? के कुरा हो ? यति निराश किन छौ ? बाबाले बल्ल पत्रकारलाई बोल्ने मौका दिए ।

उसले बोल्न नपाउँदै बाबाले फेरि भने – पेन्सन नदिने कुरा उठेको छ । यही कुराले विचलित भएका होइनौ र ?
‘जी बाबा ! फेरि नदिने हल्ला छ | विल पास हुन बेर छैन ।’

‘त यसमा खराबी के छ ? नेपालले मात्रै आफ्ना कर्मचारीको पेन्सन रोक्ने हो र ? नेपाल त गुरु हो नि ! हाम्रा नेता यस्तो सुवुद्धि भएका छन् कि यिनको बुद्धि उधारो लिएर अरु देशका नेता र योजनाविद्हरुले आफ्ना देशको प्रगति गरेका छन् ।’

‘मैले बुझ्न सकिन बाबा ?’
‘पेन्सन रोक्ने कामले दुई कुरा गर्छ । एउटा जनतालाई दुःख दिन्छ,अधिकार कटौती गरिदिन्छ । अर्को राज्य प्रत्यक्ष रुपले सो को स्वार्थमा लाभ लिन्छ । तर ठूलो घाटा चाँडै भोग्नुपर्छ भन्ने जान्दैन ।’

‘बाबा त्यो कसरी ?’
‘जनतालाई तड्पाउन थाल्यो भने जनता पलायन गर्छन । रिक्त ठाउँमा विदेशीलाई भर्न सकिन्छ । यसरी राज्य-शक्तिमा रहेकाहरु सत्ता र पूँजी दुवै लाभ लिन पाउँछन् । आखिर यी अर्कैले उभ्याएका बुख्याँचा न हुन् । जुनसुकै अकर्म पनि गर्न सक्छन् ।’

‘अनि के ?’
‘ बृटिश आर्मीबाट पेन्सन लिएर नेपाल फर्कनेलाई पनि बृटिश यूकेले पेन्सन रोक्नुपर्छ भन्ने आवाज उठ्छ । इन्डियाबाट रिटायर भएर आउनेलाई पनि इन्डियाले पेन्सन रोकोस् भन्ने आवाज उठ्छ । आखिर गुरु त यिनै कथित नेता हुन् नि । नेतृत्व ओली जी कै हो । र, यो निर्णय भयो भने त्यसको श्रेय ओलीजीलाई नै मिल्छ ।’

फेरि जब कर्मचारीको पेन्सन रोकिन्छ,फेरि राजनीतिक व्यक्तिले अपदस्थ भएपछि भत्ता र सुविधा पाइरहन सक्ला र ? यो सम्भवै छैन ।

अहिले जनता जागृत छन् । देशमा फैलिएको अव्यवस्था र अराजक स्थितिसँग जुध्न सक्ने जनता बुद्धिजीवी अभियन्ताहरु अग्रसर भईसकेका छन् । त्यसैले नेताले भत्ता सुविधा लिने र कर्मचारीको पेन्सन रोकिने भन्ने कुरा हुँदैन । यदि नेपालका कर्मचारीको तलब रोकियो भने नेपालको सरकार घुँडा टेक्न। पुग्छ । बृटिश, इन्डिया र अन्यत्रबाट पेन्सन पाउनेहरुको पेन्सन रोकिने मन्त्र पनि छन् त्यसको घाटा सहन नेपालको वर्तमान सत्ताधारी तयार छ भने पेन्सन रोकेर केही फरक पर्दैन तर चाराना रोकेर बाह्रआना गु्माउनु पर्ने छ ।

तिमी चिन्ता नगर,नेपाल सत्मार्गतर्फ लाग्दैछ । नेताले तड्पाएका जनता अर्को सम्बिधानको खोजीमा लागेका छन् । नेताको आयु लामो हुन्छ कि देशको ? यो गणित गर्नै पर्छ ।

पेन्सनमा बसेका मान्छेको आयु शेष कति रहन्छ र ? मृत्युपछि पनि पत्नीले केही अंश मात्र पेन्सन पाउँछन् । बाँचुन्जेल जहाँ गएर,पुगेर पनि पेन्सन भोग्ने अधिकार कटौती गर्न सक्तैन सरकारले । त्यसैले डेमोक्रेटिक चरित्रमा ढलेको कम्युनिष्ट सरकारले चारानाको लोभले बाह्रआनाको घाटा सहला भन्ने लाग्दैन ।अँ, नेपालबाट कुनै पनि हिसाबले नेपाली नागरिकलाई बहिर्गमन गराएर विदेशीलाई नागरिक बनाउने योजना वर्तमानका सत्ताधारीको हो भने, त्यसमा उनीहरु अवश्य सफल हुनेछन् तर सामाजिक अभियन्ता, सेना र सर्वसाधारण जनतालाई तिनले जित्न सक्ने छैनन् ।

देश कथित नेताको चरिखाने भूमि होइन । यो जनताले रगत र पसिनाले खिचेर जोगाएको मात्र हो । नेताले मनमौजी हुन पाउँदैन । कानून बलियो हुँदैछ । अदालतले हाम्रो रक्षा गर्नेछ । आशावादी छौं ।

आज बाबाले पत्रकारलाई बोल्ने मौकै दिएनन् । आखिर बाबा पनि यस्तै सत्यार्थी शासन गरेकै धरतीमा उभिएका न हुन् ।

कस्ता पात्रलाई मत हालेर जिताए छन् जनताले ! अब जनताले सोच्नै पर्ने भएछ । जनतालाई पनि मेरो प्रश्न छ पत्रकार । तिमी सोधिदेऊ ‘नेताले सरकारले सिमानाको रक्षा गर्न सक्यो ? नागरिकको ज्यान र धनको रक्षा गर्न सक्यो ? जनतालाई नेता र माटो किन चाहिने रहेछ ?’

Add a Comment

Your email address will not be published. Required fields are marked *