प्रम देउवा,कोइराला परिवार र कमरेड केपी वलीका नाममा

लेखनाथ भण्डारी

आज मेरा एकजना साथीसङ्ग कुरा भयो । पहिले हामी अनामनगरमा एक अर्काको छिमिकी थियौं । साँझ बिहान भेटघाट भैरहन्थ्यो । पछि उहाँ घर बनाएर भक्तपूरतिर सर्नु भयो म भने डेरा सर्दै किर्तिपुरतिर पुगें । भेटघाट पातलो त भयो नै तर फोन सम्वाद आवश्यकतानुसार हुने गर्थ्यो । अहिले म अमेरिकमा बस्छु । उहाँ यता आउँदा जाँदा होस् वा फोनमा कुराकानी हुन्छ नै । पारिवारिक सन्चो बिसन्चो,घर परिवार,बुबा आमा,दाजु भाइ/दिदी बहिनी वा छोरा छोरीहरुको बारेमा सोध खोज हुनु पनि स्वाभाविक नै हो । देशको समसामयिक राजनिती,समाज र अन्य धेरै विषयमा छलफल हुने गर्छ उहाँसङ्ग अर्थात मेरो साथीसङ्ग । दिनहुँको देश दुखेको पिडा सहनु परेको छैन तपाईंहरूले भन्दै उहाँ भन्नुहुन्छ आश गर्ने कुनै ठाउँ छैन । आहा भन्न कोही बाँकि रहेनन् भनेर उहाँ दुखि हुनुहुन्छ कहिलेकाहिँ ।

तर आज उहाँले भन्नु भयो- ल है लेखनाथ जी,आजको हाम्रो फोनमा कुराकानी भएको विषयमा सानो समाचार ड्राफ्ट गरेर तपाईंले मलाई पठाउनुहोला । यताका मिडियामा म नै दिन्छु मिले तपाईंले त्यताका मिडियालाई पनि दिनु भए हुन्छ ।

मलाई अनौठो लाग्यो,आज साथीलाई के भयो अचानक र यसरी व्यक्तिगतरुपमा फोनमा भएको सम्बाद  मिडियालाई किन दिन पर्ने भयो ? उहाँले यसको महत्व वा रहस्य अर्को कुनै सन्दर्भमा उल्लेख गरौंला भन्दै हाम्रो कुराकानीको प्रेस नोट बनाउन जोड दिनु भयो ।

कुराकानी उहाँले यसरी शुरु गर्नु भएको थियो- प्रधानमन्त्री शेर बहादुर देउवा नरहे बाँस नबजे मुरली भने झैं आगामी सरकारले गर्न सक्ने सबै काम सकेर मात्र सरकार छोड्ने सुरमा हुनुहुन्छ । प्रम देउवा आफ्नी पत्नी आरजु राणाले चुनाव नै हारे पनि उहाँ सक्षम योग्य मात्र होइन संसदमा अनिवार्य आबश्यक पनि भएकोले साथी सङ्गी उचालेर राष्ट्रिय सभामा तानेर जनमतको सम्मान गर्न खोज्दैहुनुहुन्छ । उहाँका ज्योतिषले सात पटक प्रधानमन्त्री हुनुहुन्छ भनेकाले पनि उहाँलाई अहिले बाँकी ३-४ पटक प्रधानमन्त्री हुनु बराबरको काम गर्नु पर्ने चटारो छ । यही चटारोमा आफ्नी पत्नी सक्षम योग्य महिला नेत्री आरजुलाई राष्ट्रिय सभामा चढाउनु बाहेक अरु बाँकी ३-४ पटक प्रधानमन्त्री भए बराबरका काम/निर्णय गरिसकेर गरेर मात्र साता बाहिर निस्कनुछ प्रधानमन्त्री देउवालाई ।

हाम्रो कुराकानीको अर्को प्रसङ्ग थियो-
नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइरालाको सपना साकार पार्न कोइराला परिवार चिन्तित छ । वीपीले कुनै जर्नल/डायरी वा कथा उपन्यासहरूमा त लेख्न भ्याएनछन् वा सम्झेनन् । उनका कुनै प्रबचन/भाषणहरुमा भनेको पनि कसैले सुनेनन् । तर उनले सुटुक्क कानमा भनेका थिए रे गिरिजाप्रसाद कोइरालालाई- मिलेसम्म सम्बैधानिक होस् वा बेबी किङ्ग छोडेर गणतन्त्रमा नलाग्नु । लाग्नु नै परे पनि नेपाली कांग्रेसको राजनिती कोइराला परिवारको हातबाट बाहिर जान नदिनु । परिवारमा राजनीतिप्रति चासो वा रुची राख्ने तिमी(गिरिजा वा शुशिल,शैलजा आदी)हरू छउन्जेल ठिकै छ । त्योबेलासम्म त तिमीहरुले नै यो विरासत थाम्नु । तर तिमीहरूको शेषपछि कोइराला परिवारका सदस्यहरु अन्य जो जहाँ जे जस्तो पेशा व्यवशाय वा अवस्थमा छन् तिनलाई तान्नु । तिनैलाई पार्टीको निर्णायक ठाउँहरुमा छान्नु । आफ्ना दाजु र पार्टीका संस्थापक नेताले नै भनेको यही पितृ बचन पुरा गर्न अहिले शेखर,शशांक र सुजाता पनि नेपाली काङ्ग्रेशको विरासत गुम्न नदिन सबै मतभेद त्यागेर लन्च र डिनर बैठक गर्दैछन् ।

हाम्रो कुराकानीको अन्तिममा अर्को महत्वपूर्ण विषय थपियो । हुम्ला लगायतका हिमाली/पहाडी जिल्लाहरुमा नुन नपुगेर जनताको स्वास्थमा ठूलो समस्या छ । तराईमा शित लहरको हा-हाकार छ । गृहमन्त्रिसमेत रहनु भएका प्रधानमन्त्री देउवा कार्यकर्तालाई सहयोग रकम बाँडिरहनु भएको छ । नुनको र कम्बलको जोहो गृहमन्त्रीले किन गर्नु पर्दैन ? के कार्यकर्ता बलिया भएमा मात्र पार्टी र देश बलियो हुन्छ भनेर हो ?!

कमरेड के पी ओली चीनबाट नेपालमा विकाश झार्न भनेर ४-४ वटा हेलिकप्टर लिएर रसुवा आते जाते गरिरहनु भएको छ । तर किन एउटा हेलिकप्टर हुम्लामा नुन झार्न पठाउन सक्नुहुन्न ? किन तराईका कुनै शितलहर प्रभावित बस्तीमा खासाबाट २-४ ट्रक कम्बल बोकेर पठाउन सक्नुहुन्न कमरेड ओली ?

यसो त कमरेड ओली वा देउवाको आफ्नोमात्र  पकड वा क्षमताले यी सबै काम हुने कहाँ हुन् र ? साथीले थप्नु भयो – सात पटक प्रधानमन्त्री भए बराबरको काम गरेर देउवालाई कोइराला परिवारबाट खोसेर नेपाली काङ्ग्रेसको विरासतमा लिनु छ आफ्नो हातमा/आफ्नो परिवारमा। त्यसैले देउवा वरिपरिको बल यसैका लागि केन्द्रित छ ।

केपी ओली वरिपरिको एउटा बल वलीको बोलीको बलले काम गरुन्जेलसम्म मात्र हो हाम्रो पालो भन्ने ठान्छ र त्यसपछि आफ्नो आफ्नो भविष्य अन्धकार देख्छ । त्यसैले जति सकिन्छ र पाइन्छ अहिल्यै सबै आँफै हसुर्न/सोहर्न वा सिध्याउनुपर्छ भनेर लागेको छ त्यो बल । के पी वली वरिपरि अर्को बल पनि छ,त्यो वलीको बल कहिले सिध्दिन्छ र आफ्नो पालो आउँछ भनेर पर्खेर बसेको छ। कहाँ कुन पासोमा फसाउन सकिन्छ यिनलाई भनेर च्याँखे थापेर बसेकोछ  त्यो बल ।

यिनै विषयमा केन्द्रित आजको हाम्रो फोन बार्ता फेरि अर्को बार्तामा थप विषयहरूमा छलफल गर्ने निष्कर्षसहित टुङ्गियो । सम्बाद र सम्पर्क: LNB999@GMAIL.COM

Add a Comment

Your email address will not be published. Required fields are marked *