म आफ्नै मृत्यु बाँचिरहेछु
|
जीवन मृत्यु बोकेर बाँचिरहेछ
हत्केलामा मृत्यु बोकेर
किनारा भेट्न नसकेको जीवन
हरेक क्षण अल्पायुमै सकिन खोज्छ
कुनै निश्चित परिधि भेट्न नसकी
जब मृत्यु बाँचेको जीवन देख्छु
तब लाग्छ कति निरर्थक रहेछ जीवन ।
निरन्तर कैयौं बर्षदेखि
भूगोलको पल्लो छेउमा
म आफ्नै मृत्यु जब देख्दछु
तब दिशाहीन बनेर छरपष्ट उज्यालो बन्धन बन्छ
अनि आवाजहिन बनेर जान्छ
कतै सुनिंदैन आवाज
कतै बुझिंदैन पीडा
कतै देखिंदैन रोदन
तब लाग्छ जीवन मृत्यु बाँचिरहेछ।
यात्रामा भेटिएको हो जीवन
जीवनका आवाजहरु संगीत झैं बुझिनु पर्ने हो
जब हाँसो फुस्कँदैन कतै
जब रमाइलो देखिंदैन कतै
अनि खुशी देखिंदैन कतै
तब लाग्छ म मात्र होइन
सम्पूर्ण पीडित जीवन मृत्यु बाँचिरहेछ ।
दुखेका बिम्बहरू छरिएर जताततै
रोदनका ज्वारभाटा फैलिएर जताततै
किन हाँस्दैन फक्रिएको जीवन
किन फुल्दैन फूल जीवनको गमलामा
तब लाग्छ जीवन मृत्यु बाँचिरहेछ
जब स्वाभिमान बाँचेर पनि मृत्यु बोल्छ
त्यसैले म आफ्नै मृत्यु बाँचिरहेछु !