गजल
|सङालेर स्वप्ना चितामा जलाएँ
सबै राख पारी नदीमा बहाएँ
निकै आश बोकेर आएँ विदेश
न भो नाम ठूलो न ऐश्वर्य पाएँ
वृथा कल्पना रैछ आनन्दभोग
ठुँगे खिन्नताले भरोषा गुमाएँ
हजारौँ पीडाले भएको छु ग्रस्त
खुसी खोज्छु भन्दा व्यथा पो बढाएँ
उता देश दुख्दा एता दुख्छ छाती
सधैँ दर्द मैले हियामा लुकाएँ
कडा भ्रामरीले डसे झैँ छ हाल
कसोरी भनौँ “जिन्दगानी डुवाएँ”
(भुजङ्गप्रयात छन्द)