आमाको पुकार

शान्त हिमश्रृँखलासँगै
मुस्कुरायकी आमाको साथमा
म आनन्द लिंदै रम्न पाएकोछु
चन्द्र सूर्य झण्डा मुनी
समयको अन्तरालमा गाँसिएका
दिन र रातको खेल
हिजो आज म देख्दैछु
हिमालदेखी तराईका फाँटहरुमा ।

आकाश मडारिरहेको देख्छु
कालो बर्षाद बर्सिरहेको भेट्छु
मेरी आँमाको आँखामा
आँसुको थोपा झरिरहँदा
ढलिरहन्छ बिश्वासका खम्बाहरु
म देख्छु आँसुको थोपासँगै
पहिरो सलल्ल झरिरहेको पाउँछु ।

भूकम्पमा छ्यालब्याल हल्लियर
ढडेका गाउँ छताछुल्ल भै
फूलको पत्रहरु ओइलाउँदै लत्रिरहेको देख्छु
चारैतीर सन्नाटा छायको भेट्छु
गाउँको बुड्ढा-बुड्ढी भोकै टोलाई
पानी नभेटी प्याक-प्याक देख्छु
चिच्याएर रोईरहेछन् साना नानीहरु ।

कतै छ्यालब्याल अन्नका भण्डारहरू
कतै भोकमरीको लस्करहरु
आमाको रुवाईको हिंक-हिंकसँगै
टप्किएको आँशुको थोपामा
चाण्डालहरुको कालो कर्तुत देख्छु
घुस र तस्करको लस्कर भेट्छु ।

भताभुँग छ गाउँ बस्ती
आँसुहरुको थोपामा
लामो सिंग भएका साँडेहरु निमुखालाई
उफ्रँदै कुल्चिरहेको देख्छु
कस्ले रोक्ने सुण्डे मुसुण्डे साँडेहरू
हाहाकार मच्चाइरहेको देख्छु
मै खाउँ मै लाउँ सुख चैनमा मै बसुँ भन्नेले
हिमालदेखि तराईसम्म
आँसुको थोपा कुल्चेर हिंडीरहेको देख्छु
सुन्दैनन् कोही आमाको पुकार
बुझ्दैनन् केही आमाको वेदना
देख्दैनन् केही आँसुको छट्पट्टी
कस्ले देख्ने कस्ले बुझ्ने ?
आमाको प्रतिबिम्बित विश्वासहरु ?

One Comment

Leave a Reply to Minerva Fulton Cancel reply

Your email address will not be published. Required fields are marked *