आमाको पैताला

चिप्लेटी खेल्ने ढुङ्गामा
कुनै डोब भेटियो भने
कतिपनि नडराउनु,
त्यहाँ मेरी आमाले
भर्खरै पाइला राखेर फर्किएकी छिन् |

हिँड्ने बाटोमा भेटिएनन्
कुनै काँडा भने
आश्चर्य नमान्नु
त्यही बाटो हुँदै भर्खर
मेरी आमा पधेँरीबाट फर्किएकी छिन् ।

कुनै फूल भर्खर
फक्रदैँछन् भने
त्यहाँ पनि हेर्नु
जरामा भेटिनेछन्
मेरी आमाका पैतालाका डोबहरू ।

उभिरहेको धर्ती झर्न लाग्यो भने
आकाश हेरेर पनि
डराउँदै नडराउनु
आमाको पैताला
रहुन्जेल धर्तीमा
त्यो खस्दै खस्दैन ।

फूलिरहेका धानका बाला
सुकिरहेको आँगनको बिस्कुन
पहेँलपुर सुन्तलाका दाना
हुर्किरहेका मकैका बोट
सुसाइरहेको खोलाको मुहान् भरि
भेटिनेछन् मेरी
आमाको पैताला ।

खोज्नै परे आमा हिँडेको बाटो
नछाम्नु उनको पैताला
त्यहाँ फगत भेटिनेछन्
गहिरा गहिरा खाडल
र चिरा परेका घाउ ।

खोज्नै परे मेरी आमाको पैताला
नजानु घरमुनिको कोठेबारीमा
घरछेउको भकारो घारीमा
बरू हेर्नु
चम्किरहेको मेरो अनुहार
बदलिरहेको मेरो भविष्य
दौडिरहेका मेरा गोडा
सजिइरहेको मेरो संसार
त्यहाँ पनि भेटिनेछन्
मेरी आमाको पैताला ।

One Comment

Leave a Reply to Durga Gautam Cancel reply

Your email address will not be published. Required fields are marked *