ट्रम्प काकालाई नमस्कार

अर्विन टेक्सास खोला, बाढी आयो होला बगाई ल्यायो लेगरु
दशैं तिहार निम्तो, गीतै गाउन विस्र्यो, लौ न मैले के गरुँ
मन्दीर चर्च बिहार, मनाउँ दशैं तिहार, नेपाली सब जनले
कति सुन्दर ठाउँ, यही रमाउन पाऊँ, भन्छ भित्री मनले ।

तिम्ले र हाम्ले झट्टै कुरा गर्ने, चट्टै छिन्यो फुनको तार
नपत्याको किन, हेर्ने भए हिन, चट्टै छिन्यो फुनको तार
सालैको त्यो पातले गरें दुबै हातले, ट्रम्प काकालाई नमस्कार
यति भने भो कि, भन्नै पर्ने हो कि, डोनाल्ड ट्रम्पलाई नमस्कार
पशुपतिको बनमा, मेरै भित्री मनमा, फुलै फुल्यो गमस्ते
दुबै हात जोडी, मनको ढोका फोडी, गरें सबलाई नमस्ते ।

लाउरे दाइको गुन्टा, पकाऊ बुढी मुन्टा, स्कूस होइन फर्सीको
फटाफटी प्रोसेस, अघि बढ्या भए, ग्रिनकार्ड हुन्थ्यो बर्सीको
आधा परिवार नेपाल, छाम्यो टाउको कपाल, भाग्य कैले बल्ने हो
मान्छे रेछन् छुरा, ट्रम्पका उग्र कुरा कहिलेसम्म चल्ने हो ?

बारीको रायो, लाइ कीराले खायो, साड्ले रायो मौलायो
कर र ट्याक्सले सेप्यो, जनतालाई हेप्यो, सरकार अचेल बौलायो
माला उन्नू जाईलाई, देबी माइलाई, कालो बोको रेटेर
यस्तै चाला रहे, प्रजातन्त्र भन्ने, जाला पाइलै मेटेर ।
तीम्रो पुन्टे लोग्ने, तीन घान मकै टोक्ने, खान्न भन्दै लजाउने
जुन देश गए पनि, जुन ब्यबस्था पनि, उही सोझालाई कजाउने ।

हात्ती माथि हौद, चाबेल माथि बौद्ध, नैकाप माथि मछेगाउँ
डाढो गर्ने गरुन्, टाउकै फोडी मरुन, हामी एकजुट छदैछौं
आधि कपाल काट्ने, आधि कपाल बाट्ने, काठमाडौंका पंक्सले
चुनाब लाग्या बेला, केको तिहार मेला, सिध्याउलान् नि कंशले ।

अगेनामै पोख्यो, माली गाइको दुध, हेर्दाहेर्दै उम्लेर
भोली हाम्रो रोपाई, आउनुहोला तपाई, छाता होइन घुमलेर
माथ्लो पाटो बारी, रेछ मुला तोरी, तल्लो पाटो कुसैकुस
एकमाना चिउरा, खाजा खाना देथ्यौ, आधा माना भुसैभुस ।

हिजो बेल्का खाको, कति मीठो भाको, महँगो त्यो आलु प्याज
सोध त्यस्को बाउलाई, त्यै पसले साउलाई, के भाउ रेछ आलू प्याज
पशुपतिको गजूर, तिर्नुपर्छ हजूर, मेरा गीतको साउँ र ब्याज
धान खायो गाईले, धपाइदियो भाइले, मकै खायो खसीले
पन्ध्र पन्ध्र दिनमा, चिठी लेख्दै गर्नु, नीलो रंगको मसीले ।

साउने संग्रान्तीमा, निम्ता गर्ने ज्वाइलाई, तर्कारी त घिरौंला
जवाफ पाए देखि, माया लाए देखि, फेरी पैंचो तिरौंला
बिस्केट जात्राँ खाको, अति मीठो भाको, भक्तपुरे बाक्लो दै
यही छुच्चो मुखले, के के भन्यो होला, नरिसाउनु होला है
जोगीमारा पहिरो, त्रिशुली झन गहीरो, गोर्खा मुनि दरौंदी
सलाम गरौं भने चाउरी प-र्या नाडी, नमस्कारै गरौं कि
यति भने भो कि, भन्नेपर्ने हो कि, नमस्कारै गरौं कि ।।

(असारे लोकलयमा)

 

Add a Comment

Your email address will not be published. Required fields are marked *