अन्तिम इच्छा

मेरो अनुरोध दिनु
यो धर्तीलाई
अनि
मेरो प्यास आकाशलाई
मेरो आशा फुल्दै गरेको पलाशलाई
मेरो नैरास्यता डुबाई दिनु
सागरको गहीराईमा
मेरो सिमलको भुवा जस्तो कल्पना
आफै फुक्नेछ
त्यसलाई बाँड्ने बोझ नलिनु !

मेरो स्पर्श नदिमा पखाल्नु
मेरो अस्तित्व चढाउनु मन्दिरमा
मेरा गल्तीहरू बिजुलीको खम्बामा
झुन्डाई दिनु
ताकी सबै सतर्क रहोस् !
मेरो उष्णमा दिनु ती अनाथ आश्रममा
जो परिवार बिना अधुरा छन्
मेरो चिसोपन खन्याउनु
प्रचण्ड गर्मीको रापमा !

मेरो क्रोध त्यो नारीलाई दिनु
जसले पुरुषको अत्याचार सहेकी छिन
मेरो शब्द मेरो कहिल्यै थिएन
त्यसैले
फ्याकी दिनु दोबाटोमा जो कोहीले उठाओस्

मेरो आवाज त
चारै दिशामा गुन्जमान रहनेछ
यदि गुन्जिन सकेन भने
त्यसलाई पनि दिनु
कुनै बोल्न नसक्नेलाई !

यदि कुनै बिहोसीले
मेरो होस लिन चाहन्छ भने
मेरा बेनाम पीडा, उजाडिएको चंचलता
अनि
उराठ उराठ संवेदना
उसको काखमा तिमीले राखी दिनु !

अब बाँकी रह्यो
‘माया’
त्यो त जीवित रहेसम्म लुटाई रहेकै छु
यदि अझै बाँकी छन् भने
मेरो मृत्यु पछि
त्यो तिमीले नै राख्नु
औसींको लामो रातमा आध चन्द्रमालाई
रुवाइको झङ्कारको साथ
सुनाउन काम लाग्नेछ !

One Comment

Leave a Reply to कृष्ण बाउसे Cancel reply

Your email address will not be published. Required fields are marked *