क्रान्तिको उद्घोष
|नरोक अब मलाई
अन्याय किन मैले मात्र सहनुपर्छ ?
नछेक अब मलाई
सजायँ किन मैले मात्र भोग्नुपर्छ ?
जघन्य अपराध गर्ने त्यो नराधम पापी
अनि किन म निर्दोषले कलङ्क बोक्नुपर्छ ?
मेरो सुन्दर वदनलाई
कुरुप पार्ने त्यो राक्षसलाई
मेरो निर्दोष जीवनलाई
बिरुप पार्ने त्यो दानवलाई
घिर्सार्दै ल्याएर सडक, चोक, गल्ली, भीड र बजारमा
छियाछिया पार्दै त्यो पुरुषत्व र अहम्को पागलपनलाई
सारा दुनियाको अगाडि
मैले पनि एसिड छर्नुछ
त्यसैले नरोऊ पिलपिल आमा
मेरो अस्मिता लुटियो भनेर
मलाई त्यो नरपशुको विरुध्द
क्रान्तिको उद्घोष गर्नुछ ।
लुक्नु पर्दैन बाबा तिमी
किन तिमीले शिर झुकाउनुपर्छ ?
आऊ मेरो पछि-पछि
आगाको लप्का लिएर
सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु
अब त्यसले त्यो अक्षम्य अपराधको मूल्य चुकाउनुपर्छ
भर गरेर हुँदैन यहाँ
कानुन त निर्धाहरुलाई मात्र लाग्ने हो
अब मजस्ता निर्मला र मुस्कान खातुनहरुले न्याय पाउनुपर्छ
फेरि नगरोस् कसैले त्यस्तो दुस्साहस यो धर्तीमा
त्यसैल त्यो अपराधीलाई
अब हामीले नै कठघरामा उभ्याउनुपर्छ ।
हो,त्यसैले नरोक अब मलाई
किन घरी घरी निर्दोष मैले नै झुक्नुपर्छ ?
देउकी,झुमा,बोक्सी,कम्लरी र सतीको नाममा
किन म नै बलिदान हुनुपर्छ ?
नहेर अब मलाई टिठलाग्दो आँखाले
नभन तेरो भाग्य नै यस्तो
बरु आऊ माया लाग्छ भने
अब नयाँ अभियानको बिगुल फुक्नुपर्छ ।
(निर्मला पन्त र मुस्कान खातुनप्रति समर्पित)
Thankyou Nepali post. श्रृजनालाई स्थान दिएर प्रतिक्रियाहरु पाउँदा एउटा लेखकले सुधार्ने मौका पाउँछ । यस्तो अवसरको लागि धन्यवाद ।