प्रधानमन्त्रीलाई प्रेमपत्र

पृय प्रधानमन्त्री,
शायद तपाईंले मलाईचिन्नु हुन्न होला,
धेरै अगाड़ी हामी सँगै झापा आन्दोलनमा थियौं
तपाईको सपना
तपाईको ऊर्जा
तपाईको ओज
र उत्सर्गको हामी कायल थियौं
गोलघरका ती बर्षहरू,
राजयक्षमाले गलित शरिर
कहिल्यै गलेनन्,
गरिबीले कहिल्यै जितेंन
मलाई लाग्थ्यो
नेता हुनु त तपाईं जस्तो
अनगिन्ती सपनाहरू बोकेर यौटा
स्वप्नद्रष्टा हामीबीच खडा छ,
तपाईका विद्धतामा कुनै शंका थिएन
प्रत्येक समस्याको समाधान थियो
श्रद्धाले हामी झोले कार्यकर्ता
नतमस्तक हुन्थ्यौं।

कमरेड प्रधानमन्त्री,
त्योबेला पनि थियो
र आजको बेला छ ?
यो के भयो ?
तपाईको वरिपरी अनगिन्ती
ऐंजेरूले घेरेको देख्छु
गोलघरमा बस्ने नायक त
आज बकम्फुस्रे सल्लाहकारको
गोलचक्करमा घुमेछ ?
जनताको स्वतन्त्रताको लागि लड्ने नायक
सल्लाहकारको सल्लाहमा
जनताको मुख थुन्ने भएछ
“यती” को चक्करमा वरिपरि
केहि नदेख्ने भएछ।
शुन्य भ्रष्टाचारको सपना देख्ने
भ्रष्टहरूको दलदले सल्लाहमा
जाकिन पो थालेछ !

पृय प्रधानमन्त्री,
सुन भारी थियो डुब्यो,
बालुवाटारमा जग्गा हुने
महासचिव मात्रै थिए
एक्लो महासचिव
एक्लालाई के कारवाही गर्नु बचे !
बाइबडी भद्रगोल थियो,
भद्रागोलै भयो,
कमसेकम, पृय कमरेड,
जेकालागि लडेका थियौ जीवनपर्यन्त
जनताको आबाजको लागि
त्यो आवाज त नथुन
इतिहास बनाउने मौका थियो,
एक जुगमा एक फेर आएको
अलिकता तपाईंको सपना, अलिकता हाम्रो आश
सबैको सम्मिश्रण थियो,
तपाईंको
राज्यारोहण,
हामी सिंहदरबार र बालुबाटरको
ढोकामा आँखा गाडेर,
हेरी रहेका छौं अपलक,
कुनैबेला अन्तर्राष्ट्रिय गीत गाउने,
हामी झोले, मार्क्सबादी
बडा दोधारमा छौं,
शुन्य भ्रष्टाचारको नारा
किन आज भ्रष्टाचार मै डूब्यो ?

कमरेड,
पूर्व राजालाई हेर्नुहोस्,
बिचार राम्रा थिए होलान्
भावना ठिक थिए होलान्
तर पनि सक्किए,
किनभने सल्लाहकार
बेठीक थिए
अहिले तपाईं पनि पूर्व राजाकै बाटो
रोज्दै हुनुहुन्छ
जनताको बोली,
मिडियाको बोली
समाप्त पार्दै छन्,
नेताले गर्ने भ्रष्टाचारको हदम्याद
तोकिदिनु भयो,
कमरेड देशलाई निचोरेर बेचेर
खरब कमाएर,
पाँच बर्ष राजनीतिबाट
अलग भएपछि
त्यो राजनीतिज्ञ चोखो भएर
फेरी देश हाक्ने हुने भयो नी त
कमरेड सच्चिनुस,
तपाईंका सल्लाहकर र भ्रष्टहरूले
डुबाउन लागे
इतिहास बनाउने बेला थियो
दुई तिहाई करिब थियो,
आशलाग्दो बेला थियो तर
तपाईं त
सल्लाहकारको घेरामा
दरो पर्नु भएछ
मृगौला दरो नहोला
दिमाग त दरो छ नी ?
गोलघरका चौध बर्ष
संझिनुस् र त्यो बेलाको
देश बदल्ने रंको
संझिनुस्,
अहिले त तपाईं
तपाईं त सक्किंन लाग्नु भो
भ्रष्टहरूको चेपुवामा परेर,
सच्चिनुस कमरेड सच्चिनुस
अझै मौका छ, इतिहास बदल्नोस् ।

One Comment

Leave a Reply to bhesh raj dahal Cancel reply

Your email address will not be published. Required fields are marked *