दहेजको रूख
|वर्षौं पहिले
एउटा झिसमिसे साँझ,
पिँढीको थाममा अडेसिएकी आमाको
चर्को चित्कारसँग सँगै
अर्को मसिनो चित्कार पनि मिसिएथ्यो
च्याहाँ च्याहाँ च्याहाँ …।
तत्काल,
उसतर्फ पुलुक्क फर्किएका
मेरी आमाका जिज्ञासु आँखाहरूले
मृत्यशोक मनाइरहेथे, निकै बेर।
त्यतिबेला म,
बुझ्दिनथें त्यस्तो शून्यता
एकदमै जान्दिनथें
त्यस्तो सन्नाटामाथिको भयानक खोल।
अझै पनि सम्झन्छु
मेरा बाले
आँगनको छेवैमा रोपेको
दहेजको रूख,
म जत्रो हैन
बा आफैं जत्रो मात्र पनि हैन
हाम्रो घरजति नै अग्लिएसी
बल्ल मेरो बिहे पक्का भएथ्यो।
बिहेको एकाध वर्षपछी
अर्को एक, त्यस्तै झिसमिसे साँझ
म उतीसको काठ
र मेरा ससुरालवालाहरू सलाई बने।
त्यसै साँझ
जब म आफु
फुसको छानोजस्तै,
सुकेको मकैको ढोडझैं
दन्दनी बल्न थालेँ।
थाहा छ आमा !
तत्क्षण मलाई, उहिले नै
तिम्रा सुत्केरी आँखाले मनाएको मृत्युशोक,
तिमी भित्रको चरम शून्यता,
तिम्रा भयानक सन्नाटापिछेका विशालतम् दर्दहरू,
सबै सबैको एकसाथ जवाफ मिल्दै गयो ।
म साँच्चै जान्दिनथें बा
बुहारीको शिरमा मट्टितेल घोप्ट्याएर
स्वास्नीको जिउमा आगो झोसेपछी मात्र
माघको शितलहर छलिने
कस्तो गरिबी थियो मेरो ससुरालमा ?
थोत्रो एल्वममा
खुइलिइसकेका व्ल्याक एण्ड ह्वाइट तस्वीरहरू
एकनास पल्टाइरहँदा।
जब देख्छु,
आफ्नो धमिलो जूनेली मुस्कान
सुडौल पाखुराहरू।
अनि तत्काल छाम्छु
आगोको लप्काले सुलुक्क निलेको
आफ्नो आकृती।
यस्तो लाग्छ,
ठूलो अनावृष्टि पछी
फुल्दा नफुल्दै चाउरिएकी फूलजस्तै म
जस्लाई हेर्न पनि
अचेल त,
मान्छेहरू दिग्मिग्याउँछन्।
nice.
अत्यन्त मार्मिक ।
Touched the heart. Feel the pain.