बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना

मानव अधिकार तथा शान्ति समाजले “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” स्थापना गरेको छ ।

समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा-प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई  रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित प्रदान गरिने छ । यसका लागि अक्षय कोष स्थापनार्थ पहाडी परिवारबाट रु. १० लाख नगद शान्ति समाजका नाममा जम्मा गरिएको  समाजद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कार छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल, महासचिव सुशिल बस्नेत र शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे सम्मिलित छनौट समिति गठन गरिएको छ ।

समाजसेवी पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालिकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ ।

यसैगरी पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्लास्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभूत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागि ४ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो ।

समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता  स्व.पद्म प्रसाद दाहाल र आमा स्व. कृष्ण कुमारी दाहालको स्मृतिमा सेवा पुरस्कार स्थापनार्थ अक्षय कोषका लागी दाहाल प्रतिष्ठानलाई रु १० लाख र बिराट साहित्य संगमलाई पत्नी राधादेवी दाहालको स्मृतिमा रु १ लाख प्रदान गर्नुभएको थियो ।
यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समुह बिराटनगरलाई रु ५ लाख प्रदान गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरुको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले रु. २ लाख प्रदान गर्नुभएको छ ।

शान्ति समाजकातर्फबाट समाजका सभापति उत्तम पुडासैनीले एक विज्ञप्ति प्रकाशित गर्दै पहाडी परिवारप्रति आभार व्यक्त गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *