नेपाली सामुदायिक भवन खरिद प्रक्रिया अन्तिम चरणमा


आगामी हप्ता स्थानीय नेपाली समुदायले १७ लाख २५ हजार बराबर अमेरिकी डलरको सामुदायिक भवन तथा मन्दिरका लागि प्रस्तावित ३.१ एकड जमिनमा रहेको २ वटा भवन खरिद गर्दैछ । नेपाली सामुदायिक भवन निर्माण अभियानमा सक्रिय सामाजिक अभियन्ता मधु पन्थीबाट नेपाली पोष्टलाई प्राप्त जानकारीअनुसार यही फेब्रुवरी २६ तारिखका दिन सो भवन खरिद प्रकृया सम्पन्न हुनेछ । तत्कालका लागि १७ लाख २५ हजार अमेरिकी डलर तिरेर खरिद प्रक्रिया पुरा गर्न आवश्यक रकम पनि जम्मा भैसकेको छ ।

संयुक्त राज्य अमेरिकाको राजधानी ग्रेटर वासिंटन डिसी महानगर क्षेत्रमा नेपाली सामुदायिक भवन निर्माणका लागि अमेरिका नेपाल साँस्कृतिक केन्द्र (NACC/न्याक)ले यस क्षेत्रमा एक बर्षभन्दा पनि कम अबधीमा हासिल गरेको यो उपलब्धीले यस क्षेत्रका नेपालीहरुमा उत्साह र एकताको वातावारण सृजना गरेको छ । आफ्नै सामुदायिक भवन र मन्दिर बन्ने प्रक्रिया अघि बढेसँगै NACC/न्याकले यसभन्दा पहिले दाताहरूले कबोल गरेको ७ लाख डलरभन्दा बढी सहयोग पनि छिट्टै नै प्राप्त हुने अपेक्षा गरेको छ ।

सन् २०२० को अन्त्यसम्ममा पूर्ण सन्चालनमा ल्याउने उदेश्य रहेको यस परियोजनामा भवन मर्मत-सम्हारका साथै अन्य मापदण्ड र पूर्वाधारहरू तैयार गर्न थप ७ लाख डलर खर्च गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । यस सामुदायिक भवन तथा मन्दिरमा नेपाली समुदायका सामाजिक वा पारिवारिक साँस्कृतिक र धार्मिकलगायतका गतिबिधि संचालन हुनेछन् ।

यो केन्द्र पूर्ण संचालनमा आउन थालेपछि नेपालको परिचय दिने संग्राहलय, सामुदायिक पुस्तकालय,नेपाली भाषा पाठशाला,स्वास्थ्य क्लिनिक,सामुदायिक भेलालगायतका गतिबिधिहरू गर्न नेपाली समुदायलाई सहज हुनेछ । भवनको अग्र भाग नेपालको आकर्षक काष्ट कलाको प्रयोग गरेर यसलाई अमेरिकी समुदायमा पनि नमुना नेपाल घरकोरुपमा आकर्षणको केन्द्र बनाउने NACC/न्याकको योजना छ ।

भर्जिनिया राज्यको प्रिन्सविलियम काउन्टी अन्तर्गत मनासस सिटीमा रहेको यस भवन तथा मन्दिर निर्माणका लागि स्थानीय नेपाली समुदायमा सक्रिया नेपाली संस्था अमेरिका नेपाल सहयोगी समाजले संस्थागतरुपमा २ लाख १५ हजार डलर उपलब्ध गराएको छ । केही समय पहिलेदेखि नै समाजले स्थानीयस्तरमा निर्माण गर्न लागेको सामुदायिक भवनको आफ्नो योजनालाई पनि NACC/न्याकको डीसी महानगर क्षेत्रको यस बृहद् योजनामा सहकार्य गरेको हो । समाजले बिगत ४ वर्षदेखि नेपाली भाषा पाठशाला नियमित संचालन गर्दै आएको छ भने अन्य सामाजिक र सांस्कृतिक गतिविधिहरू पनि गर्दै आइरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *