बिचरा गीतकार


नेपाली सांगीतिक आकाश अहिले नेपाल आइडलमय भएको छ । स्तरिय सो, उत्कृष्ट प्रतिस्पर्धी, र संगीतकर्मी बिशेष अतिथिहरुले यो कार्यक्रमलाई साच्चीकै रुचिकर बनाएको छ । यो लेखमा नेपाल आइडलको उत्कृष्टता या यसको सांगीतिक क्षेत्रमा पर्ने प्रभावको बारेमा चर्चा गर्न लागिएको छैन। त्यसको बारेमा अर्को पटक चर्चा हुने नै छ। अहिलेलाई भने एक एपिसोडको अभिव्यक्ति बारे चर्चा गरौँ ।

यो एपिसोड बास्तबमै निकै स्तरिय बन्नुमा प्रतिस्पर्धीहरुको उत्कृष्ट गायन शैली त महत्वपूर्ण थियो नै, बिशेष अतिथिको रुपमा उदय -मनिला सोताङ्गको उपस्थिति पनि अर्थपूर्ण थियो । त्यो कार्यक्रममा उदयले धेरै रोमान्चक अभिव्यक्ति दिएका थिए । यो लेख उनै उदयको अभिव्यक्तिमा केन्द्रित छ।

एक प्रसंगमा उदयले जज न्युह बज्राचार्यको संगीतमा रहेको एक गीत २ जनाले छोडेपछि आफु र मनिलाले गाएको र भाग्यबस सो गीत हिट भएको बताउँदै गाए -‘ आधि बाटो हिडे पछि तिमीसित भेट भयो’। यो प्रसंगमा उदय र मनिलाले संगीतकार न्युहको प्रशंसामा राम्रै शब्द खर्च गरे । न्युहले पनि जिस्किदै उनीहरुले राम्रो गाएको बताए । बास्तबमा यो गीत निकै मर्मस्पर्शी र कर्णप्रिय गीत हो र यसको प्रशंसामा शब्द खर्चनु अस्वाभाविक पनि लाग्दैन। तर यो पंक्तिकारलाई खट्केको कुरा के भने ‘आधि बाटो हिडेपछि’ को त्यत्रो चर्चा हुँदा उदय, मनिला वा न्युह कसैबाट पनि यो गीतको गीतकारको एक पटक पनि उच्चारण गरिएन । संगीत दामी छ, गायकी उत्कृष्ट छ, शब्द पनि उत्तिकै मार्मिक छ, र त गीत अहिले पनि जीवन्त छ । तर आइडल स्तरिय सो मा उदय, मनिला, न्युह जस्ता स्थापित संगीतकर्मीले गीतको जग बसाल्ने शब्दकारलाई पुरै बिर्सेकोमा अनौठो मात्र प्रतित भएन, गीतकारप्रति उनीहरुको सोच को उजागर भयो । ” फूल दिस्क्लोजर “- यो पंक्तिकार आफै पनि गीतकार हो र ‘आधि बाटोका गीतकार रमण घिमिरे यो पंक्तिकारको ‘मेंटर’ हुन्। मेरो यो स्वीकारोक्ती पछि भन्न करै लग्यो -‘बिचरा गीतकार’ !
#####
युटुबमा एक चर्चित गायकको गीत भेटियो । पुरानो चर्चित गीतलाई कुनै व्यक्तिले सान्दर्भिक र असान्दर्भिक फोटोहरु राखेर गीत पस्केको थियो, गायकको आशिर्बाद सहित। प्रसङ्ग गीत, स्वर, शब्द वा संगीतको होइन, गीतकारलाई गायक संगीतकारले कसरि हेर्छन भन्ने हो । सो गीतमा गायक, संगीतकारको नाम त हुने नै भयो, फोटो हाल्ने व्यक्तिको नाम पनि देखिन्छ पटक-पटक । त्यहाँ कसैको नाम देखिदैन त त्यो हो गीतकारको । लाग्छ शब्द आफैं उत्पत्ति भएका हुन् । यो पंक्तिकारलाई भन्न कर लाग्यो- ‘बिचरा गीतकार’!
#####
केहि समयदेखि अनिल सिंहको सामाजिक संजालमा निकै चर्चा भैराखेको छ ।अनिल सिंहले जे भोगिरहेका छन् त्यो निन्दनीय छ। उनको स्तरको कलाकारले म्युजिक कम्पनीबाट भोग्नु परको ज्यादतीको घोर भत्सर्ना गर्नु पर्दछ। अहिले आएर यो शृंखलामा राजन इशान पनि थापियाका छन् ।यी दुवैलाई पंक्तिकारको नैतिक समर्थन छ । नेपाली सांगीतिक क्षेत्रमा एकले अर्कोलाई मुर्गा बनाउने वातावरणको अन्त्य हुनु पर्दछ । गीतकारले पनि आफ्नो सृजनाको मूल्य पाउनु पर्छ। मूल्य सधै आर्थिक हुदैन । क्रेडिट दिने ठाउमा क्रेडिट दिउँ, सम्मान गर्ने ठाउँमा सम्मान । अर्थ सिर्जनाको अवसरमा मिलेर जाउँ । यदि यसो भयो भने कमसेकम यो पंक्तिकारले भन्ने छैन ‘ बिचरा कलाकार , बिचरा गीतकार ‘!

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *