आबाल ब्रह्मचारी षडानन्दको १८५ औं जन्म जयन्ती

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले आबाल ब्रह्मचारी षडानन्दको १८५ औं जन्म जयन्तीका उपलक्ष्यमा यही फेब्रुवरी १५  शनिवारका दिन एक कार्यक्रमकाबीच षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार र षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार वितरण कार्यक्रम सम्पन्न  गर्यो । वरिष्ठ शिक्षाविद् प्राडा सुरेश राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न यसै कार्यक्रममा भाषा तथा लोक संस्कृतिविद् प्राडा चूडामणि बन्धुलाई एक लाख नेपाली रुपैयाँको षडानन्द राष्ट्रिय पुरस्कार गरियो ।

त्यसै गरी पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरी  निरञ्जन चापागाईं र गायत्री कुमार चापागाईद्वारा आफ्ना स्वर्गीय पितामाता डण्डपाणि र युवा कुमारीका स्मृतिमा स्थापित रु.३५ हजारको षडानन्द क्षेत्रीय पुरस्कार पूर्वाञ्चलका साहित्यकार  सोमराज अभयलाई प्रदान गरिएको थियो ।

यसै अबसरमा भोजपुर जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृध्दी गर्ने उद्‍देश्यले भोजपुर चौकिडाँडाका उमादेवी अधिकारी र परिवारद्वारा स्वर्गीय मदनबहादुर अधिकारीको स्मृतिमा स्थापित रु. १५ हजारको  षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार  २०७५ सालको एस ई ई परीक्षाको उत्कृष्ट नतिजा ल्याउने यशोधरा माध्यमिक विद्यालय, टक्सार, भोजपुरलाई प्रदान गरियो । कार्यक्रममा षडानन्द मावि दिङ्ला, भोजपुरमा कक्षा ६-९ मा उच्च ग्रेड ल्याउने कक्षा १० की छात्रा अपेक्षा श्रेष्ठ र कक्षा ९ का छात्र नवीन भट्‍टराईलाई रु ५ हजारको षडानन्द छात्रवृत्ति र कक्षा ६-८ मा ऐच्छिक विषयका रूपमा संस्कृत भाषा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुलाई प्रोत्साहनका लागि रु २ हजारको षडानन्द संस्कृत छात्रवृत्ति पनि प्रदान गर्ने जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा शर्मा,पुरस्कृत व्यक्‍तित्वहरू प्राडा  बन्धु र अभय,पुरस्कृत विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मी तथा
प्रतिष्ठानका सल्लाहकार एवम् पूर्व मन्त्री  कृपासुर शेर्पा,पूर्वमन्त्री मुकुन्द बहादुर बस्नेत
लगायतले बालागुरूको  योगदानकोविषयमा चर्चा गर्नु भएको थियो । यसै अबसरमा चन्दादाता टीका कुमारी भट्‍टराई,नन्दराज पौडेल र तारा न्यौपानेलाई सम्मान  र १८४ षडानन्द जयन्तीपछि प्रतिष्ठानको  आजीवन सदस्य बनेका ११ जनालाई सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो।

पुरस्कृत व्यक्‍तित्वहरू प्राडा बन्धुको परिचय प्राडा जीवेन्द्रदेव गिरी, अभयको  परिचय निर्मला पोखरेल र पुरस्कृत यशोधरा माविको परिचय रविन्द्र अधिकारीले दिनु भएको थियो।
प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम षडानन्दको तस्विरमा माल्यार्पण र दीप प्रज्वलन गरी प्रारम्भ भएको थियो । प्रतिष्ठानका सचिव प्रा लालानाथ सुवेदीले स्वागत र कोषाध्यक्ष आत्मेश्‍वर चापागाईंले अतिथिहरुलाई मालाहरु लगाएर सम्मान गरिएको सो सभामा प्रतिष्ठानका सदस्य कवि  प्रह्लाद पोखरेलले उद्घोषण गर्नु भएको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *