“नेपाली इतिहासको रथ पश्चगमनतर्फ फर्किंदैन” -खगेन्द्र संग्रौला
|पारिवारिक भ्रमणका क्रममा अमेरिकामा रहनु भएका नेपालका चर्चित लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलासँग नेपाली पोष्टले यसै साता केही प्रश्नहरू सोधेको थियो । नेपालको तेस्रो जनआन्दोलन (बिसं २०६२-६३) को समयमा जब आन्दोलन राजा फ्याँक्न चरमोत्कर्षमा पुगेको बेला नेपालको गणतान्त्रिक आन्दोलनको पक्ष तथा समयासामयिक सन्दर्भलाई समेटेर संग्रौलाद्वारा लेखिएका लेखहरुको संकलन “फुल पात र पत्कर” नेपालीपोष्ट डटकम प्रकाशित गरेको थियो ।
संग्रौला यसै साता नेपालफर्कंदै हुनुहुन्छ । प्रस्तुत छन् यहाँ नेपाली पोष्टले उहाँसङ्ग गरेका प्रश्न उतरहरू-
- सबै राजनीतिक दलहरु र आम नागरिकहरुले राजतन्त्र फ्याँकेरै छाडे तर अहिले आएर एउटा राजाका ठाममा सयौं राजाहरु स्थापित हुने चक्करममा लागे । बरु त्यही एउटा राजा ठिक थिए भन्ने आवाज पनि कता-कता सुनिन थालेको छ । तपाईं यस बारेमा के भन्नुहुन्छ ?
तपाईंको यो प्रश्नमा किञ्चित् निराशाको ध्वनि छ । गणतान्त्रिक सत्तामा श्रीपेचधारी एक राजाको ठाउँमा टोपीधारी अनेक राजाको उदय भएको सत्य हो । चरित्र, संस्कार र मनोवृत्तिको दृष्टिले यी टोपीधारी राजाहरु श्रीपेचधारी राजाकै उत्तराधिकारीजस्ता लाग्छन् । यो यथार्थको एउटा पाटो हो । यथार्थको अर्को पाटो पनि छ । गणतन्त्रको नागरिक टोपीधारी राजाहरुको चरित्र, संस्कार र मनोवृत्तिको खुलेआम आलोचना गर्न स्वतन्त्र छ । हरेक पाँच वर्षमा आउने चयनकारी चुनावमा नागरिकलाई यी टोपीधारी राजाहरुलाई राजनीतिको सिंहासनबाट धूलामा पछार्ने मताधिकार पनि छ ।
हाल नेपालमा टोपीधारी राजाहरुलाई देखाएर श्रीपेचधारी राजाको पुनरागमनको आग्रह गर्ने प्रवृत्ति नभएको होइन । तर यस्तो आग्रहकर्ताको झुण्डमा पतीत र पराजित राजतन्त्रका सनातनी र नूतन हनुमानहरुमात्र छन् । स्वतन्त्रता पक्षधर सजग नागरिकहरु त सच्चा गणतन्त्रलाई संस्थागत गर्ने चिन्तन र यत्नमा प्रवृत्त छन् । मलाई लाग्छ, नेपाली इतिहसको रथ पश्चगमनतर्फ फर्किंदैन । बाङ्गोटिङ्गो बाटो गरी यो अग्रगमनतर्फ नै लाग्नेछ । गणतन्त्र अभियानको एक वैचारिक योद्धा र सडक अभियन्ता बन्न पाउँदा मलाई त गर्व छ ।
- तपाईं गणतन्त्र आएपछि पनि सधैं सत्ताको विपक्षी रहँदै आउनुभएको देखिन्छ तपाईंले कस्तो लोकतन्त्रको अपेक्षा गर्नुभएको थियो ?
म एक स्वतन्त्र लेखक हुँ । सत्ताको नित्य प्रतिपक्षता स्वतन्त्र लेखकको कर्म र धर्म दुबै हो । सत्तापक्षीय लेखक मेरो विचारमा लेखक होइन, सत्ताको भजनकर्मी मात्र हो । सामाजिक न्याय, समता र सहकार्ययुक्त लोकतन्त्र मेरो अपेक्षा थियो । यो स्वतन्त्रता पक्षधर मनुष्यको हर्दम् जीवन्त र शाश्वत अपेक्षा हो ।
- तपाईं भारतले नाकाबन्दी लगाएको बेला नाकाबन्दीको समर्थनमा वीरगन्जमा धर्ना दिन पुग्नुभएको र तपाईंमाथि भारतीय समर्थन गरेको आरोप आयो । यसका बारेमा केही बताइदिनु न किन यस्तो आरोप आयो ?
नाकाबन्दी वास्तवमा आन्दोलनकारी मधेशीहरुले गरेका थिए । भारतीय दादा त धमिलो पानीमा माछा मार्न दशगजापारि अजिङ्गरको रुपमा उपस्थित भएको थियो । एकल जातीय सनातनी शासक खलकद्वारा तजबिजी काइदाले आफ्नो एकलौटी हितसिद्ध गर्ने ध्येयले बनाउन लागेको संविधानप्रति जाग्रत मधेशी जनगण असहमत भयो । तिनको असहमति मधेश आन्दोलनमा अभिव्यक्त भयो । उक्त आन्दोलनलाई नश्लीय कोणबाट बद्नाम गर्दै सङ्कीर्ण एवं असहिष्णु सत्ताले त्यसमाथि जघन्य हिंसा थोपर्यो । र, आन्दोलनकारीहरु चर्मरक्षाका लागि दशगजाको शरण परे । मधेश आन्दोलन विखण्डनकारी होइन, समावेशनकारी आकांक्षाद्वारा प्रेरित थियो । त्यो समान सामाजिक न्याय, समता र प्रतिष्ठा दाबी गर्ने आन्दोलन थियो । मेरा लागि पहाडीहरु जति नेपाली हुन्, मधेशीहरु त्यति नै नेपाली हुन् । पहाडीहरु जति देशभक्त हुन्, मधेशीहरु त्यति नै देशभक्त हुन् । त्यसैले आफ्ना सहदेशबासीहरुको न्यायोचित आन्दोलनप्रति ऐक्यबद्धता जनाउन म दशगजावारि गएको थिएँ । मेरो त्यो ऐक्यबद्धतालाई नश्लीय राष्ट्रवादका ध्वजावाहकहरुले भारतीय नाकाबन्दीको समर्थनको संज्ञा दिएर मेरो बद्नाम गर्ने यत्न गरे ।
म नश्लवादी राष्ट्रवादी होइन, म मानवतावादी र अन्तर्राष्ट्रवादी हुँ । नश्लवादी अन्धराष्ट्रवादले अखण्ड नेपालको नारा लगाउँदै आन्तरिक विभाजन र द्वन्द्वको सिर्जना गर्छ । नश्लवादी राष्ट्रवादले आफ्नै देशभित्रका ‘अन्य’लाई विखण्डनकारी बैरी देख्छ, आफ्नो कल्पित श्रेष्ठताको भजन गाउँदै ‘अन्य’लाई अश्रेष्ठ र तुच्छ ठान्छ, आफ्ना मौलिक नेपालीरुपी पुर्खाको महिमा मण्डन गर्दै ‘अन्य’लाई आयातीत र विदेशी देख्छ । भूगोल, भाषा, वर्ण र वस्त्रमा आधारित अन्धराष्ट्रवादको यो अहंकार, सङ्कीर्णता र विभाजनकारी प्रवृत्तिको जसले विरोध गर्छ, नश्लीय राष्ट्रवादको भाषामा उसलाई भारतीय दलाल भनिन्छ ।
- देशमा बामपन्थी बढाउनेमा तपाईंको पनि योगदान छ । यहाँले अनगिन्ति माओका लेख-रचनादेखि लिएर ल्यु सुनका पुस्तकहरु नेपालीमा अनुवाद गर्नुभयो । त्यो के का लागि रहेछ ?
मेरा ती अनुवादहरु नेपाली समाजको वैचारिक जागरण एवं नैतिक उत्थानका लागि हुन् । मलाई लाग्छ, जुन प्रयोजनका लागि तिनको अनुवाद भयो, तिनले त्यो प्रयोजनको प्रबर्धन गरिरहेकै छन् । यो प्रभाव प्रकृति भावनात्मक एवं मनोवैज्ञानिक हुनाले यसको प्रतिफल मुर्तरुपमा गोचर हुँदैन ।
- अहिलेका पुस्तालाई यहाँको के सुझाव छ ?
हामी नेपाली जो जहाँ छौं,“ सामाजिक न्याय, समता र मानव गरिमाका लागि सततः यत्नशील रहौं”।
र, अन्त्यमा,
नेपालीपोष्ट डटकमले मेरो फूल, पात, पत्कर नामक सङ्गालो छापिदिएको थियो । यो घटना मेरो स्मृतिमा अमिट छ । अखबारी खेस्राहरुको यो सङ्गालो गणतन्त्र अभियानको मुखर अभिव्यक्ति थियो । यो प्रकाशन वास्तवमा नेपालीपोष्ट डटकमले गणतन्त्रको महायज्ञमा अर्पण गरेको प्रेरणादायी चरु थियो । मेरो यो सङ्गालो नेपालीपोष्ट डटकमप्रति सदैव कृतज्ञ छ ।