जिन्दगी अर्थात् एक लक डाउन

भर्खरै परदेशबाट फर्केको
मेरो साथीले
मेरै माग बमोजिम
ल्याएको छ केहि थान
चकलेट
म चाहन्छु
मेरो साथी चकलेट बोकेर
मेरो घरतिर नआओस् ।

भर्खरै मेरा छिमेकी दाइ
आफ्नै आफन्तको मलामी
गएर मेरै घरको बाटो
फर्कदैछन्
म चाहन्छु
उनी मेरो घरको
गेट खोलेर
भित्र नपसुन् ।

यतिबेला
म मनका सबै
चञ्चलतालाई मनभित्रै
राखेर आफ्नै मनसँग
मनमनै बात मारिरहेछु
यतिबेला म
मेरा चलिरहेका हातगोडा
आफ्नै मनको सिक्रीले
बाँधेर आफ्नै मनको
दिवालभित्र सयर गरिरहेछु ।

आज मेरै
हातले आफ्नै शरिरका
अङ्ग स्पर्श गर्न
पाइरहेका छैनन्
आज मेरै आँखाले
चाहेजति हेर्न पाइरहेका छैनन् ।

सोचेको पनि थिइनँ
म यति कठोर छु
सम्झेको पनि थिइनँ
म यति निर्दयी छु
कल्पनासम्म पनि गरेको थिइनँ
म यति धीर छु ।

म चाहन्छु
मेरो साथीले
मेरो बाध्यता बुझोस्
म चाहन्छु
मेरा छिमेकीले
मेरो बाध्यता बुझुन्
म चाहन्छु
मेरा शरीरका अङ्गहरु
नियन्त्रित होउन्
म चाहन्छु मेरो जीवनले
जिन्दगी बुझोस् !

जिन्दगी अर्थात
एक लक डाउन् ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *