सरकार हराएको ब्रेकिङ् न्युज

मैले नागरिकता च्याप्न थालेदेखि
म तिम्रो नागरिक।
राज्यको सात सिमाना छिचोलेर
राजधानीको मध्य भागमा बरालिदै गर्दा

मैले मत पत्रमा पहिलो पटक छाप हानेर
बुढी औँलाको नङको फेद पहिलो पटक
एक थोपा निलो मसिले लत्पताए देखि
म तिम्रो नागरिक।
म औसत तिम्रो नागरिक भन्दै
राजधानीको मध्य भागमा बरालिदै गर्दा

मैले सप्तरंगी ईन्द्रेणीका
सातै रंग चोरेर
मेरो रंगहीन घर रङ्गाउने
सपना देख्दै गर्दा

एक साँझ
रास्ट्रिय टेलिभिजनबाट अचानाक
सरकार हराएको ब्रेकिङ् न्युज आयो।

त्यसपछि धेरै हराए
मैले देखेको सपनाको गोरेटो हरायो
आमाको हाँसो हरायो
बुबाको आशिर्वाद हरायो
बहिनीको उमेर हरायो
परिवारको खुशी हरायो
घर छेउको ठुलो पाटो हरायो।

र त्यही दिन
सनुसबाट बुबाको नामको लालपुर्जा हरायो।
अनि ,
मलाई साहित्यकार बन्न मन लाग्यो
फिल्म मेकर बन्न मन लाग्यो
नेता, प्रहरी, बिश्लेसक, डाक्टर बन्न मन लाग्यो।
पत्ता लगाउनु थियो
कसरि हराउछन सरकारसंगै सपनाका गोरेटोहरु?

त्यसपछि एकदिन,
राहदानी बिभाग अगाडि उभिएर
म देख्नेछु मेरो सपनाको गोरेटोको
आकार हराएको
हरियाली हराएको
चिरबिर गीत गाउने
चराहरु हराएको।
सायद, बिश्व नक्साबाट नै देश हराएको।

सायद
हाम्रा सन्ततिले फेरी
हामीले विदेशबाट लेराएको टिभीमा देख्नेछन –
आफैले मतदान गरेको सरकार हराएको ब्रेकिङ् न्युज।

Add a Comment

Your email address will not be published. Required fields are marked *