शहरकी प्रेमीका
|तिम्रो प्रतिक्षा मैले भन्दा धेरै
यो शहरले गरेको थियो होला
नत्र किन यो सहर चुपचाप बस्छ ?
किन समुद्रको छालहरू
सहरतिर आउन कोशिस गरिरहन्छन् ?
अनि किन रातको चन्द्रमा
शहरमाथि मात्र उदाउन खोजी रहन्छ ?
यस्तो मलाई मात्र लाग्दो हो कि
यो शहरको अपरिचित आंखाहरुलाई पनि ?
सडकको जिब्रा क्रसिङ्गहरुमा
गाडीहरु रोकिंदा पनि मलाई यस्तो लाग्छ-
तिमी रोड काटी रहेकीछ्यौ
अनि तिम्रा निम्ती नै जिब्रा क्रसिङ्गहरू बनाएका हुन्
अर्को शहरलाई भेट्ने अभिलाषाले
तिब्रगतिमा गुडिएका गाडीहरु रोकिएका हुन्
तिमी आउछौँ नी
त्यो सडकको जिब्रा क्रस गरेर ?
यो शहरले तिमीलाई नै सम्झेर
हरेक रात
तिमीलाई नै समर्पण गरेर
प्रेमपत्रका डायरीहरु लेख्छ
शहरकोबीचको रङ्गशालालाई डायरी बनाएर
मयुरको कलमले समुन्द्रको मसीमा चोपेर
तिमी शहरलाई सम्झेर आयौ भने
ती प्रेम डायरीहरू पढ्छौ नि ?
तिमीलाई खोज्न
यो शहरले
हरेक बिहान घामलाई पठाउँछ
तिमीले यात्रा गरेको दिशातिर
तर हरेक साँझ घाम बुढो भएर शहर फर्कन्छ
अनि शहर तिम्रो यादमा सुस्ताउँछ
यो कुरा तिमी विश्वास गर्छौ नी ?
वसन्त ऋतुमा पनि
शहरलाई सुन्दरता दिने फूलहरु फुल्न खोज्दैनन्
त्यसैले शहरका चोकहरु उराठ लाग्दो छ
यो शहरमा तिमी आएर फूलहरुलाई फुल्न सिकाउँछ्यौ नी ?