चेत न मनुवा
|
महिषासुर बनेर
जाग्दैछ कोरोना विश्वव्यापी भएर
त्यसैले त,
बर्ल्ड मिटरको पारो तातेर
चढ्दो छ मृत्यु महल रक्ताम्य लत्पतिएर
तर चेत छैन अझै पनि मनुवामा ।
पीडामा मलहम पट्टि लगाउनभन्दा पनि
रमाए हिजो कति धन्धुकारी मनुवाहरु
अरुको दु:ख, दर्द र पीडाको भुमरीमा
अनि,
हानिरहे तिनले कटु वाणहरु
खुच्चिङ्ग गर्दै खुशियाली मनाउँदै
गाए अनगिन्ति गीतहरु
बाचन गरे कति कविता, गजल र सायरीहरु
लेखे कति निबन्धका हरफहरु
झारेर कति घोचपेचका साहित्यिक पर्राहरु
नदेखाई कत्ति मानवता
अझै,
नाचे छमछम्ति कति नर्तकीहरुले
गरे पेचिलो व्यङ्ग्य प्रहार चटकीहरुले
सजिएर विभिन्न पहिरन र आशनहरुमा
गीर्जाघर, मठमन्दिर र चर्चकै आगनहरुमा ।
हिजो वनको राजा बनेर गर्जने शेरहरुले
सोचेनन् कहिल्यै एक दिन बुढो हुन्छु भनेर
सेकिरहे आगोको रापले पिल्सिएकाहरुलाई
प्रचण्ड घामको राप र ताप बनेर
पेलिरहे विश्व जगतलाई शक्तिपीठ ठानेर
तर रात बितेर हुँदैछ बिहानी
त्यसैले,
छोपेर छोपिन्न अब तिम्रा काला कर्तुतहरु
बिहानीको रोशनीले गर्दैछन् दिशा निर्देश
खोलिरहेछन् तिम्रा भेद र पोलहरु
देखाईरहेछन् तिम्रा असली रुपहरु
तिमी त लम्पसार परिरहेका रहेछौ नग्न रुपले
हेर त,
तिम्रो नग्न रुपलाई
थुकिरहेछन् थुःथुः गर्दै तमाम् बटुवा र दर्शक दीर्घाले
कुरिकुरि भनिरहेछन्
तिम्रा अगाडि झुम्मिएका बालकदेखि वृद्धासम्मले
विष्ट्याइरहेका छन्
तिमी माथि तिम्रा वरिपरि रुखमा झुम्मिएका चराचुरुङ्गीले
अनि,
लजाउँदै हाल्दैछिन् घुम्टो
विचरा लज्जावती झारहरुले पनि
त्यसैले,
अब त चेतन मनुवा ।
हिजो,
भयौ तिमी घमण्डी र महिमत्ता
तेर्सायौ जल, थल र आकाशमा
तिम्रा युद्ध पिपासुका हुल र युद्धपोतहरु
लुट्यौ अनगिन्ति चेहराहरु र धन दौलत
भत्काएर उनीहरुका बस्ने गुँडहरु
फगत तिम्रो निहित स्वार्थ, विवेकहीन तथा अदूरदर्शीपनले
त्यसैले त आज,
हार्दैछौ तिमी पनि
एक अदृश्य कोरोनाबाट
निकम्बा बन्दैछन् तिम्रा युद्धपोत र चालक दलहरु
मलिन अनुहारमा सुस्ताउँदैछन् तिम्रा आवाजहरु
किनकि,
“कहिले सासुको पालो त कहिले बुहारीको पालो” भनेझैँ
छेड्दै छ जेहाद आज कणकण मिलेर
“रसले खायो अरुलाई रीसले खायो आफू”लाई भनेझैँ
आज तिमीलाई आफ्नै रीस, डाह, दम्भ र घमण्डको भुमरीले
अजिङ्गरले आहारा निलेझैं निल्दैछ सर्लक्कै
अनि,
तिमीले गरेका अनगिन्ति गल्तिका कर्तुतले
गुमाइरहेका छौ होनाहार हजारौं अबोध चेहराहरु
त्यसैले,
अब त चेतन मनुवा ।
बिर्सिदेऊ हिजोका तिक्तताहरु
सिक पाठ आफ्नो कमजोरी
अनि
पराईको सफलताबाट
चलाऊ बिधिको शासन
छुट्याएर दूधको दूध पानीको पानी
इन्कार गरेर ज्याक, ढ्याक र प्याक
अनि,
त्यागेर हातहतियारको मोह र स्वार्थको दम्भ
जित भोकमरीको लडाईं
गरेर प्रयोग कृषि उत्पादनका अस्त्रहरु
जीत कोरोनासँगको लडाईं
जनता र प्राणी जगतको स्वास्थ्यमा ख्याल गरी
त्यसैमा हुनेछ भलाई
तिम्रो आफ्नो गाउँ, शहर, देश र जनताको
साथै सम्पूर्ण विश्व जगत र प्राणीको
अनि,
हाई-हाई हुनेछौ तिमी पनि विश्व जगतमै
त्यसैले,
अब त चेत न मनुवा ।