प्रभुका कृपाले !


कोरोना छली बाँचिएछ भने
यो काललाई साँचिएछ भने
मेरा सन्ततिलाई
म पनि एउटा कथा भन्छु होला ।

मेरा पुर्खाले मलाई भने झैँ-
हजुरबुवाका काठमाण्डौ पस्दाका कथा जस्तै
हजुरमुवाका घर बस्दाका कथा जस्तै
हजुरबुवाका घरबार जोड्दाका कथा जस्तै
हजुरमुवाका माईती छोड्दाका कथा जस्तै
हजुरबुवाका आफन्तीले सीमा मिचेका कथा जस्तै
हजुरमुवाका सिलौटामा औंला किचेका कथा जस्तै ।

म पनि मेरा सन्ततिलाई भन्छु होला-
तिमीहरुले भन्दा धेरै भोटा फटायौँ हामीले
जीन्दगी खै कसरी कटायौँ हामीले
लौ सुन अब हाम्रा कुरा
हामी मात्र दुई पोका सुटकेस बोकेर परदेश हिँडेका
यो बिरानो गाउँमा कहिले टक्क रुँदै अडेका
यो नौलो ठाउँमा कहिले ढुक्क हाँस्दै बढेका ।

म फेरि,
हजुरमुवाले नब्बे सालको भूकम्पको कथा भने झैं भनुँला
हामीले मान्छेका त के कुरा दैवी शक्ति नै झेलेका
‘म्याथ्यु’देखि ‘फ्लोरेन्स’सम्म जितेका
अरू त के कुरा गर्नु खै ?

एउटा अदृष्य डरलाग्दो भय थियो कोरोना
उनीहरु सोध्लान्
कस्तो थियो त्यो कोरोना ?
म भनुँला
उसलाई आँखाले कहिल्यै देखिएन
उसको मूल कुरो बुझ्दै बुझिएन
ऊ अजिंगर जस्तो
मान्छे सजिलै खाने ।

उनीहरु सोध्लान्-
त्यो बेला कस्तो थियो ?
म भनुँला-
ईष्ट मित्र हेर्नै रहर हुन्थ्यो
कसैसङ्ग बोले जहर हुन्थ्यो
ऊसङ्ग नि भिडेर बाँचेका हामी ।

उनीहरु सोध्लान-
कसरी ?
म भनुँला-
प्रभुका कृपाले ।

उनीहरु फेरि सोध्लान-
कसरी रे ?
म फेरि भनुँला-
प्रभुका कृपाले
हो साँच्चै प्रभुका कृपाले !

3 Comments

Leave a Reply to Ajaya Bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *