यस्तो लाग्छ


कसैलाई माया गर्नुभन्दा
सम्झनुको मज्जा छुट्टै हुन्छ
मनलाई दु:खाएर सम्झदा
उसको र मेरो मिठो सम्बन्धको इतिहासले
मनलाई दुख्न झन सयौँ गुणा उर्जा दिन्छ ।

यो मनको दु:खाईमा एउटा प्रेमको कथा छ
कयौं रात ननिदाएको आँखाको कथा छ
कथाको गति धिमा छ
तर कथाको पात्रले किन ?
कथाको गतिशीलता उछिन्न खोजी रहन्छ ?
कथाभित्र उसलाई मात्र किन खोजी रहन्छ ?
अनि उसलाई मनपर्ने शब्दहरू मात्र किन खोजी रहन्छ ?
किन उसको लागि ऊ यति स्वार्थी बनेको ?
यो पक्कै माया त होइन
उसको सम्झनामा लेखेर राखेको
तर संगीत नभरेको गीतहरुको शब्द भने पक्का हो
हो ती गीतहरुको शब्द मै हुँ ।

मलाई उसको आँखा एकदम मन पर्छ
प्यारो पनि लाग्छ
उसको आँखा रमाइरहेको भूगोलमा पुग्न
मेरा आँखाहरु हर प्रयास गरिरहन्छन्
त्यसैले मेरा दुई आँखाको दैनिकी फेरिएको छ
मेरा आँखाको फेरिएको दैनिकी म आफैँलाई मन पर्न थालेको छ
यो हजारौं कोश टाढाको दुरीलाई
मैले पैदल हिंडेर पूरा गर्न त सक्दिन होला ?
तर उसलाई भेट्न मेरा आँखाहरु
उसको सहरतिरको यात्रा सँधै गरिरहन्छ ।

पूर्वदिशाले पश्चिम दिशालाई
कलिलो घामको किरणले लेखेको प्रेमपत्र घामसँगै पठाउँछ
तर आँफै भेट्न किन जादैन् ?
उत्तर दिशाले दक्षिण दिशाको सम्झनामा आँशु बगाई रहन्छ
तर आँसु जम्मा गर्ने तलाऊ खन्न अनुरोध किन गर्दैनन् ?
यी प्रश्नहरुको उत्तर खोजें भने
मलाई यो दुनियाँले पागल भन्ला ?
स्वैरकल्पनामा रमाउने मान्छे भन्ला !
तर यी प्रश्नहरुमा म उसलाई पाउँछु
त्यसैले उत्तरहरु खोजी रहन मन लाग्छ।

आजभोलि म उसलाई पढीरहेको छु
म उसको नियमित पाठक हुँ
लाग्छ कैले काँही उसलाई जिन्दगीभर पढिरहन पाँउ
बाँकी भोली पढ्छु भनेर
आफू सुत्ने बेडको सिरानीमा सँधै राखी रहन पाउँ
शब्दहरुको साहरामा बोलाई रहन पाउँ
नभएका बाहनाहरु बनाई बनाई सताई रहन पाँउ ।

उसको आँखाहरुसँग
मेरो आँखाहरुले प्रेम साट्न किन यति हतार गर्छ ?
मेरा आँखाहरुले उसको आँखाहरुलाई
पैले चिनिसकेको जस्तै गरी किन व्यवहार गर्छन् ?
आफू अनिदो बसेर
उसको आँखाहरुलाई किन सँधै मिठो निन्द्रा पठाउँछन् ?
अनि उसको आँखाहरुलाई मेरो सपना देख्न किन लगाउँछन्
यी आँखाहरु बरु आफैं रुन्छन्
तर उसको आँखाहरुलाई किन रुन दिन्नन् ?
सायद मलाई भन्दा
मेरो आँखाहरुलाई उसको आँखाहरु ज्यादै मन परेर होला !

म त मेरो आँखाहरुको दास हुँ
उसलाई भेटेदेखि मेरा आँखाहरुले
ममाथि हैकम जमाएको छ
मनको मौन समर्थन छ
मौन समर्थन मलाई पनि मन परेको छ
मस्तिष्क अल्पमतमा परेको छ
तर त्यसको पनि कुनै फिक्री छैन
किन भने मेरा आँखाहरुले उसलाई माया गर्न थालेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *