घर नै स्कूल-सामूहिक छलफल

‘टिभी पनि कति हेर्नु । मोबाइल चलाउँदा चलाउँदा आँखा दुख्न थालिसक्यो ।’, प्रकृतिले आफ्नो फेसबुक समूहको च्याट बक्समा लेखी – ‘यो कोरोना त खतरा पो रहेछ । भूकम्प, नाकाबन्दीभन्दा बढी नै अत्यायो यसले । किन किन मलाई त डर लागिरहेछ ।’,स्याड इमोजीसहित विरजाले थपी ।

समीक्षा–‘आजकल किन मानिसलाई प्राकृतिक विपत्ति र महामारीले खेदिरहेको होला ? दिन दिनका यी डरलाग्दा समाचारले आङै जिरिङ्ग हुन्छ ।’
सुवर्ण– ‘जुन विपत्ति अगाडि देखिन्छ त्यही नै ठूलो । भूकम्पमा त्योभन्दा ठूलो आपत के थ्यो ? तराईमा बाढीले वितण्डा मच्चाउँदा त्यस्तै सोचियो ।
अहिले कोरोना विपत्ति बनेर आइलाग्ग्यो ।’

समीक्षा– ‘सुवर्णले भनेको पनि ठीकै हो । तर भूकम्प र बाढी-पहिरो संसारभर एकसाथ हुन्न । भूकम्पले नेपालका सोह्र जिल्लालाई क्षति पुर्यायो । बाढी पहिरोले केही केही ठाउँलाई प्रभावित गर्यो । तर यो कोरोनाले सिङ्गो पृथ्वीका मानिसलाई सतायो ।’

प्रकृती– ‘कहिलेकाहिं मान्छेलाई प्रकोप र महामारीले पनि सताउनु पर्छ ।’
गीता (रिसाएको रियाक्टसँगै) – ‘कस्तो कुरा गर्न सकेकी प्रकृतीले ? तिम्रो त मुटु नै छैन जस्तो छ । मान्छेलाई कति पिरोलिरहेको छ ।’
प्रकृती– ‘सबैखाले प्रकोप र महामारीको कारक मान्छे नै हो । विज्ञान सरले भन्नुभा होइन त मान्छेले प्रकृति ध्वस्त पारेकै कारण यस्तो भइरहेको छ । अब त चेत खुल्छ कि !’

समीक्षा (स्याड रियाक्टसँगै)– ‘अचम्म भएछ नि । बेलायतको राजकुमारलाई पनि कोरोना लागेछ । स्पेनकी राजकुमारीलाई नै मारेछ । बेलायतका प्रधानमन्त्री आइसियुमा छन् ।’

प्रकृती (हाँस्य रियाक्टसँगै)– ‘कोरोना समावेशी रैछ । सम्पन्न देश, शक्तिशाली शासक, राजपरिवार, धनी–गरीब, ठूला–सानो, कालो–कालो, जात–धर्म कसैलाई नछोड्ने । यसले मानिस मानिसको विभेद नै घटायो ।’

सुवर्ण (रिसाएको रियाक्टसँगै)– ‘के तिमीले कोरोनाले दुनियाँभर फैलाएको त्रास ठिकै हो भन्न खोजेकी ?’
विरजा– ‘मानव जातिमा कुनैपनि विपत्ति आउनु राम्रो होइन । तर मान्छेकै घमण्डका कारण विपत्ति आइलाग्छन् । अहिले कोरोनाले मान्छेको अहंकार पनि चकनाचुर पारेको छ ।’

गीता (रिसाएको रियाक्टसँगै)– ‘सिधै भन न के भन्न खोजेको हो ? तिमीले भन्न खोजेको कुरा बुझ्नै सकिएन ।’
प्रवृत्ति– ‘नेपालमा भूकम्पले केही समयलाई भए पनि को धनी को गरिब, को ठूलो को सानो खुला धर्तीमा सुताएको थियो । कोरोनाले पनि संसारका सबै मानिसलाई यो भाइरसबाट बच्न घर घरमै थुनिदिएको छ । पृथ्वी एउटै घरझैँ भएको छ ।’

विरजा– ‘हो, कोरोनाले सबैलाई गलाएको छ । महाशक्ति राष्ट्रहरूलाई झन् फतक्कै पारेको छ । हतियारले सुसज्जित देशलाई पनि बाँकी राखेन । बरु गरीब देशमा कम प्रभाव पारेको छ । जे पनि सहन सक्ने, पचाउन सक्ने त गरीबै रहेछ ।’

विरजाले अझै थपी (स्याड रियाक्टसँगै)– ‘धन, हतियार र शक्तिले मान्छेले मान्छेलाई जित्न सक्छ । तर एउटा सानो भाइरससँग नसकिने रहेछ ।’
सुवर्ण– ‘ठीक भन्यौ । युद्धका नाइके आफू सूरक्षित ठाउँमा बसेर जनता जनता लडाउँछन् । लड्ने र मर्ने त सिधासाधा जनता र आर्मी पुलिस त हुन् नि ।’

प्रकृती (स्याड रियाक्टसँगै)– ‘लकडाउन थपेको थप्यै छ । हाम्रो पढाइचाहिँ के हुने हो ! घरमा थन्केको थन्केइ भइयो । धन्न यो मोबाइल र फेसबुक नभए त ।’
प्रकृती– ‘अब घरलाई नै स्कुल बनाउनु पर्छ भन्ने प्रिन्सिपल सरको स्टाटस देखेनौ ?’
रिजा (अचम्म परेको रियाक्टसँगै)– ‘घरलाई नै स्कुल बनाउने रे ? कसरी नि ?’

समीक्षा (अचम्म परेको रियाक्टसँगै)– ‘कुटुमा कुटु भन्ने गीतमा कुटु भन्ने शब्द पचपन्न पटक आउँदो रहेछ ।’
प्रकृती– ‘धत्तेरी समीक्षा तिमीले कस्तो डिस्टव गरिरहेको ? गम्भीर कुरा भइरहेका बेला । अघि पनि डल्फिन कुर्सीमा कुनी कतिवटा प्वाल रे.. । काम नपाएकी..।’
सबैले रिसाएको रियाक्ट सँगै लेखे ।

विरजा– ‘प्रिन्सिपल सरको कुरा ठीकै हो नि । अलिअलि त हामीले गरेकै हो । अब अनलाइनबाट पढाइ सुरु गर्ने भन्न खोज्नु भएको होला ।’
प्रकृती– ‘अनलाइन पढाइ विदेशतिर हुन्छ भन्थे । केही कलेज र महंगा स्कुलले यता पनि गरे रे भन्थे । अब हाम्रा पनि लाइनबाटै पढ्ने दिन आए । हरेक समस्याले नयाँ नयाँ अविष्कार गर्छ भन्ने सत्य रहेछ ।’

‘कति हामी मात्र गनगन गर्ने । ग्रुप च्याटिङमा प्रिन्सिपल सरलाई नि जोडौँ न । सरको कुरा पनि बुझौँ ।’, प्रकृतीले प्रस्ताव गरी ।
‘ठीक भन्यौ प्रकृती । ए समीक्षा ! सरलाई जोड त । एडमिन तिमीसँगै छ क्यारे ।’, नमस्तेको रियाक्ट पठाउँदै रिजाले लेखी ।

‘ह्या..! नजोडौँ के बुढालाई । हामीमात्र च्याटिङ गर्दा कस्तो रमाइलो भएको छ । सरसँग ख्यालठट्टा गर्न पनि मिल्दैन ।’, समीक्षाले रिसाएको रियाक्ट पठाउँदै लेखी ।

जेजसो भने पनि समीक्षाले प्रिन्सिपल सरलाई जोडिछे । सर एकाएक स्क्रिनमा देखिनुभयो । सरलाई देखेर सबैजना सतर्क भए ।

‘तिमीहरू त पहिलेदेखि नै कुराकानीमा मस्त थियौ जस्तो छ नि । ल भन के समस्या पर्यो ? मैले गर्नुपर्ने केही छ कि ?’, प्रिन्सिपल सरले लेख्नुभयो ।
‘सर हजुरले स्टाटसमा लेखेको ‘अब घरलाई नै स्कुल बनाउनु पर्छ’ भनेको के हो ? राम्रोसँग बुझाइदिनुस् न ’, गीताले लेखी ।

‘अनलाइनबाट पढ्ने र पढाउने भनेको नि । यसमा तिमीहरू अभ्यस्त नै छौ । शिक्षक जहाँ छ, त्यहीँबाट पढाउने र विद्यार्थी जहाँ छ, त्यहीँबाट पढ्ने विधि नै अनलाइन शिक्षा हो । शिक्षक संसारको जुनसुक ठाउँमा बसेको हुन सक्छ । अहिले विदेशबाट नेपालमा आएका विद्यार्थीले अनलाइनबाट पढिरहेका छन् । विद्यालय बन्द भएपनि पढाइ यसरी चलिरहेको छ ।’, उनले स्पष्ट पारे ।

विरजा– ‘सर हाम्रोमा त नयाँ शैक्षिक सत्र सुरु नहुँदै विद्यालय बन्द भए । हामीसँग किताब पनि छैन । कार्यतालिका पनि छैन । कक्षा कसरी व्यवस्थापन गर्ने त ?’

प्रिन्सिपल– ‘ठीक भन्यौ । परीक्षा सकिनासाथ लकडाउन भएकोले हामी पनि अलमलमा पर्यौं । अब शिक्षकले पावर प्वाइन्टबाट कक्षा लिनुहुन्छ । तिमीहरुले अन लाइनबाटै कक्षा लिने । छलफल गर्ने र गृहकार्य अनलाइनबाटै पठाउने ।’

समीक्षा– ‘सर यो हामी ठूलो कक्षाकालाई त ठीक छ । साना कक्षाका भाइबहिनीले फेसबुक, एप चलाउन जान्दैनन्, तिनले कसरी सिक्लान् ?’
प्रिन्सिपल– ‘हामीले सबै अभिभावकलाई विद्यालयको एप, वेबसाइट र फेसबुकबारे जानकारी दिनुका साथै चलाउने तरिका पनि सिकाइ सकेका छौं । सानालाई दाइ-दिदीले र अविभावकले सघाउने ।’

विरजा (हाँसो रियाक्टका साथ)– ‘त्यसो भए हाम्रो विद्यालय पनि कोरोनाका कारण भए पनि स्मार्ट विद्यालय बन्ने भयो ।’
‘ठीक भन्यौ ।’, प्रिन्सिपलले लेखे ।

समीक्षा– ‘सर हाम्रो अनलाइन कक्षा कहिलेबाट सुरु हुन्छ त ?’
प्रिन्सिपल– ‘यो समय नयाँ शैक्षिक सत्रको हो । विद्यालयको क्यालेण्डरमा जहिलेदेखि विद्यालय खुल्छ भनेको छ, त्यही दिनदेखि अनलाइन कक्षा सुरु हुन्छ ।’

प्रकृती– ‘के अब सधैँ हामीले अनलाइनबाटै पढ्ने हो ?’
प्रिन्सिपल– ‘पढ्न त विद्यालयमै आएर पढ्नु पर्छ । यो त विशेष परिस्थितिको लागि मात्र । लकडाउन छउन्जेल मात्र अनलाइनबाट पढ्ने । लक डाउन खुलेपछि विद्यालयमै आएर पढ्ने है ? ल नानी बाबुहो, म अहिलेलाई विदा भएँ ।’

मायाको रियाक्ट पठाउँदै प्रिन्सिपल सर अफलाइन हुनुभयो ।
‘उसो भए अब घर नै स्कूल’, प्रकृतीले लेखी, ‘अब हामी पनि छुटुँ होला । धेरैबेर पनि भयो ।’
सबै विद्यार्थी बाइ-बाइ लेख्दै विभिन्न रियाक्ट पठाउँदै अफलाइन भए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *