अनुभूतिका छालहरू

यो बस्तिको
घना जङ्गल भित्र
असंख्य छिचिमिराहरू
आ-आफ्नै तालमा
भुन-भुनाइरहेका छन्
म सडक बिच
टक्क अडिएको छु
छाँया हराएको छ
लाग्छ मसँगै
समय अडिएकोछ
नदी अडिएको छ
धर्ति अडिएको छ ।

आगोका रापहरू
समयसँगै सेलाउँदैछन्
बस्तीको कोलाहल
पानीसँगै बग्दैछ
म पानीसँग बग्न नसकेको मान्छे
आगोजस्तै बल्लन नसकेको मान्छे
यो कोलाहलममा
आफू भित्र आँफै हराएको छु ।

प्रयोजनहिन
कसैको आवश्यकता बन्न नसक्दा
बिच बाटोमा फालिएको छु ।

कुल्चिएर समयलाई
कुल्चिएर पहाडलाई
कुल्चिएर आकाशलाई
माथि जानेहरू
समयलाई रोक्न नखोज
विवेक हराएको बेला
समबेदना हराएको बेला
अट्टहास हाँसेर
रगतको होली खेल्दैमा
विचारको ज्वालामुखी
रोक्न सकिन्न
अनुभुतिका छालहरू
छेक्न सकिन्न ।

Add a Comment

Your email address will not be published. Required fields are marked *