नेपाल यात्रा….

नेपाल यात्रा – १

करीब १९ दिनको नेपाल बसाइपछि अमेरिका फर्किएँ। नेपालको बसाइमा ४ दिन जतिको बिमारी, त्यसले उब्जाएको मानसिक थकान, नैराश्य आदिले गर्दा होला सोचे जति भेटघाट, घुमघाम र काम गर्न भ्याइएन।

तरै पनि, यसपाली पहिलेका भन्दा केहि सकरात्मक कुराको अनुभूति भयो। पहिले पहिले नेपाल भ्रमणमा जाँदा जहिले पनि त्यो भन्दा अघिल्लो भ्रमणको भन्दा स्थिति अझ खस्केको जस्तो अनुभव हुन्थ्यो।

यसपाली पहिलो पल्ट , नेपलमै फर्केर बस्न गाह्रो हुनेछैन जस्तो लाग्यो। काठमाडौँका सडकका किनारमा फोहोरको डुंगुर देखिएन। मान्छेहरूमा सकारात्मक सोच बढेको देखियो। गाडीहरूले हर्न नबजाएको देख्दा अहो चालकहरूले कस्तो सभ्य ब्यबहार अबलम्बन गरेछन् भनेर दंग परियो (नियम नै त्यस्तो बनाएको रहेछ) ।

तर धूवाँधूलो समस्या झन्डै उस्तै रहेछ। बिराटनगर पनि धूलोमा काठमाडौं जस्तै भएछ। बिराटनगरको धूलो , खाल्टा-खुल्टीले भरिएका सडकमा शक एब्जर्भर नभएका सबारी साधनमा हिड्नु पर्दा नाङ्लामा चामलका गेडा निफनिए जस्तो भयो, र बुढो हुँदै गएको ढाडलाइ निकै सकस पर्यो। रीसको झोंकमा मनमनै बिराटनगरलाई तथानाम गाली गर्न मनलागेको थियो , तर मुखबाट ‘थुक्क बिराटनगर’ मात्रै निस्क्यो। मुलुकलाई नै राजनीतिक, व्यापारिक, औद्योगिक चेतनाको बोध गराउने बिराटनगरको त्यो अस्मिता अब नरहेको भान भयो ।

अर्को एउट गज्जबको परिवर्तन पनि देखियो। पहिले पहिले साथीभाई भेट्न जाँदा , प्राय गाली खाइन्थ्यो , सोझै होइन घुमाएर वा हाउभाउ, ब्यङ्ग मार्फत । यसको मुख्य कारण अमेरिकाबाट गएको कारणनै । अमेरिकाको कुनै नीतिलाई लिएर गाली खाइन्थ्यो, खानपानमा सतर्कता अपनाउँदा गिज्याए जस्तो गरिन्थ्यो। विवस भएर पाइखानाबाट आउने एकोहोरो दुर्गन्ध सहेर बस्नु पर्थ्यो, स्वाँग पारे जस्तो न देखियोस भनेर । तर अचेल धेरैका सन्तान विदेशमा भएको, बाबुआमा पनि विदेश गएको र देखेकोले होला त्यस्तो ब्यबहार पटक्कै पाइएन। बिमारी हुँदा पनि, मेरो छोरो वा छोरी छुट्टिमा यहाँ आउँदा पनि यस्तो भएको भन्दै सहानुभूति पाइयो, नमागिकनै तातो उमालेको पानी खान पाइयो। पानीको अभाबमा समेत सफा सफार नगन्हाउने पाइखाना, जताततै कमोट्को प्रयोग निकै नै सुखद आश्चर्यका कुरा थिए। यसपाली एकजनाले बाहेक अमेरिकाबाट गएको भनेर कुनै प्रकारको गाली (अलिक हेपाहा किसिमको बार्तालाप) गरेन।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *