आँखा
|चुक्रीप्पाले
बुनिदिएको
पेरुङ्गोमा
अलिकति भुटेको खुर्सानी
अलिकति फाक्साको सुकुटी
र,मूलाको अचार राखेर
पञ्चमी डाँडातिर जाँदैछु
बञ्चरेकी डोल्मा
भोर्लाको पात जोडेर
आँफैले गाँसेको
टपरीमा
साँधेको गुन्द्रुक
तारेको आलु
र, छ्याङ्ग लिएर आउदैछिन्
हामी त
यी सबथोक
एकै ठाउँ मिसाएर
वनभोज गर्न लागेको
आउ है सोल्टिनी
तिमी पनि
आज त
दिन पनि
मातुँमातुँ लाग्ने छ
डोल्माले
आफ्नै हातले दिएको
सितन खाँदै
के के कुरा
साटुँसाटुँ लाग्ने छ।
अब त बैशाख पूर्णिमा
आउनै लाग्यो
हामी पनि
सोती आहाल मुन्तिर
एउटा पसल थाप्नु पर्छ
डोल्मा
चना-चिउरा बेच्छिन्
म
छ्याङ्ग र सुकुटी बेचौँला
तिमी
अस्ति भरखरै खनेको
वन तरूल उसिनेर ल्याउ
सबैथोक एकै ठाउँ राखौँला
र, एउटै पसलबाट बेचौँला
किन्नेहरू पनि
अन्त किन जान्छन् र
सबै चिज
एकैठाम पाउने भएसि’ ?
सामानभन्दा पनि बढ्ता
हाम्रै पसलबाट
मगमगी बासना आएसी’ !
अनि त
हाम्रो पसल पनि
फूल जस्तै हुन्छ –
फूलले आफ्नो सुन्दरता
आँफै भन्दैन
तर देखाइ रहन्छ।
डोल्मा भन्दै छिन्
त्यही दिन
उभौली पर्व पर्छ रे,
आहा, कस्तो मज्जा !
म पिङ्गमुङ्गेसँग मागेर
च्याब्रुङ्ग ल्याउँछु
सोल्टिनीले पालाम गाउनु
म कम्मरमा छड्के भिरेर
च्याब्रुङ्ग बजाउँछु
र, हातमा स्यौली हल्लाउँदै
उभौली नाच्छु
सबैलाई नचाउँछु।
पर्व त मनाउनु पर्छ
रमाईलो गरम्ला
डोल्माले
चौँरीको घीउमा
सेल पनि पकाकिछन्
त्यही खाम्ला
र, पूर्णिमा मनाम्ला।
सोल्टिनी !
पालाम गाउँदा गाउँदै
घाँटी सुक्यो भने
अलिकति छ्याङ्ग दिन्छु
कपाललाई
सपक्क मिलाएर
कस्दाकस्दै
स्कार्फ च्यातियो भने
गाँस्नलाई
र्याङ्ग दिन्छु
चुल्ठो फुकेर
आँखै छोप्यो भने त
कसरी हेर्नू हौ
नाचेकालाई
कहिलेकाहीँ त
मनको कुरा
नाचले पो खोल्छ त
हो क्या,
मनको
भाषा
नाचले पो बोल्छ त !
नाच्दा नाच्दै
उताबाट
कुनै सङ्केत पायौ भने
तिमीले पनि
पालाममा
तुक्का मिसाएर
भनि हाल्नु
गीतले नै त हो नि
मनलाई उघार्ने
गीतैले त हो नि
रहर उमार्ने !
रहर
बढ्दै जान थालेपछि
पेरुङ्गोमा अट्दैन रे
डोल्माले भनेको –
उताको सङ्केत
थुन्सेमा आयो भने
हामी
हाम्रो जवाफ
डोकोमा पठाम्ला,
छ नि त हामीसँग
चुक्रीप्पाले नै
बुनिदिएको
चोयाको नयाँ डोको
आँखै आँखा भएको !
तर सोल्टिनी
आँखालाई
सबैतिर नउघार्नु
डोकोले जस्तै,
आँखा त बेइमान पो हुन्छ त
मनले छोपेको कुरा
आँखाले खोलिदिन्छ
कतै नभनेको कुरा
आँखाले बोलिदिन्छ।
राम्रो छ बालकृष्णजी ।