भाग्य खोज्न हिंडेको ऊ
|
भाग्य खोज्न हिँडेको ऊ उठी मध्य-राती
छोडी आयो गाउँघर उसका प्रिय साथी
सुख खोज्न आएको ऊ ठूलो शहरमा
भोको पेटमा रात बित्यो चिसो सडकमा ।
यो शहरमा आफ्नु भन्ने भेटिएन कोही
बस्नै पर्थ्यो सडकमा अब खात भइ
बाबु भए परदेशी आमा परलोक
बालकमै खोसिएछ उसको सबै थोक ।
अनाथ छ बालक ऊ भयो घर न घाटको
विवशभै केलाउँदैछ फोहर कन्टेनरको
खाते भयो नाम उसको सडक भो घर
सबै जन उसलाई हेरी हिँड्छन् तर्किएर ।
अरु बालक किताब बोकी जान्छन् स्कूलमा
थोत्रो बोरा बोकी हिँड्छ ऊ सडकमा
कति लिनु चिन्ता पनि कति लिनु पिर
चिन्तारुपी भारीले नि थिचिसक्यो शिर ।
सप्तरङ्गी इन्द्रेणीलाई हेर्छु नियालेर
बाँच्नैपर्ने बिरसिलो मन सियारेर
कर्तव्यलाई कुल्चौं भने चिप्लन के बेर ?
उड्छ मन चरी बनी मन्को छैन भर ।
हृदयमा काँडा बिझे दुख्छ चस्किएर
धैर्यताले बाँधेको मन फुक्नलाई के बेर ?
भावनलाई राख्नुपर्ने भित्रै लुकाएर
हृदयमा अनगन्ती भाव सुकाएर ।
कर्तव्य र कर्म भुले जन्मको के सार
आफ्नै मन भएको तरबारको धार
अँध्यारामा आँखा तानी हिँड्दैछु म ऐले
जीवनको गन्तव्य नै बिर्सिएछु मैले ।
जुनकीरीको पिल्पिलले बाटै देखिएन
जलाउँ त राँको भने भाटै भेटिएन
अँधेरीमा खोज्दैछु म हराएको बाटो
मलाई देखी तर्की हिँड्छ उज्यालोको पाटो ।
मसँग त बादलले पनि ‘इगो’ लियो
आकाशका तारा पनि सबै ढाकिदियो
अँध्यारोमा आँखा तानी हिँड्दैछु म ऐले
थाहै नपाई आफ्नु लक्ष्य हराएछु मैले ।