पदचाप


बिहानै उज्यालोले
आँखा खोल्न सुरु गरेको क्षण
चराचुरुङ्गीको स्वरमा
समाधी टुट्छ उस्को
आँखा खुल्छ
चाउरिएको अनुहारमा
निधारको धर्साहरु खुम्चाउँदै
चारैतिर दृष्टि फैलाउँछ
भेट्छ आफूलाई एक्लै
शुन्यमा शुन्य हराउँदा
छिर्नै सक्दैन
निर्विकल्प समाधिस्थ ।

अनि गुँडबाट बाहिरिन्छ
स्याउँस्याउँ,झ्याउँ झ्याउँ
मान्छेको हुल देख्छ
आफ्नो कर्म र पौरख तुरेर
शान्तिको अनुभूति खोज्दै
फेरि नयाँ यात्रा आरम्भ गर्छ
धमिरा लागेको सडकमा
हुलबाट हराएको मृगजस्तै
सड़कबाट सड़कसम्म
कर्मको पासो भिरेर
गन्तव्यका लागि उडिरहन्छ ।

खुल्ला आकाशमा
चुडिएको चङ्गा झैं झर्छ सुन्यमा
बाटो कतिबेलाव्य उस्लाई
बाङ्गा-टिङ्गा खिइएको बाटोको डोबहरुमा
धस्सिएको मन बोकेर
पाईला लरखराउँदै सुस्तरी
असुरक्षित चौबाटोहरुमा
मन उडिरहेछ चन्चल पुतली झैं
शुन्यमा शुन्य छिचोल्दै
टन्टलापुर घाममा
मुर्कुट्टा झैं मान्छेहरु लस्करै हिडीरहेछन् ।

चुपचाप चुपचाप
पूर्णबिरामको डोब खोज्दै
भविष्यले आँखामा पट्टिबाँधेकोछ
भविष्य बक्ता लेखिरहन्छ चिना
खै उसँगै हिंडेको भविष्य बोल्दैन
लाटो छ
अन्धो छ !

कस्को पाईला कहाँ कैले टुग्गीन्छ ?
भासिंदै गएको पाईलाहरुसँग
कस्ले भन्न सक्छ र
उस्को मन खिया लागेर मक्किसकेको छ
धुजा धुजा च्यातियका तन मन
बिस्फोट हुन्छ ज्वालामुखी
बगाउँदै मनका लाभाहरु
रित्तो र तित्तो मन हेरेर
रक्ताम्य गोधूलीसँगै उस्को
भुत भविष्य बर्तमानको स्तम्भ ढल्छ
सबै पदचापका डोबहरु
साँझसँगै पोखियर
अन्तत्वगोत्वा:
अन्धकारमा विलय हुन्छ !

2 Comments

Leave a Reply to Mani Lama Cancel reply

Your email address will not be published. Required fields are marked *