कथा: परिवर्तन
|आज आशाको मुहार र व्यवहारमा नौलो आशा र उत्साहको रौनक देखिंदैछ । उनी आज बिहानै देखी निकै प्रसन्न, उत्साहित र उज्याली देखिएकीछिन् । सँधैभन्दा निकै पहिले नै उठेर नुहाई-धुवाई भ्याएर ध्यान योगा र पूजापाठ सबै समयमा नै सकिन् । खुशी खुशी हुँदै सबैसँग रमाइलो भावमा कुरा गर्दैछिन् । पूजा सकेर भगवानको प्रसाद लागाईदिंदै “आज अक्षया तृतीया हो नि ! सातु र सर्बत खाने र बाँढ्ने दिन” भन्दै सातु र सर्बतको प्रसाद पनि दिइन् । छोरी र नन्दलाई टीका लगाएर दक्षिणा दिइन् । आशाको व्यवहार देखेर घरका सबै दङ्ग परे। बाबा छोरी र छोरा आँखाको भाकाले “के अच्चम हो यो ?” भन्दै खुसखुस गरे। नन्द रोशनीले पनि खुशीको लामो शास तानिन्।
कोरोनाको प्रकोप फैलिएपछी न्युयोर्कको बसाईमा त्रासले भरिन थालेसँगै आशाको मनमा पनि सङ्कटको छायाँ टाँसीएको थियो। अपार्टमेन्टका, वरपरका धेरै छिमेकी, अरु आक्लझुक्कल बाटोमा देखिरहेका अनुहारहरु, आफ्नै दुई चार जना नेपाली प्रियजन,अरु धेरै व्यक्तिको कोरोनाबाट मृत्यु भएको खवरले आशाको मनमा अशान्ती, बेचैनी, निराशामात्र घुम्ने, रिष उठ्ने, डरलागेको जस्तो हुने, त्रसिने, निन्द्रा नलाग्ने जस्ता समस्या हुनथालेको थियो। उनी धेरै वर्ष देखी बेबीसिटिंग काम गर्थिन । घरमै गएर दुईवटी बालीकाहरु हेर्ने काम सजिलो र सुरक्षित हुँदाहुँदै पनि आशाले कोरोनाको डरले काम छाडी दिसकेकी थिइन् । उबर चालक श्रिमानलाई झनै पहिले नै काम बन्द गर्न लगाएर छोराछोरी लिएर घरमै बसे पनि नर्सिङ्ग काम गर्ने नन्द रोशनीसँगै बस्ने भएको कारण आशालाई सँधै तनाव भैरहन्थ्यो । तरपनि घर व्यवहारको पनि चिन्ता । कमाई नहुँदा पनि त घर ब्यबहार चलाउनै पर्यो, घरभाडा र छोराछोरीको अरु खर्चजस्ता कुराले झनै चिन्ता थपेको
थियो ।
बालकैमा आमाको देहान्त भएकोले आशालाई मातृ स्नेहको तिर्सना थियो । तर बिबाह पछी सासूको मायाले कहिल्यै आमा सम्झनु परेको पनि थिएन । आमेरिका आएपछि पनि दिदीबैनीभन्दा कम थिएनन् नन्द भाउजू । तर यो कोरोनाको माहामारी सुरु भएपछि स्वास्थकर्मीलाई कोरोनाको बढी जोखिमको डरले आशाले नन्दलाई जागिर छुटाउन पटक पटक दबाब त दिइन् तर नन्दले यो मानवीय सङ्कटको बेलामा कर्तब्यबाट बिमुख हुन मन नगरेकोले आशा आफ्नी प्यारी नन्दसँगै छुट्टै व्यवहार र पर-पर हुन थालेकी थिइन् । नन्द रोशनीले पनि आफ्नो काम नै बिरामीसँग सम्बन्धित भएकोले सबै कुरामा अलग्गै रहेर सुरक्षा र होसियारी त अपनाएकै थिइन् । तर तेती धेरै माया गर्ने आमा समानको भाउजूले छुट्टै व्यवहार गरेकोमा नरमाइलो मान्थिन् भने अस्पतालका बिरामीको भयाबहको अवस्थाले झनै खिन्न पारेको थियो।
दिनभर घर बस्दा समाचारमा लगातार मृत्यु फुकेको सुन्नु र झ्यालबाट बाहिर हेर्दा सुनसान न्युयोर्क सडकमा एकान्त भङ्ग पार्दै कान फुट्ला झैँ एम्बुलेन्सको आवाजले मन अझै निरस हुन्थो। विश्वलाई नै कोरोनाको महामारी छोपेको त छँदैछ, झनै दुर्भाग्य जस्तै बनेको छ न्युयोर्कबासीको लागी यो कोरोना भाइरस। उता नेपालमा बस्नेलाई यताका परिवारको अझै बढी पिर। दिन-दिनै मात्र हैन छिन छिनमा नेपालबाट आफन्तहरूको फोन आउँछ । कस-कस्लाई के-के भनेर मात्र बुझाउनु ? कहिल्यै कुरा नगरेका मान्छे पनि माया गरेर चिन्ता गरेर फोन गरिरहेकाछन्,नबोल्नु पनि कसरी ? तर आफ्नै पिडा चिन्ता र समस्याले आँफै गलेको बेलामा अरुसँग बोल्न पनि मन नभएरै होला आशा कसैसँग कुरा गर्न पनि खोज्दिनन् । केहीदीन यता आमाजस्तो माया गर्ने सासूले दिन दिनै कुरा गर्न मन गर्दा तेती बोल्न पनि नचाहने आशाले हिजो साँझ त नेपालमा सासूलाई आँफैले फोन गरेर घन्टौं कुरा गरिन् र हाँस्दै दङ्ग परेर बोली रहेकी थिईन् ।
आज दिउँसो बाह्र बजेबाट रोशनीको डिउटी छ भनेर आशाले चाँडै नै मिठो मिठो परिकार बनाईन् र नन्दलाई लन्च पनि ठिक्क पारिदिन्। सबैसँगै बसेर रमाइलोसँग खाना खाए। आशा राम्री भएर सिंगारीएर आइन र रोशनी काममा निस्कंदासँगै निस्केर ग्रोसरी गरेर ल्याउने बिचार राखिन्, धेरै पछि आशामा आएको त्यो परिवर्तनको दृश्यबाट सबै खुशी भए । माक्स पन्जा लगाएर सुरक्षित तरिकाबाट नन्द भाउजूसँगैबाहिर निस्किए ।
बाटोमा आशाले हिजो कुनै पत्रिकामा अहिलेको महामारीमा स्वास्थकर्मीहरूले गर्ने सेवाको प्रेरणादायी कथा पढेको र त्यसमा लेखिएका कुराहरुले आफ्नो सोचमा परिवर्तन आएको कुरा गरिन् । त्यसपछि आमालाई फोन गरेको कुरा नन्दलाई भन्दै गईन – ‘थाह छ नानी ? हिजो मैले त्यो कथा पढें अनि आमसँग कुरा गरेर पो धेरै कुरा थाहा पाएँ ।’ आमाले भन्नु भएको “पिर लिन हुन्न, सबै ठिक हुन्छ,ध्यान योगले मन हलुको पार्छ, संकट आउँछ टर्छ हिम्मत हार्नु हुन्न, खुशी रहनु पर्छ, मनलाई हमेशा खुशी दङ्ग बनाउने, सबैसँग हाँस्ने बोल्ने रमाउने, रमाइलो कुरा हेर्ने सुन्ने, कोरोनाको बारेमा अरुसँग पनि सेयर गर्ने, छोराछोरीसँग खेल्ने, परिवारै बसेर हाँस्ने रमाउने,मरिन्छ कि ! ला’ अब के हुन्छ भनेर कहिल्यै नसोच्ने, समाचरको कुरामा चिन्तित हुँदै नहुने । बरु चिन्ता लाग्ने कुरा नहेर्ने नसुन्ने, आफूलाई रमाइलो लाग्ने मात्र कामहरु गर्ने रे । आफ्नो मनोबल दरिलो पार्ने रे ।”
“हुन् त हो नि हगी ! हामी नेपाली तेती कम्जोर पनि कहाँ छौं र ? हाम्रो आफ्नै हातले उब्जाएर अर्गानिक खानेकुरा र मूलको चिसो पानीले बनेको दरिलो शरीर हो नि यो । अनि अहिले पनि हामी आफ्नै भान्छाको जडिबुटी खाईरहेका हुन्छौं, हामी नेपालीसँग त्यो कोरोना लाग्यो भने पनि निको पार्न सक्ने तागत छ। अहिले त मलाई केही हुँदैन, यदी लागिहाल्यो भने पनि कति नेपालीले पछारे झैं हामी पनि कोरोना भाइरसलाई सजिलै जित्न सक्छौं जस्तो लाग्छ ।”
“थाह छ नानी ? आमा त कति बाठी हगि ! म त आमा त नपढेको मान्छे केही जानुहुन्न भन्ठान्थें, तर नपढे नि आमा कति बाठी ? हामी पढेर विदेशमा बसेर के काम ? अनि नि नानी, त्यो कथा पढेपछि र आमासँग कुरा गरेपछि मेरो सबै चिन्ता हरायो नि । ” आशाले परिवर्तनको रहस्य खोलिन् र अझ थप्दै गइन् “ हुन् त हो नि हगि नानी ! जन्मेपछि एक दिन त हामी सबै अवश्य मर्ने नै हो क्यारे । आखिर, बाँचुन्जेल त हो नि खुब रमाउनै पर्छ नि हैन त ? ” भाउजूको आत्मविश्वास देखेर रोशनीको आँखा खुशीले रसिलो हुँदै थियो उनले सहमतीको टाउको हल्लाईन् र भाउजूलाई ठुलो समस्याबाट उतारेकोमा आमालाई मनमनै नमन गरिन् ।
उनको हस्पिटल आइपुग्यो र बिदा माग्दै भनिन्” भाउजू आज म अति खुशी भएँ । सात- आठ हप्ता पछी मैले मेरी उही माया गर्ने प्यारी भाउजू भेटेको छु । भरे सकेसम्म म छिट्टो आउँछु अनि धेरै रमाइलो गरौंला । ल सुरक्षित तरिकाले छिटो सपिङ्ग सकेर घर जानु र घर पुगेर मलाई खवर गर्नु ल, बाई भाउजू ” भन्दै रोशनी भित्र पस्छिन्। आशालाई पनि आज सबै थोकमा रमाइलो लागिरहेको थियो। पसलहरुमा पनि उनले सुरक्षित हुँदै खुशी मनले सबैको मनपर्ने बस्तुहरु खोजिन् । कस्ले कस्ले के के मन पराउँछन् त्यै त्यै किनेर ल्याइन् । आज धेरै पछी आशाको मन घर दुवै उज्यालो अनि शुभको सङ्केतसँग राम्रो परिवर्तन भएको छ ।