टारेर टर्दैन त्यो !
|
अहिले विश्व नै दुःखेको अवस्थामा छ कोरोना रोगको महामारीका कारणले । दिनदिनै मान्छेहरु थोक संख्यामा मरिरहेका छन् । संसारलाई नै अपाहिज बनाउन सफल यो कोरोनाका कारणबाट आजका दिनसम्म लगभग सवा २ लाखभन्दा धेरै मानिसहरुको मृत्यु भै सकेको छ । लगभग ३४ लाख मानिसहरु संक्रमित भएका छन् र ती मध्ये लगभग ५० हजार भन्दा बढी मानिसहरु सिकिस्त रहेका खबरहरु आईरहेका छन् । स्वास्थ्य सेवासँग सम्वन्धित मानिसहरुले यो रोगका कारणले विश्वमा भयावह स्थिति आउन सक्ने चेतावनी दिँदै सतर्क रहन विभिन्न उपायहरु सुझाउँदै आएका छन् । यो रोगको संक्रमण र असर हेर्दा यसबाट आर्थिक र सामाजिक रुपमा संसार अस्तव्यस्त हुने र यसवाट तंग्रिन धेरै समय लाग्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
बडो अचम्म छ,रोगको कारण पनि थाहा छ र उपचारका प्रयत्नहरु पनि भैरहेका छन् । तर पनि रोगको संक्रमण र उपचार सम्भव भएको छैन र कहाली लाग्दो मृत्युको तथ्यांक रोकिनु त के कम पनि भएको छैन । लाग्छ यो दैवको लीला हो । हुन त मान्छे मर्नु एक नियति हो, प्रकृतिको शाश्वत विधान । तैपनि मान्छेको मृत्युको खबरले सबैको मन अनौठो भयमा रुमल्लिन्छ । मर्नुको डरले होइन,बॉच्नुको तृष्णाले पनि होइन- अनौठो,अत्यन्त अनौठो किसिमले डराउँछ यो मेरो मन पनि । मान्छेको मृत्युको खबरले भयातुर भएको मेरो मनको आकाशमा भावनाले स्वच्छन्द कावा खाँदा म विचित्रको संसारमा पुग्दछु- कतै म मान्छेलाई केटाकेटी हुँदाको स्थितिमा उन्मुक्त हाँसो हाँसिरहेको देख्दछु । कतै म मान्छेलाई यूवावस्थाको उर्लंदो छालमा अनि कैशोर सौम्यतामा रमाईरहेको भेट्दछु । कतै म मान्छेलाई अधवैंशे अवस्थामा जीवनको वाटोमा दगुर्दा दगुर्दा कहिं कतै केहि फेला नपारेर खुइइ्य गर्दै पसिना पुछिरहेको देख्दछु । कतै बृध्द अवस्थामा यो संसार त हात्ती आयो हात्ती आयो फुस्सा रहेछ भनेर मुक्त हुने तृष्णामा हरिभजन गरिरहेको देख्छु । बतासिंदो मन र उड्दो भावनाका धक्काले जत्रो सुकै वेगवान गति धारण गरेपनि, जत्रो सुकै हलचल मच्चाएपनि र जत्रो सुकै बवण्डर नै खडा गरे पनि संसार लाई थाहा छ- मान्छे जन्मे पछि मर्दछ । प्रकृतिको यो नियम अविचलित छ,अपरिवर्तनीय छ र निश्चित पनि छ । तर पनि मानिस आफूलाई रोगहरुको आक्रमणबाट बचाउन र आफ्नो मृत्यु सहज बनाउनका लागि अनवरत प्रयत्नरत रहन्छ, यो उसको जन्मजात गुण हो ।
साधारणतः सास फेर्न छाडेपछि मान्छे मर्दछ । तर मान्छे मर्नु भनेको फगत मान्छे मर्नु,सकिनु वा ढल्नु मात्र होइन । मान्छे मरेपछि उसका इच्छाहरु मर्दछन्, उसका चाहना,भावनाहरु मर्दछन् र उसका सम्पूर्ण कामहरु मर्दछन् । उसले व्यक्तिका रुपमा जीउँदो छँदा गर्ने सम्पूर्ण कामहरु मर्दछन् । यसरी परिभाषा गर्दा पनि मान्छेको मृत्युको परिभाषा र अर्थ पुग्दैन भौतिकरुपमा । मान्छेको श्वासप्रश्वास क्रिया बन्द भएर मुटुको धड्कन बन्द भएपछि जव नशा नशामा रक्तसञ्चार बन्द हुन्छ, कोशिका र धमनीले काम गर्न छाड्दछन् तव मानिसको भृत्यु हुन्छ,अनि त्यो मराई मानिसको चिरनिद्रा हुन्छ र मान्छे साँच्चै नै मर्दछ, उठ्तै उठ्तैन ।
मृत्युको कल्पना सबैका लागि भयावह हुन्छ । साञ्चै नै मर्नुपर्ने भयो अब भन्ने लागेपछि मान्छेमा मृत्युको भय तिव्रतर रुपमा प्रस्फुटित हुन्छ । साञ्चै भन्ने हो भने यही मृत्युको भय,मानवको विनाश र सभ्यताको विलुप्तिको भयले गर्दा नै मानिसले आफ्नो र आफ्नो समाजको बचावट र जगेर्ना गर्नका लागि विभिन्न आविष्कारहरु गरेका छन् ,औषधीहरुको निर्माण गरेका छन् र दीर्घजीवन प्राप्त हुने रहस्यहरुको खोजिगरेका छन् तर पनि उनीहरु मृत्युमाथि विजय प्राप्त गर्न भने असक्षम छन् अझै पनि । साँच्चै जतिसुकै धाकधक्कु लगाएपनि,जतिसुकै फुर्ति लडाएपनि र जतिसुकै सेखी गरेपनि मानिसले आआफ्नो मृत्युलाई रोक्न सकेको छैन,रोक्न त के मृत्युको समय पनि निश्चित गर्न सकेको छैन ।
कोही-कोही महापण्डितहरु छन् यहाँ,जो ज्योतिष विज्ञानको आधारमा घटना-दुर्घटना र मृत्युको बारेमा विशेष भविष्यवाणीहरु गरेर जीवन धानिरहेका छन् तर हाँसउठ्तो कुरो के छ भने उनीहरु स्वयंलाई पनि आफू कहिले मर्छु र कहिले के दुर्घटना आफ्नो जीवनमा हुँदैछ भनेर वास्तवमा चाहिं थाहा हुँदैन । यस्तै एक महापण्डितलाई म र मेरो एक मित्रले हात चिना देखायौं भविष्य जान्नलाई । उनले मेरो र साथीदुवैको आयु ६५ वर्ष बताए र त्यतिन्जेल खास केहि (ठूलो दुर्घटना) नहुने घोषणा गरे । तर साथीको एउटा वस दुर्घटनामा परेर झण्डै ५ महिना अगाडि दुःखद निधन भयो । म भने जीउँदै नै छु हेरौं ६५ वर्ष पुगिएला कि नपुगिएला । मेरो अर्का एक मित्रका पिताजीलाई ८० वर्षको आयु बताएका थिए अर्का एक महापण्डितले तर उहाँको ७० वर्ष नपुग्दै गत वर्ष निधन भयो । खै कसरी पो विश्वास गर्ने ज्योतिष विज्ञानमाथि पनि !
रोगका औषधि र उपचारका विविध उपकरणहरु त आविष्कार गरे वैज्ञानिकहरुले तर न त उनीहरुले बालमृत्यु नै रोक्न सके न त अकाल मृत्यु नै छेक्न सके । मेरो एक जना नातेदारको गत साल निधन भयो- ३९-४० को उमेरमा । डाक्टरहरुले रोग पनि पत्ता लगाएका थिए,उहॉलाई पहेँले अर्थात जण्डिस भएको थियो । औषधि र परहेज अस्पतालमा नै बसेर गर्दा पनि उहॉको निधन भयो, अकाल मृत्यु ! रोग थाहा पाएर पनि, औषधि जानेर पनि र आफ्नै निगरानी र रेखदेखमा रहँदा पनि उहाँको दुःखद अवसानलाई रोक्न सकेनन् डाक्टरहरुले । मृत्युपर्यन्त उनीहरुले कोशिश गरिरहे – गरिरहे तर बचाउन भने सकेनन् र अन्त्यमा शिर निहुर्याएर उनीहरुले भने – बचाउन सकिएन उहाँलाई, हामीहरुले त कोशिश मात्र गर्ने हो अरु त भगवानको इच्छा हो ।
कठै ! कति निरीह र विवश छ यो मान्छे नामको प्राणी ! प्रकृतिलाई जित्छु भनेर हुङ्कार गर्छ,चन्द्रमामा त पुगियो अरु त के हो र भनेर उम्लिन्छ,उत्ताउलिन्छ, र मात्तिन्छ तर कठै ! प्रकृतिवाट परास्त छ । जतिसुकै प्रगति गरे‘ भने पनि, जतिसुकै अगाडि बढे‘ भनेर डिंग हाँके पनि जब जब मानिसको दुःखद मृत्युलाई रोक्न सक्तैन मान्छे, तब तब मानिसको मनमा अनायासै भगवानको सर्वशक्तिमान स्वरुपप्रति आस्था र विश्वासको बीउ रोपिन्छ र ऊ भगवान प्रति नतमस्तक हुन्छ । जतिसुकै नास्तिक भएपनि दुःख परेको समयमा मानिसले भगवानलाई पुकार्दछ-पुकार्दछ यसमा कुनै सन्देह छैन ।
विरामी पर्दाका समयमा र अझ मृत्यु करिब करिब नजिकिएको आभाष भएपछि त मानिसको नास्तिकताको दुर्दशा पनि हेर्न लायकको हुन्छ । नास्तिक भएपनि क्षण प्रतिक्षण उसका आर्तनाद र पुकारहरु निस्कन्छन् जुन सिधा भगवानप्रति लक्षित गरिएका हुन्छन् र तिनमा भगवानसँग सहायता मागिएको हुन्छ । ती करुण पुकार (वा चित्कार ?) हरुले कुनै पनि विवेकशील मानिसको हृदय चरक्क चिरिदिन्छ, मुटु फुटालिदिन्छ र भावनालाई समुद्र बनाएर आँखाबाट बाढी बनाएर बगाईदिन्छ । हो ! त्यसबेला साँच्चै मानिसलाई भगवानको सर्वशक्तिमान स्वरुपको आत्मवोध हुन्छ र ऊ मृत्युबाट मानवलाई वचाउन उनै प्रभुको प्रार्थना गर्दछ । तर …तर… त्यो पुकार पनि प्रकृतिको नियमबाट, दैवी विधानबाट र प्राकृतिक नियतिको चक्रबाट परास्त हुन्छ, धुलोपिठो हुन्छ र चकनाचुर हुन्छ । किनकि निश्चित छ, मानिस जन्मेपछि मर्दछ,मर्दछ-अजम्मरी हुने कुनै जुक्ति, उपाय र प्रक्रिया यो विश्वमा छँदैछैन । तैपनि मान्छे …आखिर मान्छे न हो हरेस खाँदैन । मृत्यु पर्यन्त कोशिश गरिरहन्छ,मृत्युमाथि विजय प्राप्त गर्ने । सयौं मानिसहरु,हजारौं उपकरणहरु र लाखौं रुपैयाँ मान्छेको मृत्युको बाटोमा अवरोध बन्न खोजिरहेछन् तर कालको बाटो सोझो छ-त्यसलाई अवरोध गर्न त के केहिबेर रिंगाउनसमेत सक्दैनन् यी प्रयत्नहरुले ।
ईश्वरीय नियम र प्रकृतिलाई जित्ने पहिलेका ऋषि महर्षिहरु र आजका वैज्ञानिकहरुका सबै प्रयत्नहरु असफल भइरहेका छन् । काल आएको आयै छ; मान्छे मरेको मर्यै छ तैपनि मान्छेको प्रयत्न जारी छ । कोशिश जारी छ, मान्छेको आशा र विश्वास जारी छ । उसको भगिरथ प्रयत्न उसको अस्तित्व रहेसम्म जारी रहन्छ,जवकि उसलाई थाहा छ- यी प्रयत्नहरु खेर जानेछन्, यी कोशिशहरु तुहुने छन् र यी प्रयासहरु मर्ने छन् झर्ने छन् र गिर्ने छन् । मान्छेको यहि चर्तिकाला देखेर नै त काल कविशिरोमणि लेखनाथ पौड्यालका भाकामा मरीमरी हाँस्दछ,आफूलाई कसैगरी जित्न सकिंदैन भनेर चेताउँछ र आफू अजेय भएको कुरो जनाउँछ। प्रस्तुत छ, कविशिरोमणि लेखनाथ पौड्यालको काल महिमा –
“भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।१।।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्र-शस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।।२।।
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।।३।।
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।।४।।”