अन्तरङ्ग बुध्दसङ्ग

थाहा थियो तिमी हौ आकाश
म हुँ धर्तीको धुलो
तर पनि
यो मनले तिमीलाई नै रोज्यो
यो मनले तिमीलाई नै खोज्यो
हरपल हरक्षण
नदेखेर नभेटेर तिमीलाई
रोएँ सुँक्क सुँक्क ।

म रोएँ –
देख्लान् कि अरुले भनी लुकेर भित्रभित्र
आकाशको बादलसँग मिसिएर
वर्षको भेलसँग
भिरपाखाको गडगडाहट खहरेसँग
पहराको झरनासँग
तिम्रै खोजीमा अविरल नदी बनेर बगे
अनन्तको लामो यात्रामा ।

हो म रोइरहें –
बग्दाबग्दै तिमीलाई खोज्दाखोज्दै थाकेर
सागरको भेलसँग बेदना पोखेर
समुद्री आँधीसँग उर्लिएर
छताछुल्ल जतासुकै पोखिएर
सागरको गहिराईभित्र लुकेर
गुम्सिएर एकान्तमा ज्वालामुखीजस्तै पड्किएर
भोल्कानोजस्तै पग्लिएर ।

केही सीप नलागेर
मिसाइ दिएँ आफूलाई
असीमित प्रेमको त्यो विशाल महासागरभित्र
केहीबेर सोचें शान्त भएर
अनि बल्ल सम्झिएँ
यो त एउटा समयको खेल थियो
रुँदैमा नियतीको खेल त कहाँ बदलिन सक्थ्यो ?
अनि फेरी उही अनन्त आकाशमा
तिमी फेरी मुस्कुरायौ
बादलको बिचबाट
घामको रापिलो ताप बनेर चुमी दियौ
प्रेमिल भावनाले
मेरो थाकिसकेको अङ्ग अङ्गमा
दियौ नयाँ ऊर्जा ।

म तिम्रै प्रेममा पग्लिएर
हुँदै भावविह्वल
उढें आकाशमा तिमीलाई भेट्न
तर नियतीको खेल थियो
त्यसैले होला
तिमीलाई भेट्नुभन्दा पूर्व
भाग्य पेरी मडाएिर आयो
कालो बादल बनेर
फेरी पनि मिसाइदियो
कालो बादलसँग
तर तिमी भने मलाई बोलाइरहेकै थिथौ
मलाई हेरेर मुस्कुराइरहेकै थियौ
म फेरी पग्लिएँछु तिम्रो तापले
अनि बाफिएछु कालो बादलभित्र भित्र
फेरी पनि थाकेर लखतरान म
उकुसमुकु भएछु
बिछोडको बेदनामा त्यसैले सहन नसकी
रोइदिएछु बादलसँगै
गुटमुटिएर गड्याँगुडुंगसँग
गर्जिदिएछु चट्याङ्गको आवाजसँग
पोखिदिएछु मनका सबै पीरहरु
र,ओर्लिएछु पुनः धर्तीमा ।

दोहोर्याउँदै उही पुरानो यात्रामा निस्किएछु
बादलबाट नदीसम्म
नदीबाट महासागरसम्म
भेटिएर उही अथाह
महासागरमा छताछुल्ल भएर
छचल्किएछु पोखिएछु
छाल बनेर समुद्री किनारामा
यसपटक पनि खोजें तिमीलाई
पूर्णिमाको चकमन्न रातमा
शान्त मनले टोलाएर
महासागरको गहिराई भित्रभित्रै डुबेर
मनको आफ्नै शून्यतामा पुगेर
आफ्नै मनको गहिराईमा डुबेर ।

एउटा मधुर ध्वनी
बोलिरहेको मीठो आवाज थियो
जसले मलाई सम्झाउँदै थियो
प्रेमिल भावले शान्त लयमा भनिरहेको थियो
सुन प्रिय-
म तिमीबाट अलग्गिएको कहाँ छु ?
म त तिमीसँगै छु हरपल
तिम्रै मनको शान्त गहिराइमा
तिम्रै मनको शान्त तलाउमा
शून्यताको ठूलो प्रेम महल भित्र
देखेर तिमीलाई आफ्नै
मनभित्र भेटेर तिम्रो चित्र
आफ्नै मनको भित्ताभित्र
मक्ख पर्दै भित्रभित्र डुब्दै गएँ
मनको सिंहासनमा
पूर्णिमाको चन्द्रजस्तो
झिलमिल तिम्रो दिव्य मुहार
मनको खुला आकाश बनेर
बहुमूल्य मोती बनेर शान्तिको दिव्यज्योति
त्यसैले आज प्रफुल्ल मनले शान्त हुँदै
आफ्नै मनको निलो आकाशमा
शान्तिको गीत गाइरहेको छु
तिम्रै प्रेमको प्रेमिल अङ्गालोमा खुशीले नाचिरहेछु
शान्तिको अखण्ड दियो बाली
मिठो धुन जपीरहेछु
बुद्धम् शरणम् गच्छामी
धर्मम् शरणम् गच्छामी
संघम् शरणम् गच्छामी ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *