नेपालमा गाँजा बहस

 

हाल नेपालमा गाँजाको उत्पादन, बिक्री र प्रयोग खुल्ला हुनुपर्छ भन्ने बहस सुरु भएको छ । प्रदेश सभा र संघीय संसदका माननीय संसदहरूले विधिवत् रूपमा यो विषयलाई पेस गरेका छन् । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा यस विषयमा बहस पढ्न र सुन्न पाइन्छ । हाल नेपालमा गाँजा को उत्पादन, बिक्री र प्रयोग खुल्ला गर्न ठीक वा बेठीक भन्ने विषयमा आ-आफ्नै तर्कहरू रहेका छन् । पक्ष वा विपक्षमा तर्क गर्नु पहिले नेपालमा गाँजा खेती प्रकृया, प्रयोग, हाम्रो संस्कृतिसँग गाँजाको सम्बन्ध, नेपालमा गाँजा किन प्रतिबन्ध भएको थियो ? र गाँजा खुल्ला गर्दा के-के कुरा लाई ख्याल गर्नु पर्छ जस्ता विषयबस्तुहरूलाई बुझ्न जरुरी छ ।

नेपालका विभिन्न भागमा गाँजा जंगली रूपमा आफै उम्रने र खेती गरी उत्पादन गर्ने प्रकारमा पाइन्छ । परम्परागत रूपमा हिन्दू योगीहरू ध्यान तथा साधना गर्दा गाँजाको सेवन गर्ने गरेको र भगवान शिवलाई प्रसादको रूपमा चढाउने गरेको तथ्य गाँजा र संस्कृति(Cannabis and Culture) नामक पुस्तकमा James Fisher ले लेखेका छन् । नेपालमा १९७३, जुलाई १६ मा मुख्य गरी ३ वटा कारण देखाइ गाँजाको व्यवसायिक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, जुन कायमै छ। ती कारणहरूमा अमेरिकाले Narcotic नियन्त्रण गर्नु पर्छ भन्ने नाममा दिएको दबाब, नेपालमा युवाहरू लागू औषधीको सिकार बने भन्ने गलत प्रचार, र त्यो बेला कानुनी रूपमा गाँजा प्रतिबन्ध गरेका राष्ट्रहरूलाई नैतिक समर्थन गर्नुहोस् भन्ने संयुक्त राष्ट्रसँगको दबाब रहेका थिए भनी लेखकले उल्लेख गरेका छन् । यसरी गाँजाको प्रतिबन्ध लगाउँदा त्यो बेला नेपाल सरकारले १ लाख अमेरिकी डलर राजस्व गुमाएको थियो भनी पुस्तकमा उल्लेख गरिएको छ ।

संसारका धेरै कम ठाउँहरूमध्ये नेपाल एक यस्तो देश हो जहाँ सय माइल उत्तर-दक्षिण भित्र धेरै भौगोलिक र वातावरणीय विविधता पाइन्छ । यो विविधता भित्र पाइने हावापानी र मौसम पनि फरक-फरक छ । यस्तो फरक भौगोलिक र वातावरणीय विविधतामा उत्पादन हुन सक्ने नेपाली गाँजाको जैविक र रासायनिक महत्व रहने नै भयो । अर्को तर्फ नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक समुदायको ठूलो हिस्साले गाँजाको प्रयोग जीवनशैलीसँग अविछिन्न जोडिएका परम्परा र चलनको प्रयोजनका लागि गर्ने गरेको पाइन्छ । धार्मिक रूपमा गाँजाको प्रयोग भगवान शिवका अनुयायीहरू र साधुहरूले गर्ने गरेको तथा नेपालका विभिन्न ठाउँहरूमा भजन गाउन आउने किसानहरू, व्यापारीहरू (जो भिन्न भिन्न भाषा बोल्नेहरु र भिन्न-भिन्न जात र समुदायका ) ले गाँजाको सेवन गर्ने गरेको तथ्य उक्त पुस्तक ले उजागर गरेको छ । The British Journal of Psychiatry मा B. P. Sharma ले लेखेका छन् (Cannabis and Its Uses in Nepal शीर्षक) “नेपालमा गाँजा सहज रूपमा पाइने र धेरैले यो बस्तुको प्रयोग गर्ने गरेको खुलेछ । २ सय २६ जनामा गरिएको सो अनुसन्धानमा प्रयोग कर्ताहरू बीच सामाजिक अपराध दर बीच कुनै फरक नरहेको उल्लेख गरेको छ । “बिशौ शताब्दीमा Journal of the American Medical Association मा Marris Fishben ले “बच्चा जन्माउने बेला गर्भवती महिलाले भोग्ने प्रसव पिडा गाँजाको सेवन ले निकै कम हुने र उक्त गाँजाको प्रयोगबाट आमा र बच्चालाई कुनै नकारात्मक असर नगर्ने कुरा को वकालत गरेका छन् ।”

बहुउपयोगी गाँजालाई कानुनी रूपमा प्रतिबन्ध लगाउन अमेरिकाले किन नेपाल माथि दबाब दियो ? यो अर्को अनुसन्धानको विषय बन्न सक्ला । यसको भित्री पाटो भनेको त्यो बेलाको भू-अर्थ राजनीति नै प्रमुख कारण हुन सक्छ । त्यो बेला संसारका हिप्पीहरू र गाँजा पारखीहरूको ध्यान नेपालमा पाइने गाँजा तर्फ थियो र उनीहरूले गाँजा खानको लागि नेपाल आउने वा नेपालबाट किनेर लैजाने हुँदा नेपाललाई आर्थिक लाभ भएको थियो । यो कुरालाई रोक्न वा अझ भनौं नेपालतर्फ प्रवाह हुने आर्थिक गतिविधि रोक्नका लागि अमेरिकाले नार्कोटिक-कन्ट्रोलको नाममा नेपाललाई कूटनीतिक दबाब दियो र नेपालका त्यो बेलाका शासकहरुले सो दबाब थेग्न नसकी २०३३ नेपालमा गाँजा कानुनी रूपमा प्रतिबन्धित भयो । यो त्यतिबेलाको अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप थियो ।

यतिका महत्व बोकेको गाँजाको व्यवसायीका उत्पादन, बिक्री र प्रयोग गर्न बनेको कानुन २०३३ लाई कसरी खुल्ला गर्ने सकिन्छ भन्ने बहसलाई नकारात्मक रूपमा लिइनुपर्ने देखिँदैन । प्रतिबन्धित गाँजा खुल्ला गर्दा नेपालले के कुरा को हासिल गर्छ वा के गुमाउँछ यो अर्को बहसको विषय हो । यो प्रतिबन्ध फुकुवाका लागि के-के कुरा को ध्यान दिन जरुरी छ भन्ने कुरा भने महत्वपूर्ण विषय हो।

नेपालमा गाँजालाई खुल्ला गर्ने हो भने प्रतिबन्धित कानुनको फुक्का गर्न नयाँ कानुनको निर्माण गर्नुपर्ने हुन्छ । यसरी नयाँ कानुनको निर्माण गर्दा के के कुरालाई समावेश गर्ने र कसरी प्रभावकारी कानुन बनाउने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । जस्तै: उत्पादन को लाइसेन्स कसरी-कसलाई दिने ? सोका सर्तहरू के-के हुने ? लाग्ने दस्तुर, जरिबाना र नवीकरणलाई कसरी नियमन गर्ने ? लागू औषधी ओसारपसारसम्बन्धी देशको कानुन र अन्तरराष्ट्रिय कानुनसँग कसरी मिलान गर्ने ? जस्ता विषयहरूको ख्याल गरिनु पर्ने हुन्छ । अर्को सवाल भनेको दुरुपयोग भएमा दण्ड र सजाय कस्तो हुने भन्ने कुराको ख्याल गरिनुपर्छ ।

अर्को ध्यान पुग्नुपर्ने पक्ष भनेको उत्पादन, बिक्री -वितरण र अध्ययन अनुसन्धान को हो । उत्पादन सँग जोडिएको सवाल भनेको बजार व्यवस्थापन को हो यसलाई कसरी मिलान गर्ने ? उत्पादनको ब्राण्ड र प्रतिलिपि अधिकार कस्तो र कसको हुने ? नेपाल भित्रका प्रयोग कर्ताहरूलाई कसरी व्यवस्थापन गर्ने ? प्रयोग क्षेत्र कहाँ र कस्तो हुने ? कुन उमेर समूहकालाई प्रयोग ( जस्तै: औषधीको रूपमा वा मनोरन्जनात्मक रूपमा ) गर्न दिने ? यो प्रश्नहरूको अध्ययन अनुसन्धान जरुरी हुन्छ । अर्को अति महत्वपूर्ण विषय भनेको गाँजाको विश्व बजार कस्तो छ भनी हेर्नु पर्ने हुन्छ । २०१८ मा क्यानडा ले पनि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएको छ । क्यानडाको सरकारी तथ्याँकलाई हेर्ने हो भने आर्थिक वर्ष २०१९ को प्रथम सात महिनामा ५ सय २४ मिलियन (क्यानडा) बराबरको गाँजा बिक्री-वितरण भएको पाइन्छ। यसरी हेर्दा क्यानडा पनि नेपालमा उत्पादन भएको गाँजाको बजार हुन सक्छ । त्यस्तै अरू कुन-कुन देशलाई गाँजा बिक्री गर्न सकिन्छ ? व्यापार-सन्धिहरू कसरी गर्ने ? आदि विषयमा गहन अनुसन्धान हुन जरुरी छ । उत्पादित गाँजाको भण्डारण, प्याकेजिङ्र र लेभलिङ्को अर्को काम कसरी गर्ने यो पनि सोच्नु पर्ने हुन्छ । अर्को सवाल भनेको यसको दुरुपयोग भयो भने कसरी नियन्त्रण गर्ने, दुरुपयोगको परिभाषा कसरी गर्ने ? दुरुपयोग भएको उजुरीलाई निरूपण गर्न अदालती प्रकृया कस्तो हुने ? दण्ड वा सजाय कसरी गर्ने ? अनुसन्धानमा यी विषयहरू पनि समेटिनु पर्छ । हाल नेपालमा तीन तहको सरकार छ । मौजुदा संरचनामा उत्पादन भएको गाँजाको बिक्री-वितरण गर्दा करको दायरा कस्तो हुने आदि विषय पनि भुल्नु हुँदैन । प्रतिबन्धित गाँजा खुला गर्दा हाम्रो समाजमा के कस्तो मनो-सामाजिक असर पर्छ भन्ने कुरा नबुझी गाँजा खुल्ला गरियो भने यसले भयावह स्थिति पैदा गर्न सक्छ । त्यसैले यतातर्फ पनि ध्यान दिनु जरुरी छ । नेपाल सरकार गृह मन्त्रालय, २०१२ को एक सर्भे गरेको थियो । सो सर्भे को ९१ हजार ५ सय ३४ जनामा गरिएको र ९०.५ प्रतिशतले गाँजाको प्रयोग गर्ने गरेको खुलेको छ । त्यस्तै सर्भे गरिएका मध्ये १५ वर्ष मुनिका अधिकांशमा गाँजा लोकप्रिय भएको पाइएको थियो । यो तथ्याङ्कलाई आधार मान्ने हो भने सामाजिक असर कम् गर्न सुरक्षा कबजको जरुरी देखिन्छ । सो कामको लागि श्रोत र साधनको खाँचो पर्न जान्छ । यो कुरालाई पनि गाँजा खुल्ला गर्दा ध्यान दिनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य सँगठन को रिपोर्ट २०१५ ले उल्लेख गरे अनुसार १ सय ८१ मिलियन मानिसहरूले (१५ देखी ६५ वर्ष उमेर समूह का ) गाँजा को प्रयोग (औषधीको रूपमा बाहेक) गर्ने गरेको देखाएको छ । त्यस्तै गरी संयुक्त राष्ट्र संघले प्रकाशन गरेको विश्व लागू औषधी सम्बन्धी रिपोर्ट २०१९ अनुसार १ सय ८८ मिलियन मानिसहरूले गाँजा लाई लागू औषधीको रूप मा प्रयोग गर्ने गरेको खुलासा गरेको छ । यी तथ्याङ्क लाई आधार मान्ने हो भने विश्वभरी गाँजाको माग रहेको प्रस्ट हुन्छ । विश्व बजारको यो माग लाई ख्याल गरेर नेपालमा गाँजा खुल्ला गर्न सकिन्छ तर खुल्ला गर्दा माथि उल्लेखित विषय बस्तुहरूको पर्याप्त तयारी जरुरी छ ।

(सामाजिक विकास तथा पुनर्वास विज्ञ बद्री कार्की हाल क्यानडामा Registered Social Worker हुन)

4 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *