गजल

पीरमा छ जिन्दगी विनाशले र त्रासले
हाँस्नखेल्न बिर्सियो सताउँदा अतासले

रैछ पर्वतै सरी निकै बलिष्ठ कोभिड
हार मान्न बाध्यछन् पताल वा अकासले

के भयो अनर्थ यो बिजोक पारी विश्वमा
छट्पटी छ विज्ञको लुटे हवास लासले

आजसम्म ज्यान गो करीब तीन लाखको
बढ्छ अंक हर्दमै दगा धर्‍यो पिचासले

आसरा गुमे कतै अनाथ झैँ भए कतै
उर्लिँदै गए व्यथा न रोकियो प्रयासले

भूल हो कि जीवको न वा प्रकोप दैवको
दङ्गछन् न तामसी दुराग्रही तमासले

आँसुको र शोकको प्रवाह भो जताततै
फुङ्ग भो मुहार नै निली सक्यो उदासले

व्यग्रता बढे निकै सधैँ उपाय पर्खिंदा
वेदना सहस्रछन् तथापि खप्छ आसले

(तूणक छन्द)

Add a Comment

Your email address will not be published. Required fields are marked *