ए छिमेकी देश

ए छिमेकी देश
नेपालीको शिर ठाडै छ
पाखुरीमा बेजोड शक्ति छ
अलिकति पनि सह्य हुनेछैन
जब हडप्न थाल्छौ
स्वतन्त्र नेपालको सीमाना

ए छिमेकी देश
तिम्रो दुष्कर्म प्रति
हरेक नेपालीको छातीमा
द्वेष उत्पन्न हुनेछ
सन्तान दरसन्तानसम्म

हाम्रा पुर्खाको बलिदानले आर्ज्याको
त्याग तेज बहादुरीले रक्षित
पसीना रगत बगाएर कोरिएको
नेपालको नक्शा
भूगोलको मानचित्रमा साक्षी छ

ए छिमेकी देश
ब्यापारिक स्वार्थको लागि होस्
या हेपाहा लुटाहा प्रवृतिले
तिम्रो यो सानो देश प्रतिको दादागीरी
नकारात्मक क्रियाकलाप
इतिहासको पन्नामा छापिने छ
इन्टरनेटको पानाहरुमा लेखिने छ
यूट्वमा, टेलिभिजनमा, रेडियोमा बजिने छ
तिम्रो खुल्लम खुल्ला पेलाहा हर्कत
लुकाउनै नमिल्ने गरी
मानिस मानिसको दिमागमा पर्नेछ

ए छिमेकी देश
त्यतिखेर यो संसारमा
तिम्रो बदनाम हुनेछ
थाहा पाउने जो कोहीले
मन पराउने छैनन्
तिम्रै देशका सत् नागरिकहरुले
चित्त दु:खाउने छन्
हरेक नेपालीको आत्माले
तिमीलाई धिक्कारनेछ

ए छिमेकी देश
त्यसैले सीमाना अतिक्रमण गर्ने
दु:साहस नगर

Add a Comment

Your email address will not be published. Required fields are marked *