मन्दिरमा घण्ट बजिरहेकै छ

तिमी छोडेर गए पनि
टाढा भए पनि
तिम्रो याद आइनै रहन्छ
त्यॊ गल्लि सडक गुल्जार नै छ
भिडमा म तिमीलाई
खोजी रहन्छु
कतै तिमी अनायास
टुपुल्कीन्छौ कि ?

ती मालीहरुका डालीमा
उनेर राखेका फूलका माला
तिम्रै बाटो पर्खेर बसेकाछन्
हलुवाईहरुका मालपुवा स्वारीमा
झिंगा उडी रहेकाछन्
तिमीले नैबेध कहिले फेरि किन्न आउने हो
डोकोमा रायोको साग बेच्ने तरुनी
फर्कि फर्कि तिमी आउने आस गर्दैछिन्
त्यो देवलमा नांग्लामा पात टपरी बेच्ने बज्यै
खै किन हो किन खिन्न छिन्
तिमीलाई नदेखेर पो हो कि ?

भुइँमा पैसा फिजाएर बसेका जुजुमान
एकोहोरो हेरिरहेका छन्
देउताको लागि पैसा साट्नेहरुमा
तिमीलाई नदेखेर
यो हल्लाको बिच पनि
चूना हाल्दै पान बेच्ने अष्टमान
चिम्से धमिलो आँखाले यता उति हेर्दै छन्
तिमि हाँस्दै सुपारी माग्न पो आउने हौ कि ?

ऐसेंलु र काफल बेच्ने बाजे
माना र ट्वाकमा थापेर राखेका फल हेर्दै
अझैं बसौं कि जाउँ भेउ पाउँदैनन्
एक बथान परेवा भुरुर्र उडे
टन् टन् टन् आवाजले
अझैं पनि मन्दिरमा घण्टा बजिरहेकै छ ।

त्यो त्यै पाटी हो
जहाँ तिमी घण्टौं बसेर
वरिपरिको भिडलाई नियाल्दै
के के सोचिरहन्थ्यौ
अहिले एक जोडी युवा
सायद कलेजका बिद्यार्थी हुन्
मोबाइल खेलाएर बसिरहेकाछन्
लामबद्ध भक्तहरु भने पर्खिरहेकाछन्
पूजा थालीमा
अबिर, चामल, धान, फूल, नैबेध बोकेर
श्रद्धा भक्ति भावका साथ
भगवान पर्खिबसेका छन्
धूप बत्तीले वातावरण सुगंधित छ
छेवैको एक कुनामा नांगा जोगी
आसिस दिने मुद्रामा
त्रिशूल समाती उभिरहेको छ
एक हूल बृद्धहरु लहरै
माग्न बसिरहेकाछन्
शुन्य आँखाले खै के के खोज्दैछन्
यो समय फेरि
तिम्रो किन याद आउँछ ?
अझै पनि मन्दिरमा घण्ट बजिरहेकै छ ।

एक हूल स्कूले बिद्यार्थीहरु
उफ्रिंदै जिस्किंदै गईरहेकाछन्
उता सफाई कर्मचारीहरु
फोहोर उठाउँदै धुलो बढार्दैछन्
झिसमिसेमै लक्ष्मी नारायण बाजे
बडो जोड्तोड़ले झण्डा फर्फराई रहेछन्
गाडीको धुवाँ र आवाजले पनि
यो शान्तिलाई बिथोलेको छैन
त्यै हुलमा राधेश्याम
पर्यटकलाई फनफनी घुमाउँदै बेच्दैछन्
ॐ मणि पद्मे हूँ लेखेको थाङ्का
हाँसिरहेको मोटे बुद्ध
अनि गीत गाउने बटुका देखाउँदैछन्
म फेरि पनि तिमीलाई सम्झन्छु
यो भीडमा तिमी नभए त के भो
तिम्रो आभास त चारैतिर छँदैछ
यी मन्दिर , पाटी , सत्तल , बजार भरिभराउ नै छ
भक्तहरु लामबद्ध नै छन्
नित्य रुपमा पूजा चलिरहेकोछ
यौटा शुन्यपना त छ
तिमी आउने आश त छ
तर पनि पानीको बहाब घटेको छैन
परेवा उडी रहेकाछन्
झण्डा फर्फराई रहेकोछ
यो निरन्तरता जारी नै छ
तिमी खड्किएको मात्र हो
अझै पनि मन्दिरमा घण्ट बजिरहेकै छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *