जिन्दगी एक परिभाषा अनेक

कोपिलामै मुर्झाउन विवश
एउटी बाल विधवालाई सोधें
जिन्दगी के हो ?
छचल्किंदै गरेको आँसुको आँधी सम्हाल्दै भनिन्-
पलासको फूलजस्तै हो जिन्दगी ।

वृद्वाश्रममा बसेर टोलाउँदै
आफ्नै अधुरो सपनाको दाहसंस्कार गर्दै गरेकी आमालाई सोधें
जिन्दगी के हो ?
खुइय्य सुस्केरा हाल्दै भनिन्-
आफ्नै सन्तानको सन्तापले

मुटु खाईरहने शूल हो जिन्दगी ।

फक्रदै गरेको फूलजस्तै सुन्दर

नवयौवनालाई सोधें
जिन्दगी के हो ?
कोपिलाकोजस्तो उन्मुक्त मुस्कान छोड्दै भनी-
आँफैले बुझ्न नसक्ने काउकुती हो जिन्दगी ।

मसानघाटमा मुर्दा पोल्दै गरेको घाटेलाई सोधेँ-
जिन्दगी के हो ?
जलिरहेको लासलाई चटक्कै छोडेर
ताकेर उन्मुक्त आकाश
उडिरहेको धुवाँको मुस्लो देखाउँदै भन्यो-
आधा धुवाँ र आधा खरानी हो जिन्दगी ।

भर्खरै सुत्केरी भएकी
एउटी आमालाई सोधें
जिन्दगी के हो ?
रगताम्य पेटिकोट निचोर्दै भनिन्-
आँफै हराएर आफ्नालाई भेट्टाउनु हो जिन्दगी ।

मध्यरातमा मदिराले मदहोस युवालाई सोधेँ
जिन्दगी के हो ?
नशाले ढुन्मुनिंदै र भुन्भुनिंदै भन्यो-

दु:खको दलदल र नशाको तलतल हो जिन्दगी ।

मधुमासमा महकिंदै गरेका प्रेमील जोडीले

आँतमा उष्णता बोकेर ओठमा बर्सिंदै भने –
अपूर्व यौवन र अलौकिक उल्लासको उडान हो ।

बिहानी घामजस्तै नरम स्कुले नानीहरुले
ताराजस्तै चम्किला आँखाहरु चम्काउँदै भने-
बाह्रैमास लाग्ने उल्लासमय जात्रा हो जिन्दगी ।

मृत्युशैयामा छट्पटाइरहेको एक रोगीलाई सोधेँ
जिन्दगी के हो ?
विरक्तिएको उराठिलो उछ्छवास छोड्दै भने-
चौरासीलाख जुनीमध्ये

अत्यन्तै पट्यारलाग्दो यात्रा हो जिन्दगी ।

जीवनको वर्णमालामा खोजें
भोगाइको रङ्गशालामा खोजें
दर्शनमा खोजें र दर्पणमा खोजें
अरुलाई सोधें र आँफैलाई सोधें
जिन्दगीलाई यसरी बुझें-
जिन्दगी,
देख्न सक्नेलाई सपना हो
भोग्न सक्नेलाई विपना हो
गम्न सक्नेलाई गिर्वाण हो
रम्न सक्नेलाई निर्वाण हो
हिड्न सक्नेलाई यात्रा हो
भिड्न सक्नेलाई लडाईं हो

रमाउन सक्नेलाई जात्रा हो

निफन्न सक्नेलाई भाग्य हो
चिन्न सक्नेलाई साध्य हो
गाउन जान्नेलाई गीत हो
सुन्न जान्नेलाई सङ्गीत हो

लाउन जान्नेलाई प्रीत हो
पिउन जान्नेलाई अमृत हो

हो जीन्दगी,

जान्नेलाई श्रीखण्ड

नजान्नेलाई खुर्पाको बिँड !

2 Comments

Leave a Reply to Ram pokhrel Cancel reply

Your email address will not be published. Required fields are marked *