तिमीसँग

तिमीसँग छुट्टिएर पनि फेरि भेट हुने बाचा छ
मबाट टाढा हुँदा पनि सम्झिन्छौ भन्ने आशा छ ।

तिमीलाई मैले मन दुखाई बिदाई गरेको छु
तिमीबिना खुसी छैन लाग्छ म जहरमा परेको छु।

औंसीको रातले पनि ताराहरुको फूल दिन्छ
तिम्रो यादको ज्वालाले मलाई जलाई दिन्छ ।

मन छ भने मलाई भेट्न सपनी बनेर आऊ
बिहानी हुनुभन्दा अगाडी रात बनेर जाऊ ।

तिमी त मेरो मनमा बसेको मान्छे
ओठको मुस्कान बनेर हाँसेको मान्छे ।

तिमीबिना यो मन रमाउन कहाँ सक्छ र ?
हिउँझै यी आँखाले आँशु जमाउन सक्छ र ?

कति हतार हुन्छ मलाई तिम्रो बोली सुन्न
यो रात आँखाले नपिएसम्म भोलि हुन्न ।

तिम्रो मिठो बोली हावासँगै पठाएनी हुन्न र ?
यी रात तिमी सम्झीसम्झी कटाएनी हुन्न र ?

यो मन किन त्यसै एकोहोरिन्छ मायामा
खोजुँ खोजुँ लाग्छ तिमीलाई आफ्नै छाँयामा ।

आँफैलाई हराउँछु तिम्रो यादमा टोलाउँदा
यो शहरमा कोही बोलेन तिम्रो नाम बोलाउँदा ।

तिमीलाई अर्को जुनीमा आफ्नो भन्न पाउँछु होला
तिम्रो खुसी शब्दमा लेखेर गीतहरु गाउन पाउँछु होला ।

मसँग तिमीबिनाको रातहरु धेरै छन् जुन बनेर उडाई देऊ
सूर्यमुखी फूल तिमीतिर फर्कें भने घामझैं आँखा जुदाई देऊ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *