नेपालका निकोलाई अस्त्रोवस्की कवि विकल


रगतको टीका लगाउँदै सहिद
 हामी त उठ्ने छौँ
 पूर्व र पश्चिम उत्तर र दक्षिण
 एक भइ जुट्ने छौँ ।”
गोविन्द विकल

गोविन्द विकलको आगमन
बुबा जगतबहादुर बोहरा क्षेत्री र आमा देवीमायाको कोखबाट बिसं २००५ साल माघ ६ गते गोविन्दबहादुर बोहरा अर्थात् गोविन्द विकलको जन्म भएको थियो । धरान नगरपालिका वार्ड नं. १४ विजयपुर गैरी गाउँ हालको (नयाँ टोल) बसोबास गर्नु भएका विकलाका हजुरबुबा  बैद्य भक्तबहादुर बोहरा अमरहाट जिरो प्वाइन्टमा बसाइँ सर्नु भएको थियो । साहित्यकार वसन्त थापाद्वारा जुराइएको साहित्यिक उपनाम “विकल” गोविन्दले स्वीकारे पछि नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा सम्मान तथा श्रद्धाले लिइने नाम बन्यो- गोविन्द विकल ।

आफ्ना बुबाको बारेमा विकल
बुबाको मृत्यु हुँदा म ७ वर्षको थिएँ । त्यस बखतसम्म मलाई मानिसको मृत्युबारे कुनै अनुभव थिएन । बुबालाई कात्रोमा बाँधेर गाउँलेहरुले घाटतर्फ लगे । म पनि गाउँलेहरु सँग-सँगै गएँ । त्यस घडीसम्म मलाई बुबाको मृत्यु भएको भन्ने थाहै भएन र आँखाबाट आँसु पनि आएन । जब घाटमा मेरो कपाल मुण्डन गर्न थालियो तब बुबा दिवङ्गत हुनु भएको थाहा पाएँ र उहाँको सम्झनाले भावविह्वल भएर रोएँ ।”
केवल फूँयाल, विकलका बारेमा  लेखिएको  शोधग्रन्थ 

असफल  वैवाहिक जीवन  
गोविन्द विकलको पहिलो मागी विवाह २०२५ सालमा धनकुटा निवासी रणबहादुर सिंह कार्कीकी सुपुत्री सुशीला कार्कीसँग भएको थियो । सुशीलाका तर्फबाट  २ छोरा र २ छोरी जन्मे ।

गोविन्द विकलको मात्रै होइन धेरैजसो साहित्यकारहरुको जीवन विपन्न अवस्थामा रहेको देखिन्छ । नेपालका साहित्यकारको जीवनको पटाक्षेप नियमित गतिमा भएको कमै पाइन्छ । गोविन्द विकल एउटा असल साहित्यकार हुँदा हुँदै पनि आफ्नो पारिवारिक स्थितिलाई आर्थिक उत्पादनशील तर्फ नलगाउनु, घरको कामकाज तर्फ एकदमै लापरवाही गर्नु वहाँका गृहस्थ जीवनका कमजोरी थिए । गोविन्द विकलसँगको आर्थिक कष्टमय जीवनको तङ्गीका कारण सुशीलाले अर्को बिवाह गरेको अनुमान गर्नसकिन्छ ।

सुशीलाको प्रत्यागमन पछि धरानमै बसोबास गर्दै आएका सुवेदी परिवारको छोरी सितासँग २०३९ सालमा विकलको दोस्रो विवाह भएको थियो । सीताकातर्फबाट पनि  १ छोरा र १ छोरीको जन्म भयो ।

राजकुमार कार्की (ब्लाष्ट टाइम्स, धरान) का अनुसार विकलको दोस्रो विबाह पनि सन्तोषजनक हुन नसकेको मात्र होइन पारिवारिक कलह,बिखण्डन र वियोगान्त बन्न पुग्यो । यसकारण विकलको वैवाहिक जीवन र  पारिवारिक गृहस्थी सँधै अधुरो अपूरो र असफल रह्यो ।

दोस्रो पत्नीसँगको वैवाहिक जीवनको उतार चढाव र कटुताका साथै उनी बेखबर भए पश्चात्  निराश र विक्षिप्त हुन पुगेका विकल जीवनबाटै विश्राम लिने निष्कर्षमा पुगे । त्यसैले बिसं २०५० मा विकल चतरा नहर अन्तर्गतको चक्रघट्टी खण्डमा पर्ने तेह्रअड्डीको जलाशयमा जलसमाधी लिने मनसायले हामफाल्नु भयो । नहरको भूमरी परेको ठाउँमा वहाँलाई पानीले घुमाउँदा–घुमाउँदै कसैले देखेकाले तुरुन्त उद्दार गरी राम्रोसङ्ग सम्झाइयो । त्यस घटनापछि जीवनप्रति आशा जागेकोले “पुरानो विकल मर्यो र नयाँ विकलको जन्म भयो” भन्दै नयाँ जीवनको सुरुवात गर्नु भएको थियो विकलले  ।

मानबहादुर राउत,विकलका बारेमा  लेखिएको  शोधग्रन्थ

गोविन्द विकलसँगको सामिप्यता
गोविन्द विकल, बम देवानसँगको मेरो परिचय २०२७-०२८ सालदेखि नै भएको हो । जुनबेला इटहरी र धरान त्यसताका साहित्यिक गतिविधिका लागि मुख्य क्षेत्रको रुपमा गनिन्थ्यो । प्रगतिशील साहित्यिक आन्दोलनलाई उर्जा र त्यसलाई निरन्तर दिने कालखण्ड थियो त्यो । त्यसबेला साहित्यिक गतिविधि तथा कार्यक्रम स्थलकै सन्दर्भमा भए पनि मेरो प्रगाढता त्यसबेला बढ्यो जब वम देवान, विकल भएर सयपत्री छापाखाना चलाउन थाल्नुभयो । सोही प्रेसबाट मेरो पहिलो कविता सङ्ग्रह ‘के भनेर सम्झाउनु मेरी छोरीलाई’ बिसं २०३१ मा  प्रकाशित भयो । प्रेसमा आउँदा जाँदा गोविन्द र देवानसँग बाक्लै भेटघाट हुन थाल्यो । उहाँले आफ्नै घरमा लगेर खाना खुवाउनु,उहाँका कविता सुन्न गुन्न धरान जाने क्रममा दिनचर्या झैं भै सकेको थियो मेरो ।

मेरो तरहरास्थित घरमा गोविन्द विकल, बम देवान, चित्र निरौला, शेरबहादुर अम्बर, मधुमल्लातीरबाट जे.वी. टुहुरे (वारेन्टको समय) हरु आउने गर्नुहुन्थ्यो । त्यतिबेला विशेषत साहित्यिक आन्दोलनलाई अग्रगति दिने चर्चा परिचर्चा भैरहन्थ्यो । त्यहाँ कार्यगत डिजाइनलाई गोष्ठीका प्रारुप बनाउँथ्यो । कहिलेकाँही राति उहाँहरु हाम्रो घरमा बास पनि बस्नु हुन्थ्यो । मेरी आमा र बहिनी हेमाप्रति उहाँको आदर र स्नेह रह्यो ।

कुनै एक दिन बहिनी हेमाले विकलले पनि बम देवानलेजस्तै गरेर सुनौला रङ्गको फिस्टे चरालाई घण्टौंसम्म घर अगाडिको शिरीषको फूलको रुखमा त्यसको उफ्राइ हेरेर एकोहोरिएको भेटीछन् ।  बहिनीले उनको एकोरिएको ध्यान भङ्ग गर्दै घरभित्र बोलाएर मेरो अध्यन कक्षमा बस्न भनिछन् । गोविन्द विकल, बम देवान, चित्र निरौलाप्रति आमाले यी मेरा असल साथीहरुलाई लक्ष्यित गर्दै “गुहापान” भन्नु हुन्थ्यो ।

यता पनि आफ्नै सन्तान ढल्छ

ऋतु आसीक/ विराटनगर, नेपाल

उता पनि आफ्नै सन्तान ढल्छ

के गर्ने के नगर्ने

मायालू आमाको मन

पग्लेर सुसाइरहेको छ ।

……

दुईतर्फ उभेका छन् बन्दुकधारी

बन्दुक आगो ओकल्छ र गोली

कहिले यता दुख्छ

कहिले उता लाग्छ

….

सोच्दा सोच्दा

आमाको मन थाक्छ

आमाको आँखा अगाडि

प्रश्नको जुलुश उठिरहेको छ,

भन तिमीलाई कस्तो लाग्छ ?

आमको मन थाक्छ,पेज ३९

गोविन्द विकलको मनोस्थिति
गोविन्द विकलले मसङ्ग पनि जीवनका सत्य तीता मीठा भोगाइसँगै आफ्नी श्रीमती सुशीलाप्रति शङ्का उपशङ्काको कुरा उठाउनु भएको थियो । कतिपय भोगाइ सत्य तथ्यको छानविन नगरी भ्रम नपाल्न अनुरोध गरेको थिएँ  मैले । सुशीलालाई उहाँ असाध्य माया गर्नुहुन्थ्यो । एकदिन म तरहरामा साहित्यिक गतिविधिलाई तीब्र तथा विस्तारका लागि केही सल्लाह भएको हुनाले उहाँलाई छिट्टै लिएर आउने अठोट गरी धरान गएँ । विकलजी र म घरबाट निस्केर छाता चौकसम्म आइपुगेका मात्र थियौं । सुशीला हस्याङ्ग फस्याङ्ग गर्दै आएर विकलजीलाई घर फर्किन भन्नु भयो । विकलजी असमञ्जमा पर्नुभयो । उहाँको असमञ्जता फुकाउँदै मैले भनें- ‘विकलजी बैठक अर्को कुनै दिन मिलाउँला र तपाईंलाई खबर गरुँला, तपाईं अहिले घर फर्किनोस् ।’ उहाँ भारि मन लिएर श्रीमतीसहित घर फर्किनु भयो ।


गोविन्द विकलको आर्थिक स्थिति सुदृढ हुँदा हुँदै आयश्रोतको त्यस्तो भरपर्दो स्रोत नभएको कारण परिवारको खर्च धान्न ऋणको ऋण लिनु परेको थियो । ऋणको भुक्तानीका लागि धरानस्थित र त्यहाँ बसिरहने परिवार धान्न धौधौ पर्थ्यो । छरछिमेकमा सुशीलाको चरित्रका सम्बन्धका बारेमा चर्चा परिचर्चा शुरु भएपछि एक अर्कामा अविश्वास र घृणाको वातावरण शुरुभएको थियो  । सुशीलाले ४-४ जना बालबच्चा भएपछि आफूमाथि गरेको विश्वासघात सम्झदै विकल विक्षिप्त हुनुहुन्थ्यो । विकलले सुशीला–सुशीला भनेर अर्ध चेतनमा बर्बराहट गर्न थालेपछि  उपचारको लागि राँची पनि लगिएको थियो ।

म सपनालाई छुन्छु र कल्पना गर्छु

हो कल्पनाभन्दा यथार्थ बलियो हुन्छ

यो जान्दा जान्दै पनि

म तिम्रो बारेमा सोच्छु

मेरो सपना/म तिमीलाई प्रेम गर्छु ।

ए मेरो सपन ( एक टुक्रा धुन,पेज ४०)
मेरो सामिप्यता  विकल र देवानसँग उतिकै थियो । बुर्जुवा शैक्षिक योग्यता बम देवानमा भएता पनि अध्ययनशीलताको क्षमता तथा बौद्धिक तार्किकता आदिको क्षमता भने विकलमा पनि थियो । यी दुवैबीचको साहित्यिक प्रगाढताले धरानमा साहित्यिक पीढीले यिनीहरुको कविता शैली टपक्कै टिपे । देवान र विकलका कविता शैलीको बाढी नै आएको थियो ।

इटहरीका काजीलाल फूयाँलले एक पटक मसँग विकलको बारेमा कस्तो जिकिर गरे भने कार्टुन साहित्यिकदेखि जन्तु विज्ञानसम्मको ज्ञान एकपटक पढेपछि त्यसलाई जस्ताको तस्तै शब्दको फोटोकपि गर्न सक्ने क्षमता थियो उहाँमा । बौद्धिक उचाइ र मार्क्सवादप्रतिको आस्थाको प्रज्वलित ज्योतिलाई दिव्यमान बनाउनका लागि पार्टीमा लागेका विकललाई पार्टीका केही  शैतानको कोपभाजन भएर पार्टीको खेलबाट उहाँ बाहिरिनु भएको थियो । मार्क्सवादप्रतिको आस्था र त्यसको व्याख्यालाई जीवनको अन्तिम पडावमा परेर पक्षघातको विरामी अवस्थामा पनि प्रगतिवादी साहित्यिक आन्दोलनलाई निकोलाई अस्त्रोवस्कीले लगाएको गुण मानव जातिका लागि अमर निधिको रुपमा रहेझैं विकलले पनि प्रगतिवादी साहित्यिक आन्दोलनको झण्डालाई उचा राख्न उहाँले गरेका कार्यहरु स्तुत्य नै छन् । यसरी गाविन्द विकललाई नेपालका निकोलाई अस्त्रोवस्की मान्न सकिन्छ । गोविन्द विकल जीवनको पटाक्षेप पनि निकोलाई अस्त्रोवस्कीजस्तै पक्षघातको रोगसँगै भयो ।

दृष्टिगत भ्रमको निवारण
गोविन्द विकल शोधग्रन्थ पेज ५६ (बिसं २०४४) सालमा भण्डाफोर शीर्षकमा उपन्यास पनि लेखिएको तथा पञ्चायती तानाशाहहरुले धरपकड जारी राखी पक्राउ खाने डरले साथीहरुले भूमिगत हुँदा हराइ दिएकोउल्लेख गरिएको छ । तर उहाँको त्यो कृति प्रहरीले पक्राउ गर्ने डरले मैले (ऋतु आसीक) जमिनमा गाडेको थिएँ । त्यो समय अन्तरालमा यसै स्मृतिबाट हरायो ।

प्रसिद्ध जनवादी गायक जे.वी. टुहरेले २०-२५ वटा धुले मंचनका लागि लेखिएका नाटक पाण्डुलिपी हराइ दिएका छन् । (रक्तिम किरण अंक २४ वर्ष ३, २०६१) यो पनि माथि उल्लेख भएजस्तै तत्कालिन साताको दमन र सुरक्षाका लागि अपनाइएको कुनै कमजोर विधीको परिणाम हो भन्ने मलाई लाग्छ ।

गोविन्द विकल जीवन व्यक्तित्व र कृतित्व शोधग्रन्थको पेज ३४ मा उल्लेख छ- “२०२५ सालमा तत्कालीन महेन्द्र कलेज (हालको महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस) विराटनगरमा कला संकाय अन्तर्गत प्रविणता प्रमाणपत्र तह प्रथम वर्ष भर्ना हुनुभयो । तर धरान निवासी केशव आचार्य (हाल विराटनगर–४) का अनुसार २०२५-२०२६ सालतिर उहाँ तत्कालीन महेन्द्र कलेज धरानमा वि.कम. पढ्दा कलेजबाट निस्किने मुखपत्र “छायाँ” मा गोविन्द विकल सम्पादक मण्डलमा रहनु भएको थियो । तसर्थ उहाँको अध्ययन पनि धरान कलेजमै भएको देखिन्छ ।

छिन्ताङ्गमा मार्क्सवादको  विजारोपण
बिसं २०३०–२०३६ सालका युवाहरुमा के ब्रह्मज्ञान आइसकेको थियो भने आफ्ना अधिकार क्षेत्रमा गएर त्यहाँ  मार्क्सवादको ज्योति प्रज्वलित गर्ने आफ्ना निष्ठा अनुरुप गोविन्द विकल र बम देवानको जोडी छिन्ताङ्गतर्फ लागेका हुन्छन् । पहाडी गाउँले जीवनमा उनीहरु एकाएक हुन्छन् । राति बेर सबेर त्यहाँ  मार्क्सवादी कक्षाहरु सञ्चालन गर्नु र छिन्ताङ्गबासीलाई प्रशिक्षित गर्नु आफ्नो जिम्मेवारी लिन्छन् । प्रशासनको उनीहरुप्रति दवाव बढेपछि छिन्ताङ्गबाट यी  मार्क्सवादी जोडीलाई विभिन्न षडयन्त्रका तानाबुनाका माखे साङ्गलोमा पारिन्छन् । बम देवानलाई उहाँको बुबा रिटायर्ड डि.एस.पी. नभएको भए बम देवान त्यसैबेला मारिनु हुन्थ्यो । काठमाण्डौंबाट आफ्नो छोरालाई फर्काएर ल्याएको कुरा धरानमा चर्चाको विषय भएको थियो ।
त्यो एक टुक्रा धून
रोइरह्यो

भर्खरै जन्मेको

सानो शिशुजस्तो

सायद खोजेको हो उसले

आमाको पोषिलो दुध

र न्यानो काख

चाहिन्छ स्याहार सम्भार

हरेक जीवनलाई ।

– एक टुक्रा धुन,(एक टुक्रा धुन पेज १)

विकलका दर्जनौं कविता र लेख रचनाहरू विभिन्न पतार्पत्रिकहरुमा  प्रकाशित भएका छन् । तर ती सबैको संरक्षण र सङ्कलन प्रकाशित हुन् सकेका छैनन् । उहाँको ‘एक टुक्रा धुन’,एउटा कविता सङ्ग्रह प्रकाशित भएको छ ।

विकलको सादगीपन
प्रतिकूलतालाई पनि अनुकूल बनाउने साहस र सादगीपन विकल्मा नभएको होइन । तर परिस्थितिको पहाडले थिचिएपछि विकल उठ्नै नसक्ने गरि विचलित पनि भए ।
कुरा हो २०३३ सालतिरको,मेरो तरहरास्थित घरमा बेलुकाको खाना खाएर म र विकल अध्ययन कक्षमा थियौं । हामी बीचको कुराकानी गर्दा गर्दै मध्यरातको झण्डै १ बजीसकेछ । मैले उहाँलाई अब सुत्नुपर्छ होला भनेर ओछ्यानको चाँजो मिलाउन अर्को कोठातिर लागें । फर्किएर उहाँलाई सुत्नको लागि अर्को कोठामा जाउँ भन्न लाग्दा उहाँ त ४ फिटको बेन्चमा पुस्तकको सिरानी हालेर सुत्ने तरखर गर्दै हुनु हुँदो रहेछ । यसबाट मैले के पाएँ भने घरका अन्य सदस्यलाई घच्च हुन नदिने उहाँको शालीनता स्वभाव,अहं प्रदर्शनबाट धेरै टाढा रहनु उहाँको स्वभाव थियो ।

लुगाफाटाको हकमा जस्तो भेट्यो त्यस्तै लगाउने,खाना पनि यस्तो उस्तो खानैपर्छ जस्तो पनि नगर्ने, उहाँ कसैप्रति नराम्रा टिका टिप्पणी आलोचना नगर्ने तथा कुनै पनि नयाँ साथीलाई साहित्य लेखनतर्फ लाग्न अध्ययनमा विशेष जोड दिने प्रेरणा दिने गरिरहनु हुन्थ्यो । नव प्रतिभाहरुका लेखिएका रचनामा कमी कमजोरीलाई सच्याईदिने यस्तै विविध किसिमका गुणका धनी हुनुहुन्थ्यो गोविन्द विकल ।

पक्षघातसँगै अवसान
“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
 इन्द्रै विन्ति गरुन् झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो”
कवि शिरोमणिद्वारा रचित काल महिमाका यी पङ्क्ति जनताका प्रिय रचनाकार नेपाली प्रगतिवादी साहित्य आन्दोलनका अग्रज गोविन्द विकललाई पनि लागुभयो । ढिलो चाँडो यी पङ्क्ति पृथ्वीका जन्मिएका सबैको जीवनमा प्रयोग हुन्छ । मृत्यु शास्वत सत्य हो । यसलाई अङ्गिकार गर्नै पर्छ ।

नेपाल प्रगतिशील साहित्य आन्दोलनका अग्रिम दस्ताका ध्वजवाहक मेरा निम्ति मित्र तथा “गुरु” का रुपमा रहनु भयो विकल । उहाँ पक्षघात भएर ओछ्यानमा ढले पनि म खै केले रोक्यो थाहा छैन तर भेट गर्न गइन । यसका लागि म आफूलाई दोषी करार गर्छु  । यसमा मेरो जीवनभरि आत्मग्लानी र पछुतो छ । मेरा निम्ति उहाँ नजिकको मित्रको रुपमा रहनुभयो । आदरका रुपमा रहनुभयो । प्रगतिवादी साहित्यिक आन्दोलनका पङ्क्तिवद्धहरुका लागि उहाँले गरेका कार्यहरुको व्याख्यालाई अघि बढाउन उहाँका गल्ती कमजोरीलाई चिर्दै,उहाँका उज्याला पक्षको वकालतमा आफूलाई उभ्याउने प्रण गर्दछु ।

नेपाली प्रगतिवादी साहित्यिक आन्दोलन (विशेषत पूर्वी नेपालका) का प्रखर योद्धा गोविन्द विकल ५७ वर्षको उमेरमा (१८ चैत्र,शुक्रबार २०६२) वि.पि. अस्पतालका चिकित्सकले विरामीको अवस्था गम्भीर भएको घोषणा गरेपछि आफ्नो घर महेन्द्रनगर सालवन्दी तर्फ फर्काउँदै गर्दा बाटामा नै  ४ बजे अपरान्ह उहाँको निधन भयो । एक सिर्जनशील प्रगतिवादीको यो निधन  मुलुकलाई खट्की रहकोछ ।

विकल पन्चायती व्यवस्थाको बिरोधमा आबाज उठाएका कारण विभिन्न समयमा बन्दि पनि बनाइनु भएको थियो । हाल अमेरिका निबासी तत्कालिन अबस्थामा विराटनगरमा पत्रकारिता गर्ने भाइ लेखनाथ भण्डारीका अनुसार विकल २०४६ सालको जनानान्दोलनको पुर्व सन्ध्यामा विराटनगर जेलमा राजकाज अपराध अन्तर्गत राजबन्दिकारुपमा रहनु भएको थियो । उहाँसँग हरि बैरागी दाहाल पनि हुनुहुन्थ्यो रे । विकलले त्यसबेला उपलब्ध गराएको “एउटा मुस्कान ठोकिएर” कविताको सानो अंश यस्तो रहेछ-

हुनुभयो
नहुनु भयो
एउटा मुस्कान ठोकिएर
आँखामा दुर्घटना भयो
पराधिन हुनु पर्ने मुलुकमा
स्वाधिन हुनु
अक्षम्य अपराध भयो ।

विकलका साथै बैरागीजिले पनि ‘नेपाल मेरो घर’ शिर्षकको कविता दिनु भएको रहेछ त्यहीबेला । तर ती दुवै कविता स्थानिय प्रशासनको डरले विराटनगरका कुनै पत्र-पत्रिकाले प्रकाशित गर्न सकेका थिएनन् । ती कविता २०४६ को जन आन्दोलनपछि काठमान्डुबाट प्रकाशित जनता र युगसन्देश साप्ताहिकमा प्रकाशित भए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *