प्रेम पत्र

यतिका दिनपछि आज
तिमी यता फर्किएछौ र तिम्रो चिठ्ठी आयो ।

तिमी जुन दिशातिर गएकी थियौ
म त सधैं त्यतै फर्किएर उभिएको थिएँ ।

तिमीले फेरेको स्वास
हावाले उडाएर यतै ल्याउँछ कि भनी
तिमीलाई छोइआएको बतास चिन्न पो सकिन्छ कि भनी
तिम्रो टाउकाबाट चुडिइ झरेको केस
उडेर यता आइपुग्छ कि भनी
तर केही नआएरै बित्यो यति लामो समय ।

आज यति लामो समयपछि तिमीले
केही लेखी पठायौ
तिम्रा आफ्नै औंलाले कोरेका अक्षरहरू
यत्रो भिड छिचोलेर
म कहाँ आइपुगे ।

तिमी मलाई छोडी गएकी थियौ
उडिरहेको बतासको हात समाइ हिडेकी थियौ
तर खै कुन ताकतले हो तिमीलाई
यता फर्काएछ ।

यो चिठ्ठी म खोलुँ या नखोलुँ को
दोसाँधमा छु
यसमा खोर्सानीको धुलोजस्ता पीरा शब्दहरू पनि हुन सक्छन
या दुधमलाईजस्ता वाक्यहरू !?

यसमा टुक्रिएको आशा जोड्ने रसायन पनि हुनसक्छ
या मनलाई अझै धेरै टुक्रा पार्ने छिनो !?

चिठ्ठी आउनु नै अहिले जीवन भएको छ
यतिका बर्षहरू पछि तिम्रा परेलाहरू यता मोडिए
मलाई सम्झिएर तिम्रो मनका ओठहरू चले
र एउटा फूलको थुंगा जसरी आयो
यो चिठ्ठी म कहाँ ।

त्यसैले मैले खोलेको छैन यसलाई
केवल स्पर्श मात्र गरिरहेछु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *