हजुरबुबाको लक डाउन डायरी

हिजो बेलुकैदेखि हो,गुडुङ्गुडुङ् गरेर बिजुली चम्केको । हिजो पानी पर्छ होला भनेको पर्न सकेन । आज पो बिहानैदेखि निरोधार आरीले घोप्ट्याए जस्तो पानी पर्न थाल्यो । बुबाले झ्यालबाट बाहिरतिर हेर्दै-“उता पनि आयो होला यो पानी कि यता मात्रै हो कि ?” भन्नुभयो ।

“यतिबेलाको पानीको के काम छ र त्यो पनि खेतीपाती नहुनेलाई ।” भएपनि अब गरिंदैन,मैले भनें । काँ यो पानीको ठूलो काम छ नि,के भनेको तैंले ? केही नभएपनि घाँस पलाउँछ बाख्रापाठालाई ।भूँडीभरि हरियो–परियो खान पाउँछन् गाई,बाख्राले । सानो काम छ यो पानीको ! भिज्ने गरि आयो भने मनग्गे बगरमा घाँस पलाउँछ । खेतीपाती हुनेलाई चाहिएको छ नि यति बेला पानी किन चाहिंदैनथ्यो । मकै,तिहुन् तरकारी लाउँनेलाई सानो काम दिन्छ यतिबेलाको पानीले ! पाहाडतिर मकै छर्ने बेला भयो । छरेका अगुवा मकैलाई पनि कामै दिन्छ बुबाले थप्नुभयो । बैशाखको दिनमा झरी पो पर्ला जस्तो छ झिंजो मान्दै मैले भनें ।

विना गल्ति निरापराधीलाई थुनेजस्तो जेल नै भो घर पनि । यो कुनै भाषण होइन । दुई महिना भइसक्यो, घरबाट बाहिर निस्कन नपाएको । काठमाडौँमा एक मुठी चामल र एक कचौरो पानी दिने मानिस भेटिएन यस्तो बेला भनेर एक जना २२-२४ वर्षको युवा नराम्रोसँग दुःख मान्दै रोयो । म त कम्ति माया लागेन भन्दैथिइन् एक महिला । यो घटनाले धेरैलाई मर्माहत बनायो । कत्ति त उसँगै आँसु झारेर रोए पनि होलान् । कत्तिले काठमाडौँलाई गालि गर्दै उसलाई सहानुभूति दिए होलान् । उसलाई सहानुभूति भन्दापनि एक छाक पेटभरि खाना चाहिएको थियो । कति दिनदेखि ऊ भोकै थियो । खै के के गर्यो के के यो कोरोनाले पनि मान्छेलाई ?!

संसारकै हरेक मानिसको जीवनले नायाँ मोड लिने भो अब यो कोरोना माहामारीपछि । कसैले कसैलाई सहयोग गरिरहन सक्ने अवस्था रहेन । आँफैलाई कसले सहयोग गर्ने ? सहयोग गर्ने राष्ट्र आँफै थलिएपछि के सहयोग गर्नु ! हरेक दृष्टिले आफ्ना लागि आँफै सक्षम हुनु पर्ने रहेछ भन्ने बलियो सन्देस दिएर जाने भो कोरोनाले ।

एक ९ वर्षको बच्चाले आफ्ना हजूरबालाई आज विहान उठ्ने वित्तिकै सोध्यो,बुवा उहिले पनि यसरी लक डाउन हुन्थ्यो ? स्कुलहरू पनि यसरी नै बन्द हुन्थे ? गाडी चल्थे कि चल्दैनथे ? कोरोना यसरी नै फैलन्थ्यो ? ती ८५ वर्षका बूढा हजूरबालाई के थाहा कोरोना के हो ? लक डाउन के हो ? छोराका जिज्ञाशा सुनें मैले पनि उसले मलाई देखेकै थिएन । उसका जिज्ञाशा सुन्ने भोक आज अलिकति मेटियो । प्रफुल्ल हुँदै थियो मेरो मन । बुबाले भन्नुभयो,हैन यो के के भन्छ ? अस्तिदेखि सोध्या-सोध्यै छ । म बुढोले के जान्नु यो कोरोना सोरोना भन्या के हो ? लक डाउन के हो ? हाम्रो समयमा काँ यस्तो थियो र ?! यस्तो बन्द-सन्द पनि केही हुँदैनथ्यो । यस्तो रोग-सोग आउँदा पनि हैजा आयो भन्थे । ज्वरो-सोरो आउँथ्यो । कहिले खै के खटिरा-सटिरा निस्कन्थे जिउमा । कहिलेकहीं त त्यतिकै निको पनि हुन्थ्यो । कोही मर्थे । कोही बाँच्थे ।

अलि टाढा आफ्ना–आफन्त मर्यो भने त थाहा पाइँदैनथ्यो हत्तपत्त । कोही आयो खबर दिन भने थाहा हुन्थ्यो नभए थाहै नपाइने । वल्लो गाउँ पल्लो गाउँलाई डाँडाँमा निस्केर कराउँनु पर्थ्यो । यस्तो अहिलेको जस्तो फोन-सोन पनि केही थिएन । न दाग्दर थिए न अस्पताल नै । पछि वैद्य भन्ने आयो । त्योभन्दा अगि त गाउँघरमै रोगव्याध जान्ने,जडिबुटी खेलाउने कसैकसैले केके जरा,बोक्रा कुटेर ओखती बनाउँथे । त्यही कपडछान् गरेर खान दिन्थे । कसैलाई कहिले निको हुन्थ्यो । कहिले हुँदैनथ्यो । धामीसामी लाउँथे । झारफुक गर्न लायो । त्यस्तै हो । निको हुनेलाई हुन्थ्यो । नहुनेलाई हुँदैनथ्यो । पल्लो गाउँमा मान्छे बिरामी भए भने त्यहाँ त हैजा आको छ । जानु हुँदैन,गयो भने अरूलाई पनि भेट्टाउँछ नि हैजाले भन्थे । हैजा साम्य नहुन्जेल गइँदैनथ्यो । त्यसरी पनि बचिन्थ्यो । अहिले त यस्तो सजिलो छ । यसो केही हुने वित्तिकै कुदाएर अस्पताल लान्छन् । डाक्टरले दबाईमूलो गरेपछि निको पनि हुन्छ ।

यो अहिलेको हैजाले पो छक्क पार्यो त ! दबाई नै छैन भन्छन् । कस्तो रोग हो । कतै जान हुँदैन । कसैसँग बोल्न पनि हुँदैन,सरिहाल्छ भन्छन् । यस्तो त जानेको थिएन ! घर भित्रै बसेको बसेकै गर्नु पर्ने । बसेर जिउ बिग्रिइसक्यो । यस्तो बन्दाबन्दी के हो यस्तो ? अझ कतिन्जेल यस्तो हुने हो ? सधैँ यस्तै हो कि ! के खाएर बाँच्नु हो मान्छे ? कतिन्जेल यसरी बस्नु हो ? विदेश गएका मान्छे के भए ? सरसाउँदो मान्छेसँग पनि बोल्न हुँदैन भन्छन् । कसैसँग बोल्दै नबोली कसरी बस्नु ! यस्तो काँ जाऔँ र के गरौँ ? खट्पटी हुन्छ । म यहाँ रोकिएकै २ महिना जति हुन लाग्यो । आज के बार ? कति गते ? कुन महिना चल्दैछ ? भन्ने पनि थाहा हुन छोड्यो । यसरी त अब धेरैन्जेल बस्न सकिन्छ जस्तो पनि छैन ।

ऊ त्यहाँ माथि घर बनाउँदै गरेको ठाउँमा त ठाक्ठाक्–ठुक्ठुक् गर्दैछन् । एक,दुई मान्छे यताउता गरे जस्तो पनि देखिन्छ । काममा आउन पो थालेछन् कि क्याहो मान्छेहरू ? आँखाले त्यहींसम्म पनि राम्रोसँग भेउ पाउँदैन । काममा नलागे त के खाउँन् र विचराहरूले अब !? यस्तो बन्दाबन्दी छ । आज खुल्छ भन्यो खुल्दैन । भोलि खुल्छ भन्यो भोलि खुल्दैन। बाटो हेर्यो बस्यो, खुल्दैन । कति बाटो हेर्नु ?

मै बूढोलाई त यस्तो उपरतली हुन थाल्यो । यता बिग्रियो र उता बिग्रियो । भत्भती मन पोल्छ । टाढा जान नसकेपनि छिमेकमा वल्लाघर–पल्लाघर,तल्लाघर–माथ्लाघर गरिरहने मान्छे । फन्दामा परियो । घरमा एकैछिन् खाली हात नबस्ने । भ्याई–नभ्याई हुन्थ्यो मलाई । सकिंदैन भनेर बसिरहने मान्छे हो र म ! पहिल्यैदेखि गरिल्याको । एकैछिन् केही नगरि त बस्नै सकिंदैन । अहिले पो यो कोरोनाको बन्दाबन्दीले केही सिप चल्या छैन त । कता फलान्नु जस्तो भइसक्यो । रातभरि पेट पोल्यापोल्यै गर्छ । निद्रा नै लाग्दैन ।अनेक कुरा खेल्छन् मनमा । अब आउने दिन कस्ता हुने हुन् ? यता फर्क्यो । उता फर्क्यो । आफ्नै ओछ्यान पनि बिजाउँछ । कहिले त आँखा झिमिक नगरि उज्यालो हुन्छ । बूढो भएपछि आफ्नै जिउ पनि बिजाउँदो रहेछ । सानातिना कुराले पनि मन छट्पटिंदो रहेछ । आफू त अब अस्ताउँन लागेको घाम जस्तो भइहालियो । आफू त अब कति दिन नै पो बाँचौला र ?! सम्झन्छु,यी नाती– नातिनाका दिन कस्ता आउँने हुन् ?

उबेला पनि ९० सालको भूइँचालो त सुनेको मात्रै हो ।दुई बर्षपछि जन्मेको हुँ । त्यसपछिका जड्ती लागेर परेका अनिकाल,रुढी,बाढीपहिरो ०४५ र ०७२ सालको भूइँचालो दिखियो-भोगियो पनि। यो अहिलेको कोरोना माहामारी यस्तैले त होला नि मान्छेलाई खानलाउनको दुःख हुने भनेको । एक सालको माहामारीले कत्ति वर्ष हान्छ । अब यो माहामारीले कत्तिको मुखमा कतिन्जेल बुझो लाग्ने हो । बिहान–बेलुका हातमुख जोड्न पाउँदैनन् । अहिले नै देखि कति मान्छे भोकभोकै पर्न थालिसके भनेको सुन्दैछु।

यसले त अहिले मात्र होइन,धेरै पछिसम्म पो हान्छ त । ३४-३५ सालको जड्तीमा त कत्ति मान्छे खान नपाएर आसाम भासिए-भासिए ।ती अहिलेसम्म फर्केका छैनन् । त्योभन्दा अगाडिको जड्तीले पनि अनिकाल फैलाएर कत्ति मान्छे भोकभोकै भए । हैजाको माहामारी फैलिएर ज्वरो आउने,जिउभरि त्यतिकै खटिरा निस्किने । त्यही खटिरा फुटेर पाक्ने । घाउ हुँदै गएर शरीरै कुहुने हुन्थ्यो । त्यसरी पनि कत्ति मान्छे मरे । पछि २२ सालमा हो खोप आयो । आँफैले वैद्य ल्याएर खोपाउनु पर्ने । खोपाएपछि चाहिँ हैजाले भेटेन । त्यसपछि त हो हैजा उति फैलिन छाडेको । त्यसपछि त त्यस्तो ठूलो हैजा फैलिएको पनि थिएन । यस्तो अनेक कोरोना सोरोना भन्ने थिएन । उहिले त हैजा भन्थे । हैजा आयो भनेपछि रोग आएछ भन्ने बुझ्नु पर्थ्यो । के गर्नु अहिले जस्तो अस्पताल,डाक्टर भन्ने नै थिएन । ओछ्यान लाएर सुतिसकेपछि उठेर हिँड्न गाह्रो थियो ।

यी माथिका पङ्ति बुवाले आफ्ना सन्ततीका लागि पिर गरेर गनगन गर्दा तयार भएका हुन् । मैले बुबालाई भनें “आज जेठ १७ गते शनिबार ०७७ हो ।” बुवाले सोध्नुभयो- “कति भए त नेपालमा आजसम्ममा कोरोनाका बिरामी ? कति मरे ?”

आजसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउने ३ लाख ६५ लाखभन्दा बढी भइसके । सङ्क्रमित ६० लाख पुग्नलागे । नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय पुग्न लागिसक्यो । मर्न थाले नेपालमा पनि कोरोनाले,आजसम्ममा ७ जना मरेको खबर छ । हुनत विश्वमा निको हुनेहरू पनि २५ लाखभन्दा धेरैछन् ।

राम राम राम,त्यत्रो पुगे !? सखापै भइसकेछन् नि मान्छे त ! अहिलेको जमानामा पनि हैजाले त्यत्रो साढे तीनलाखभन्दा धेरै मान्छे मर्नु भनेको त सानो कुरा होइन त ! धन्न नेपालले आजका दिनसम्म थामेको रहेछ । तै बरू तै बरू हाम्रोमा पो आजसम्म त त्यति बिघ्न फैलिन पाएको रहेनछ कि क्याहो ? भगवानको कान नपरोस ! यमराजले बाटो बिराएकै रहेछ । अन्त त मान्छे सखापै भएछन् नि । आजको जुगमा हैजाले यसरी मान्छे मर्नु भनेको त चानचुने कुरा हुँदै होइन नि । अझै कति जाने हुन् ? यो लक डाउन भन्ने बन्दाबन्दी चाहिं कहिलेसम्मलाई बाँकी छ नि अब ? घर जान चाहिँ नपाइने रहेछ ।

बुबा रोकिनु भएको त थिएन,उहाँको धाराप्रबाह हैजा अनुभव र चिन्ता जारी नै थियो । मैले फेरि बढेन भने जेठ ३० गतेसम्मलाई, भन्दै टीभी खोलें । मलाई पनि न बुबालाई बुझाउन सक्ने क्षमता थियो न त छोरालाई सम्झाउन सक्ने उसको होमवर्कको रेडीमेड उतर !

Add a Comment

Your email address will not be published. Required fields are marked *