काँचभित्रको परदेशी जिन्दगी
|मनकामना अहिले परदेशमा छिन् । स्वदेशमा रहँदा उनले न भनेजस्तो काम पाइनन् आफ्नो पारिवारिक गुजारा टार्न सकिन् । जहिले पनि परिवारमा अभाव । उनी सानो छँदा ज्योतिषीले नाम मनकामना राखिदिएको रे ! किनकी ठूलो भएपछि उनले इच्छाएको सब पुगोस् । उनले पढ्न पनि पढिन् राम्रोसँग तर उनले सोचेजस्तो केही भएन यहाँ । त्यसैले अहिले उनी परदेशमा छिन् । मान्छेहरुको भिडमा, तर ती मान्छेको आवाज उनले बुझ्दिनन् ।
उनी ठूलो शहरमा छिन् , तर एक ठाउँबाट अर्को ठाउँमा जान उनलाई मुस्किल छ भाषाले गर्दा । कहिलेकँही साथीहरुसँग फोन बार्ता हुँदा जिस्काउँछन् – “हरियो कलर कति कमायौ डलर” । तर टाढाबाट हेर्दा कस्तो सूखमय र लोभलाग्दो देखिन्छ परदेशी जीवन। वास्तवमा एकपटक भोगेपछि थाहा हुन्छ, मनकामना यसो भन्दै भुतभुत्यउँछिन् । मनकामना प्राय:जसो परदेशमा पनि त्यही एउटा विशाल घरको वरिपरि नै हुन्छिन्। त्यही नै हो उनको काम गर्ने अफिस । महिनाभर काम दियो मालिकलाई, त्यो एक महिनाको तपस्याबाट उनले पनि एकचोटी हात थाप्ने मौका पाउँछिन मालिकसँग । यस्तैगरी, महिना, बर्ष हुँदै एउटा लामो समय बित्छ उनको जीवन परदेशमा।
आज उनी अलिक बढी नै टोलाएकी छिन् । सायद, आज आइतबार,अनि घरको यादले पनि होला। अक्सर यो बार उनलाई केही फुर्सत नै हुन्छ। तर यो चोटी उनले धेरै नै एक्लोपनको अनुभूती गरेकि छिन् । हुन पनि हो, परिवार छन्, तर सँगसँगै छैनन् । उनी मान्छेसँग बस्छिन् तर मान्छेसँग बसेको अनुभव गर्न पाएकि छैनन्। काम गर्नु पर्छ, सब ईशाराको भरमा, रिमोट कन्ट्रोलले मेसिन चलाएजस्तै दिक्क लाग्नु स्वभाबिक पनि हो। उनी आँफै बोल्छिन,त्यो सुन्ने पनि आफू नै हुन्छिन् । यस्तै अचम्मको जिन्दगी छ उनको ।
आज आफ्नो नाम राख्ने ज्योतिषीलाई सम्झन्छिन्, उनलाई रिस पनि उठ्छ त्यो ज्योतिषीदेखि । यस्तो पनि नाम राख्ने ? नामअनुसार केही पनि नमिल्ने थुक्क जिन्दगी ? यहाँ साधुलेजस्तो जिन्दगी बिताउनु परेको छ, नाम चाँही मनकामना ! आजबाट मेरो नाम मनकामनाको सट्टा कामना भयो भन्दै मनकामना माईलाई सम्झदै अघी हिंड्छिन् ।
यसो एक पाइला अघि के सारेकी थिइन् उनको नजर एउटा सानो नानी हाँसिरहेको ठाउँमा पुग्छ,जहाँ माछाका भूराहरु काँचका पर्दा भित्र रहेको कन्चन पानीमा खेलीरहेका हुन्छन् । त्यो सफा पानी अनि पारदर्शी काँचका पर्दा भित्र खेलिरहेका रंगीचंगी माछाहरुको दृश्य अती नै लोभ लाग्दो छ। त्यसैले स-साना नानीहरू कती खुशी छन् भन्ने सिमा नै छैन। त्यो सानो मानसपटलमा बच्चालाई के थाहा ? ती माछाहरुको बास्तबिक जिन्दगी ! कामना बच्चालाई हेर्छिन् र ती माछाहरुलाई पनि । तुलाना गर्छिन्, हेर बच्चा कती स्वतन्त्र छन् उता-यता गर्नलाई । तर यि माछाहरु खुला आकाश मुनी रहेको पानीको मुहानमा डुल्नेहरु आज अप्राकृतिक रुपले घर-घरमा सजिएका छन् । बस यिनिहरुका सबै कुरा उही मालिकमा भर पर्नुपर्ने, सानो आयतनमा खुम्चेर बस्नु पर्ने, न उनीहरुलाई रात न दिन कतिखेर खान हाल्दियो उतीबेला खायो, अनी मालिकको मन टहलाउन तयार भएर बस्नुपर्ने ! होला नि पिडा त किन नहोला र यिनलाई पनि ?!
कामना यस्तै यस्तै सोच्दै भुतभुत्यउँछिन्, लगातर उनको जीवनमा यस्तै नै भैरहेको छ। अझ सोच्छिन्- खोलामै भएको भए पनि संघर्ष त गर्नै पर्थ्यो यिनीहरुलाई पनि । त्यहीमाथि अचेल खोलाको मुहान पनि कहाँ सफा छ र ? खोलालाई पनि सफा हुन कहाँ पो दिएका छन् र ? आफ्नो अतित सम्झदै आफूले देखेको आफ्नो ठाउँको ठूला-ठूला परिवर्तन, तर त्यसले आफ्नो जिवनलाई सहज पार्न नसकेको पल सम्झिन्छिन् । मुहानको प्रदुषित वातावरणले गर्दा नै यिनीहरु यता उफ्रेका त हैनन् ? उनी आँफैलाई प्रश्न गर्छिन् , अनि कल्पना गर्छिन्- सङ्ग्लो मुहानको पानीको तर कहिले हो उनलाई आँफैलाई थाहा छैन,उनले खोलामा पनि कहिले सङ्ग्लो पानी देखेकी थिइन् ?
अचानक काँच भित्र माछा भएको ठाउँ नजिक त्यो सानो नानीको पिता आउँछन, बाबु छोरी माछा पौडीरहेको हेर्छन् । यसो माछा अडिएको देखे भने च्व:च्व: गरेकोजस्तो आवाज सुन्छिन् कामनाले । उनी अनुमान गर्छिन्- गाउँमा बाख्रा धपाएको हो कि जस्तो लाग्छ उनलाई । न रोकी दौडिनु भनेका त होलान् नि तिनीहरुले माछालाई पनि । केही समयपछि बच्चाको पिताले यसो केही परिवर्तन गर्न खोजेजस्तो गर्छन् तर अचानक काँचको भाँडो भुईंमा बजारिन्छ। त्यो सानो नानी रुन्छे, पिताले सम्छाउँछन् पिर नलेऊ । म तिमीलाई योभन्दा राम्रो ल्याईदिन्छु । यही भनेको हुनुपर्छ, उनले तिनीहरुको ईशाराबाट यस्तै बुझ्छिन् । हुनपनि नानीको पितालाई त्यो परिवर्तन गर्न के ठुलो कुरा थियो र ? काला गए गोरा, गोरा गए काला भनेजस्तै । बाबुको आश्वाशनपछि सानी नानी खुशी हुन्छे। कामना यो सब हेरिरेहको हुन्छिन्-एकातिर बाबुछोरी,अर्कोतिर छट्पटाइरहेका माछाहरु।
पृष्ठभूमी एकाएक फरक भयो- एकातिर भुईंमा प्राणको लागि अन्तिम संघर्ष गरेका ती माछाहरु र अर्कोतिर त्यो हँसीलो मुहारका बाबु छोरी। कामना सोच्छिन् , हेर यी माछाहरु सफा-सुग्घर अनी कन्चन पानीमा छन् भनेर के गर्ने ? त्यो चिल्लो भुईंमा पानी पनि के अडिन्थ्यो र ? माछाहरु बुर्लक्क बुर्लुक्क गर्दै मर्न थाले, कुनैलाई त्यही काँचका टुक्राले काटेर मरे। त्यहाँ कस्ले कसलाई सहयोग गर्न सक्थ्यो र ? बस् यती हो, पछि मर्ने माछाहरु अघि मर्ने माछाका साक्षि त भए,तर उनीहरु सबैले नै घुटु घुटु गर्दै प्राण त्याग गरे। कामना सोच्छिन्,हेर यी माछाहरु आफ्नै मुहानमा भएको भए त बाँच्थे होलान नि हैन र ? तर गाह्रो छ ठ्याक्कै भन्न,उनी आँफैलाई प्रश्न गर्छिन ।
कामना लामो सुस्केरा तान्छिन् र सोच्छिन्-खै के भन्ने आफ्नै मुहानको ? हेर यी माछाहरु हेर्दा कस्तो पोक्त देखिन्थे पौडिन, तर त्यो लामो अनुभव तेसै खेर गयो। आफ्नो थलोमा जाने अबसर पाएको भए त केही न केही सुधार त गर्थे होलान् हैन ? ती माछाहरुको पिडादायी मृत्युले उनलाई झन् पोल्छ। खै के भन्ने यो नियती देख्दा त त्यो चुपचाप सहेर आफ्नै मुहानमा बस्ने समुह नै उत्तम हो कि जस्तो लाग्छ उनलाई। हुन पनि हो,आफ्नै मुहानमा भएको भए वातावरण अशुद्द भएर के हुन्थ्यो होला र ? त्यो नभए ओसिलो मुहानको माटो मै बस्थे होलान् अनी एकआपसमा अन्तिम कुराकानी गर्दै जान्थे। तर यहाँजस्तो बुर्लुक्क बुर्लुक्क गर्दै उफ्रनु पर्दैन थियो होला प्राण त्याग्न पनि ।
उनी एकछिन आँखा चिचिम्लिन्छिन् । यो कस्तो संयोग, कहाँबाट यहाँ आइपुगेका हुन्, पत्तो छैन तर यिनीहरुको जीवनको इहालीला समाप्त भयो एक अपरिचित ठाउँमा । उनी यसो भन्दै यिनीहरुको पारिवारिक पृष्ठभूमीतिर जान्छिन् र झन् लामो सुस्केरा तान्छिन् । खै यिनीहरुको पनि त परिवार थियो होलान नि, भएर के गर्ने ? टाढा र छुट्टै परिवेशमा भएपछि यस्तै हो ।
अहिले उनको मुहार एकदम मलिन हुँदै गएको देखिन्छ। कामना आफूले आफूलाई नै सम्झिन्छन्,आखिरीमा म पनि एउटा कुनाको काँच भित्रको पात्र त हुँ । उनी भर्खर घटेको घट्नासँग तुलाना गर्छिन् । भोलि मेरो पनि त यो दिन नआउला भन्न सकिन्न। मलिन र थकितजस्तो अनुहारमा उनी लामो सुस्केरा हाल्छिन् । अनि मनमनै भन्छिन्- सायद जिन्दगी यस्तै हो। अचानक कामनाले एउटा नौलो आवाज सुन्छिन् ,जस्ले उनको ध्यान तान्छ,उतैतीर फर्कन्छिन् । सायद उनलाई कसैले बोलाएको हुनुपर्छ। लाग्छ कि,उनी यो पृष्ठभूमिको दुनियाँबाट केही समयको लागि टाढा गएजस्तो !
Creative thought;
Good