मायिक यथार्थवादको दृष्टिले हेर्दा ‘सुकरातका पाइला’
|प्रस्तावना
यो विश्वमा कुनै कुरा पनि स्थिर छैन। सबै कुरा गतिशील, समय जस्तै। दर्शन, विज्ञानमा नयाँ सिद्धान्त र आविष्कारहरु भइरहेका छन। उसै गरी साहित्य क्षेत्रमा पनि नयाँ विचार र टेक्निक आउनु स्वाभाविक हो। जस्तै, शुरु शुरुमा साहित्यमा य़थार्थवाद भन्नाले यसको एउटै स्वरुप र प्रकृति हुन्छ भन्ने थियो। यथार्थ सधैं इन्द्रियानुभूत र प्रत्यक्ष हुन्छ भन्ने हाम्रो मान्यता थियो। तर आज त्यो भ्रम ठहरिएको छ। यथार्थको स्वरुप एउटै मात्र होइन, यसका अरु पनि रुप हुन्छन भन्ने कुरा प्रमाणित भइसकेको छ। यथार्थताको दोस्रो रुप हो भर्चुअल रियालिटि वा परोक्ष यथार्थता। कसैसँग गरेको भिडिओ च्याट परोक्ष यथार्थताको एउटा उदाहरण हो। अतियथार्थता वा हाइपररियालिटि यसको अर्को रुप हो, यो डिजिटल प्रविधिसँग जोडिएको हुन्छ। यथार्थतावादको झन अर्को स्वरुप छ माजिकल रियालिज्म वा मायिक यथार्थवाद।
मायिक यथार्थवाद— परिभाषा
मायिक य़थार्थवाद, मेजिक रियालिज्म अथवा मार्भेलस रियालिज्म भनेको आधुनिक जगतको यथार्थ स्वरुपलाई मायिक तत्वहरु मिसाएर चित्रित गर्ने आख्यानको नवीन शैली हो। दन्तेकथा, मिथक र रुपकको सन्दर्भमा यसलाई कहिले काहिं फेबुलिज्म पनि भनिन्छ। आख्यान साहित्यमा धेरै प्रचलनमा आएको मायिक यथार्थतावादले वास्तविक जगतमा अलौकिक र जादू जस्ता लाग्ने तत्वहरुलाई उपन्यास र नाटकमा प्रस्तुत गर्दछ। यो स्वैरकल्पना वा फन्टासीको एउटा उपविधा हो।* मायिक यथार्थता भनेको नयाँ विश्वको यथार्थको अभिव्यक्ति हो जसले युरोपेली तर्कसङ्गत सभ्यताका तत्वहरु र आदिम अमेरिकी अविश्वास्य तत्वलाइ तत्कालै जोड्दछ।** धेरैले यसलाई अलौकिक कुराले प्रभावित भारतीय मानसिकतालाई जोडेर हेर्ने गरेका छन।
यो यथार्थवादकै नवीनतम भेद हो। यसले मायिकता र यथार्थताको भेद समाप्त पारिदिन्छ। असम्भव र वास्तविक सांसारिक तथ्यलाई एकै छाउँमा मिलाउनुलाई रुस्दीले म्याजिकल रियालिज्म भने। यसले पाठकलाई भ्रान्ति र यथार्थलाई सँगसँगै डोर्याउन सिकाउँछ। पछि कुन चाहिँ यथार्थ हो अनि कुन भ्रान्ति हो भनेर पाठक अलमलिन्छ। यसले रुढिवादको विरोध गर्दछ, हरेक तत्व विशुद्ध हुनुपर्छ भन्ने भ्रमलाई तोडिदिन्छ र विरोधाभासलाई सँगै उनेर लान्छ, मौलिकता र एकरुपतालाई समाप्त पारिदिन्छ।
म्याजिकल रियालिज्मको प्रयोग सर्वप्रथम १९२० को दशकमा जर्मनीमा भएको हो। शुरुमा यो पदावली चित्रकलामा छोपिएको यथार्थतालाई बुझाउन प्रयोग भएको थियो भने त्यसका दुइ दशक पछि विस्तारै आख्यान साहित्यमा प्रवेश गर्यो।
मायिक यथार्थवादका विशेषता
यसका केही परिचायक विशेषताहरु निम्नप्रकार छऩ
- यथार्थ संरचना
- यही पृथ्वीको कुनै ठाउँ र घटनालाई लिएर कथाको संरचना बन्दछ, जसमा पाठक सुपरिचित हुन्छ।
- जादू, मऩ्त्र, सपना आदि कुराहरु य़थार्थ जस्तै पारेर प्रस्तुत गरिन्छ। तिनीहरुबीचको भेद समाप्त पारिन्छ।
- उपन्यासकारले जादूजस्ता लाग्ने कुराको कुनै व्याख्या गर्दैऩ। उसले जानीजानी थोरै मात्र सूचना दिन्छ।
- सामाजिक विसङ्गतिलाई उदाङ्गो पारेर देखाउँछ। राजनीति र उच्चवर्गलाई आलोचना गर्दछ।
- कथानकको संरचनात्मक ढाँचा अरुको भन्दा बेग्लै, नवीन हुन्छ। पारम्परिक उपन्यासमा पाइने आदि, मध्य र अन्त तत्व हुँदैनन कि त छुट्याउन नसकिने हुन्छ।
स्पेनिस आख्यानकार गेब्रियल गार्सिया मार्केजलाई म्याजिकल रियालिज्मका जनक भनिन्छ। मार्केजको वान हन्ड्रेड इयर्स अफ सोलिच्युड, इसाबेल एलेन्डेको द हाउस अफ द स्पिरिट्स, सलमान रुस्दीको मिडनाइट्स चिल्ड्रेन, टोनी मोरिसनको बिलाभेड, बेन ओक्रीको द फेमिस्ड रोड, अरुन्धती रयको द गड अफ स्मल थिङ्स, लक्षीनन्दन बराको कायकल्प आदि उपन्यास मायिक य़थार्थवादका सुन्दर नमुना हुन। जापानी लेखक हारुकी मुराकामी र भर्खरै नोबेल पुरस्कार पाउने पोल्यान्डकी लेखिका ओल्गा तोकार्जुकले पनि आख्यानमा म्याजिकल रियालिज्मको भरपुर प्रयोग गरेका छऩ।
म्याजिकल रियालिज्मलाई डा. गोविन्दराज भट्टराईले नेपालीमा मायिक यथार्थवाद भनेका छन। अहिले साहित्यको क्षेत्रमा यो नवीन शैली खुबै जनप्रिय बनेको छ। नेपाली साहित्यमा मायिक यय़ार्थवादको पहिलो प्रयोग डायमन समसेर राऩाले उनको ऐतिहासिक उपन्यास सेतो बाघमा गरेका थिए भने यस सिद्धान्तको चर्चा र यसको आधारमा कृतिको मूल्याङकन गर्ने पहिलो समालोचक गोविन्दराज भट्टराई हुऩ। समसामयिक युगका आख्यानकारहरुमा ध्रुवचन्द्र गौतम, गोविन्दराज भट्टराई र अरुले पनि आफ्ना उपन्यासमा यो टेक्निक अपनाएका छन।
- सुकरातका पाइलांमा मायिक यथार्थवाद
यस लेखमा डा. गोविन्दराज भट्टराईको 2064 मा प्रकाशित सुकरातका पाइला उपन्यासलाई मायिक यथार्थवादको दृष्टिले अध्ययन गर्ने प्रयास गरिन्छ।
- पुस्तकको परिचय र पृष्ठभूमि
गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइला 2063 वि.स. मा प्रथम प्रकाशित भएको हो, प्रकाशक ओरिएन्टल प्रकाशन, काठमाडौ। प्रकाशनको पहिलो वर्षमा दुइपटक पुनर्मुद्रण हुनु र विस 2067 सम्ममा चौथो संस्करण आइपुग्नुले यस उपन्यासको लोकप्रियतालाई दर्शाउँछ। नेपालमा लगभग अढाइ सय वर्ष चलेको राजतन्त्रलाई हटाएर माउवादी प्रोलेटेरियटको शासन स्थापन गर्ने उद्देश्यले चलेको सबैभन्दा पछिल्लो जनयुद्ध यस उपन्यासको आधार बनेको छ। यसलाई ऐतिहासिक उपन्यास भन्न सकिन्छ। संक्रमण कालमा राष्ट्रले भोगेको पीडालाई यस उपन्य़ासले खुलासा गरेको छ। सरकारी फौज र माउवादी मिलिसिया बीचमा घमासान युद्ध देशलाई ध्वस्त पारेको थियो। सधैँ जगजगी, देशका जनताले दुबैपक्षको मार झेल्नु परेको थियो । एउटै घरका दुइभाई छोरामा एउटा सरकारी फौजमा छ भने अर्को माउवादी फौजमा। कसैले कसैलाई विश्वास गर्न नसक्ने परिस्थिति बनेको थियो। देशका युवा अन्योलमा, अनिर्णयमा, कतातिर जाने कुनै निश्चयता थिएन। छात्रहरुको आन्दोलन र जुलुस शिक्षाव्यवस्थामा अराजकता, विश्वविद्यालयमा तोडफोड, गुण्डागर्दी—- यही थियो त्यस समयको नेपालको वास्तविक स्थिति।
सुकरातका पाइला उपनायासमा तिनै कुरा पाइन्छन। उपन्यासकारले समग्रमा देशमा दश वर्षसम्म चलेको माओवादी आन्दोलन, त्यस समयको सामाजिक, राजनैतिक, शैक्षिक परिवेशलाई कलात्मक शैली तथा प्रविधिले उपस्थापन गरेका छन। अन्तर्पाठीयताको टेक्निक अपनाएर लेखकले स्थानविशेषको र कालविशेषको घटनालाई हुबहु चित्रण गरेका छन।
- वैचारिक पक्ष
बहुलवादी उदार लोकतन्त्रमा आस्था र विश्वास राख्ने लेखक कुनै पनि निरङ्कुश र स्वैराचारी व्यवस्थाको दूर्घोर विरोध गर्छन। मार्क्सवाद पनि एउटा महाख्यान हो, यसले सशस्त्र संग्राम गरेर प्रोलेतेरियतको डिक्टेटरसिप स्थापन गर्ने लक्ष्य राख्छ। नेपालमा राजतन्त्रलाई समाप्त पारेर माउवादी शासन आउनु भनेको एउटा निरङ्कुश व्यवस्थाबाट अर्को झन निरङ्कुश व्यवस्था आउनु हो। यो त तातो कराहीबाट भर्भराउँदो भुङ्ग्रामा हाम फाल्नु जस्तै, एउटा दैत्यका हातबाट फुत्किएर अर्को राक्षसका फेला पर्नु जस्तै हो।
सशस्त्र संग्राम गरेर प्रोलेतेरियतको डिक्टोटरशिप ल्याउने मार्क्सवाद-माओवादमा लेखक भट्टराईको भरोसा छैन। बन्दुकले होइन कलमले ल्य़ाउने क्रान्तिमा उनको आस्था छ। उनी अनन्तलाई भन्छन——- लड्दा बन्दुकले नलड्नू, शक्तिमा चडेर नलड्नू, मानिस उभिएको जमिनमा उभिएर निशस्त्र भई लड्नू केवल विचारले। (64)
कुनै पनि समाज वा राष्ट्रमा स्वाधीन विचारका दार्शनिक, शैक्षिक गुरु हुन्छन। प्राचीन ग्रीसमा सुकरात मान्छेलाई जुक्ति तर्कले विचार गर्न सिकाउँथे। अन्धविश्वासमा चुर्लुम्म डुबेको व्यवस्थामा सुकरात दोषी ठहरिए। उनले देशका युवावर्गलाई उल्क्याएको भनेर मृत्युदण्ड दिइयो। उसै गरी यस उपन्य़ासको नायक पात्र सुकरात प्राचीन ग्रीसको सुकरातको विनिर्मित रुप आधुनिक सुकरात हो।
सुकरात उपन्यासको एउटा प्रमुख पात्र हुनुका साथै प्रवक्ता पनि हो। उपन्यासकारका भन्नु पर्ने जम्मै कुराहरु, विचार र अवधारणाहरु सुकरातका मुखबाटै भनाइएको छ। वास्तवमा मानव सभ्यताको आद्यभूमि ग्रीस देशबाट सुकरातलाई ल्याउनुमा उपन्यासकारको निश्चित उद्देश्य रहेको छ। लेखकको विचारलाई प्रतिनिधित्व गर्न सक्ने दोस्रो ऐतिहासिक व्यक्ति छैन। यस उपन्यासको सुकरात प्राचीन ग्रीसेली सुकरातको विनिर्मित रुप आधुनिक सुकरात हो। आधुनिक सुकरातको विचार युगानुकुल उत्तरआधुनिक रहेको छ। खण्ड 18 मा उसको विचार सुव्यक्त भएको छ।
“त्यो तत्व विचार हो, किनभने विचार नै जीवन हो, मानिस त्यसैले अडेको छ। एउटा विचार र अर्कोका बीचमा छनोट गर्ने स्वतन्त्रता भनेको जीवन र जीवनबीचको छनोट हो, मनपर्ने छान र बाँच भन्ने हो। तर आज, मृत्यु र मृत्युबीचमा एउटा छनोट गर्नुपर्ने बाध्यता छ। तिमी यो सिद्धान्त मन परेन भन्दा तुरन्तै मर्छौ, मन पर्यो भन्दा पनि ढिलो छिटो मर्छौ। यो चक्र चलिरहन्छ। यसले कहिल्यै जीवन जोगाउँदैन किनभने यसले सधैं मृत्यु उधिनिरहन्छ। म विश्वविद्यालयको एक प्राध्यापक हुँ। म आफ्नो विचार राख्न पाउँछु भने प्रष्ट— मृत्यु र मृत्युबीच रोजाउने सिद्धान्त बन्द गरौं, जीवन र जीवनबीच रोज्न सिकाऔं। वैचारिक स्वतन्त्रता नै व्यक्तिगत स्वतन्त्रताबाट आरम्भ हुन्छ। वैचारिक विविधताबेगर मानव सभ्यता नष्ट हुन्छ। एउटा परिवारभित्र हेर्नोस, कति सोचका, स्वादका , क्षमताका, रुपका, बानीका, लक्ष्यका व्यक्ति हुन्छन, प्रत्येक तर पूर्ण व्यक्तित्व हो।
विविधताको अन्त्य गर्ने हो भने प्रकृतिको पनि अन्त्य हुनेछ, त्यसैले सृष्टिको पनि। जङ्गलभित्र हेरौं— सिस्नु, कालीझार, चिलौने, उत्तिस, सिसौ, तितेपाती, कटुस र बन्सो सबै सबै पलाएकै हुन्छन। उत्तिसले यो वनभरि केवल उत्तिस मात्र भन्न सक्तैन। आकाशमा ठूला ठूला पोल्ने ग्रहपिऩ्डदेखि ससाना आफ्नो प्रकाश र गति नभएका पिन्डहरु पनि सँगै छन। ब्रह्माण्ड सहअस्तित्वले अडेको छ। त्यसै गरी वैचारिक विविधता रहेन भने एक विचार पनि मर्छ, बहुल विचार पनि मर्न सक्छन।“ ( पृ.141)
- सुकरातका पाइलामा मायिक यथार्थवादको अध्ययन
उपन्यासमा मिथक, आहान, सपना जस्ता तत्वहरुलाई यसरी उपस्थापन गरेका छन ती य़थार्थ जस्तै लाग्छन। कति कुरा रुपकात्मक छन। सत्ता र शक्तिकेन्द्रको उनले निर्भीकताका साथ आलोचना पनि गरेका छन। उपन्यासमा कहिले प्लेटो आउँछ र य़त्रो उमेरसम्म किन बिहे नगरी बसेको भनेर दोषी ठहर्य़ाउँदै उपन्यासको नायक सुकरातलाई दण्ड घोषणा गर्छ भने अर्को ग्रीसेली सुकरात अनन्तको कोठामा गएर उसलाई विषपान गर्न लाउँछ। यसरी उपन्यासकारले मायिक यथार्थको धरातलमा उनको उपन्यास सुकरातका पाइलालाई निर्माण गरेका छन।
बर्बरताको सपना, सम्झनाको कालीदह, मध्यरातमा आधी चन्द्रमा, अनेकौँ चिसा सम्झौताहरु, त्यो बन्दुक बिसाऊ पूर्णिमा, सुकरातका पाइलामा, सोपेन्हावरको सम्झनामा, एउटा कृष्णविवर र बाँकी सुनसान—- यी खण्डहरुमा मायिक यथार्थवादको भरपुर प्रयोग भएको पाइन्छ ।
भ्रम र यथार्थ
एक
भ्रमको सिर्जना उपन्यासको शीर्षकबाटै भएको छ। सुकरातका पाइला का ‘सुकरात’ र ‘पाइला’ यी दुबै शब्दसँग भ्रम जोडिएको छ। ग्रीसका दार्शनिक सुकरात र कीर्तिपुरका प्रोफेसर सुकरात यसरी जेलिएका छन पाठकलाई छुट्याउनै हम्मे पर्छ। दुबैजना सुकरात हुनाले कुन सुकरात, कुन सुकरातका पाइला भन्ने भ्रमलाई बोकेर पाठक अघि बढ्छ।
सुकरातका कथनहरुलाई गहिरिएर हेर्दा थाहा लाग्छ यथार्थ र सत्यलाई सधैं भ्रमको बादलले छोपेको छ। ‘सबै आंशिक छ, सबै पार्श्विक छ, एकछेउ मात्र देखिन्छ, अर्कोछेउ अगम्य छ।‘–—सुकरात भन्छ। यसरी यथार्थ वा सत्य अगम्य छ भनेर भ्रमको कुराले उपन्यास जेलिँदै जान्छ।
आठौं खण्डमा विश्वविद्याममा छात्र आन्दोलनको नाममा चलेको गुण्डागर्दी, प्रोफेसरलाई घोक्र्याइमुन्ट्याइ गरेको भुक्तभोगी सुकरातलाई हो कि होइन, साच्चै हो कि भ्रम हो जस्तै लाग्छ किनभने आफूले पढाएका आफ्नै सन्तानजस्ता छात्रले कुनैदिन उसका जिउमा हात हाल्लान भन्ने कुरा उसले सपनामा पनि सोचेको थिएन। उ घटना सम्झिने प्रयास गर्दछ —–
“एकैचोटि सर्ल्याङसुर्लुङ गरेको सुनियो। सेउलाहरु बजे जस्तो, सुकेका पातमा मुढो लडाए जस्तो, घारीभित्र कतै सुकरातलाई सपनामा कसैले मुख थुने जस्तो। उ उठ्न खोज्यो, तर चिसो भूँइमा उसलाई दुइजनाले थिचेका थिए।“
तिनीहरुका कुरा प्रोफेसरले सुन्यो। भन्दै थिए “यही हो मलाई फेल पार्ने, यसलाई सिध्याएरै छोडौ। अर्को महात्मा बोल्यो, घाउचोट चाहिं नगर यार, यो बूढो गुरू हो। जे भए पनि नेपालको सुकरात हो।“
“त्यो साँझ ममाथि कुनै घटना भएको थियो कि थिएन ? … सायद यी कुरा उसका मनभित्रै घटेका थिए कि!“
यो भ्रम थियो कि यथार्थ सुकरातलाई जस्तै पाठकलाई पनि ठम्याउन मुश्किल पर्छ। यसरी भ्रम र यथार्थलाई एकाकार पारिएको छ।
भ्रम र यथार्थ
दुइ
कम्ब्याट ड्रेसमा एक हूल मिलिसिया सुकरातका क्वार्टरमा पसेर उसका तलबको दश प्रतिशत दिनु पर्ने आदेश दिए। सुकरात डरायो।
यो दुस्वप्न र भ्रान्तिले यथार्थको रुप लियो र त्यसले अजिङ्गर भएर फ्रोफेसरलाई खेद्न थाल्यो। (147)
यो भ्रम थियो कि यथार्थ सुकरातले छुट्याउन सकेन। भ्रम भनौँ भने चेकको 12 नं पातो उसका हातैमा थियो। यथार्थ हुँदो हो त त्यो चेकमा रकम लेखिएको हुनुपर्थ्य़ो। उनीहरु के चेक नलिई रित्तै किन जान्थे ? यस घटनाले गर्दा सुकरातको भोक लागेजस्तो हराएजस्तो, निद्रा लागेजस्तो हराएजस्तो भयो। उसलाई जाडोगर्मी दुबै कुरा एकै चोटी भयो।
भ्रम र यथार्थ
तीन
….कोठाको चारैतिर आँखा डुलायो। निद्याएर हेर्दा कोठाको बीचमा सिलिङ्ग पङ्खाबाट कुनै वस्तु तुर्लुङ्ग झुन्डिएजस्तो देख्यो। त्यो देखेर सुकरातको आङ् सिरिङ्ङ भयो। शरीर फुलेर आयो। रौँ ठाडा भए। …. त्यो झुन्डिएको वस्तु अनन्त हो (222) के त्यो झुण्डिएको जस्तो अनन्त नै थियो भन्ने वाक्य बारम्बार दोहोर्याउनाले भ्रम अझ गाढा हुन्छ।
यो सुकरातको भ्रम थियो कि वास्तविकता ?
त्यस दिन उसले अनन्तलाई रातिको खानामा बोलाएको थियो तर ऊ आएन। अनन्त केही दिनदेखि मानसिक रुपले तनावग्रस्त थियो, आत्महत्या गर्ने कुरा पनि भनेको थियो। राति सुकरातले दुइ पटक सपना देखेर तर्छियो। त्यसै कारणले ऊ अनन्तको खबर बुझ्न बिहानको उज्यालो नखस्तै उसको डेरामा पुगेको थियो। डेराको दैलो ढप्क्याएको, अलिकति खुलै थियो। ब्लेक होल जस्तो अँध्यारो कोठामा सिलिङ पङ्खाबाट एउटा मानव आकृति झुन्डिएको देखेर सुकरात डरले काम्दै डेरातिर फर्किन्छ।
यहाँ पनि भ्रम र यथार्थलाई छुट्याउन नसकिने गरी प्रस्तुत गरिएको छ। अनन्त सबैतिर विफल भएको छ। देशको हालातले उसको जीवनलाई पुरै ध्वस्त पारेको छ। जीवनदेखि हरेस खाएर उसले आत्महत्या गर्ने परिवेश बनिसकेको छ। त्यस कारण अनन्तले झुन्डिएर आत्महत्या गर्यो जस्तो लाग्छ। तर पुसको हुस्सेले ढाकेको झिसमिसेमा बूढो सुकरातले ठम्याउन सकेको छैन। यसै पनि सपनामा ऐँठन भएर तर्छिएको मान्छे, उसकै दिमाग ठिक थिएऩ। सुकरातका कुरालाई भ्रम नै मानौं जस्तो लाग्छ किनभने उसले सपनामा विषपान गरेको र गोलीले उसको शरीर प्वालै प्वाल पारेको पनि देखेको छ। मान्छेको मृत्युको कारण एउटा हुन्छ तर यहाँ तीन तरिकाको मरण छ। झुऩ्डिएर, विष खाएर, गोली लागेर कुन चाहिँ सत्य हो भन्ने कुरा आउँछ।
यहाँ पनि पाठक भ्रमित हुन्छ। यसरी भ्रान्ति र यथार्थलाई एकाकार पारेर अरु अनेक श्रृङ्खला पार गर्दै सुकरातका पाइला अघि बढ्दै गएका छन।
भ्रम र यथार्थ
चार
रत्नपार्कको ओल्लाछेउबाट हेर्दा धेरै पर प्रहरी कार्यालयदेखि घण्टाघरसम्म नौलो दृश्य देखे। … मैले हरियाहरिया, पातहरु फुस्रिन लागेको एकमान्छे अग्ला बोटहरु देखेँ। ती अकनासका वृक्षहरु लहरै लहरै पलाएका अझ उता भोटाहिटिसम्म डम्मै देखिए।… त्यसबेला रत्नपार्कक्षेत्र सम्पूर्ण हरियालीयुक्त देखियो।….यति चाँडो यत्रा रुखहरुले कसरी यो रत्नपार्क भरियो। (पृ 39)
अनन्तलाई भ्रम भयो, तर एकैछिन पछि नै यथार्थ थाङ भयो। वास्तवमा अनन्तले देखेका ती रुख थिएनन, थिए केमोफ्लेग गरेका सुरक्षाकर्मी थिए।
भ्रम र यथार्थ
पाँच
अनन्तको पूर्णिमासँगको सम्बन्ध यसै भावनात्मक हो कि प्रेम हो भन्ने कुरा भ्रमात्मक लाग्छ किनभने रविसँग पूर्णिमाको बिहे हुने कुरा दुबैले सहज रुपमा लिएका छन। पूर्णिमाले पठाएको लालुपाते फूल, रुमाल र चिठीको कुराले भने उनीहरुमा गहिरो प्रेमको सम्पर्क थियो जस्तो लाग्छ। पूर्णिमाको आवाज जस्तो सुनेर अनन्त बेलाबेलामा झस्किहरन्छ।
“तिम्रो संघारमा उभिएको छु
तिमीले बोलाएको आवाज हो यो ?” (213)
सपना र यथार्थ
सुकरातका पाइला उपन्यासमा स्वप्नको कुरालाई यथार्थ जस्तै लाग्ने गरी राखिएको छ। अनन्तलाई जीवनको पाठ पढाउने सुकरात आफै भ्रममा छ। नीलिमाले दिएको स्याउ खाएदेखि उसलाई खटपटी हुन थालेको छ, एकोहोरिन थालेको छ। पचास वर्षको उमेरसम्म ब्याचेलर रहेको, हठात उसलाई बिहे गर्ने इच्छा जागृत भयो। के त्यो स्याउमा मोहनी मन्त्र थियो। मोहनी शब्दको उल्लेख उपन्यासमा कतै छैन। तर के ती स्याउ आदम र इभका पालाका थिए ? आदमले चाखेको बोटबाटै हुर्केको बिरुवामा फलेका थिए कि ? भन्ने प्रश्नसूचक दुइटा वाक्यले मोहनी लागेको सङ्केत गर्छन। नराम्रा सपना देख्न थाल्छ सुकरात। उसले के देख्छ सपनामा ?-
एक.
“कहिले म खुकुरीको दापको एउटामात्र फक्लेटो देख्छु। कहिले पूर्णिमाको उज्यालो रातमा पनि आधा काटिएको चन्द्रमा देख्छु। कहिले म एक पाङ्रे रथ देख्छु। यस्ता सपना देख्न थालेपछि म निकै बिथोलिएको छु।“ ( 111)
“त्यो रात सुकरातले एउटा अनौठो सपना देख्यो। सपनामा उसको कोठामा एउटा बूढो मान्छे लट्ठी टेक्तै पस्यो। ….सुकरातलाई लाग्यो त्यो बूढो प्लेटो हुनुपर्छ।“ (112)
प्लेटोले सपना मै उसलाई किन यत्तिको उमेरसम्म बिहे नगरी बसिस भनेर तिरिखिरी पार्छ। प्लेटोले तोकेको दण्ड तिर्न उ राजी हुन्छ अनि भारतीय मुद्रामा तिर्न पाऊँ भनेर बिन्ती गर्छ। प्लेटोको युटोपिया ग्रन्थमा उल्लेखित उचित समयमा रोपिएको बिऊबाट मात्र स्वस्थ सन्तान जन्मिन्छ भन्ने कुरालाई सङ्केत गरिएको छ।
सपना र यथार्थ
दुइ
सुकरातलाई एकै रातमा दुइखेप ऐठन हुन्छ, सुत्नै सक्तैन।
“पहिलो पल्ट उसले सुकरातलाई अनन्तको कोठामा देख्यो। सुकरातले अनन्तलाई हरियो झोल टम्म भरिएको एउटा कचौरा दिँदै भन्यो, लौ यो पान गर। मैले पनि यसै गरेको थिएँ।
नभन्दै अनन्तले कचौरा समात्यो, एकपल्ट हँसिलो अनुहार पारेर सुकरातलाई हेर्यो अनि त्यो घुटुकघुटुक पियो, कचौरा रित्यायो र पुर्लुक्क लड्यो। एकैछिन उसका हातगोडा छटपटाए अनि तनक्क तन्केर आँखा बन्द गर्यो, अनि चिरनिद्रामा पर्यो।”( पृ.216)
सुकरात पढेको पाठकलाई त्यो झोल ‘हेमलक’ भन्ने विष हो, त्यही विष सुकरातले पान गरेका थिए भन्ने थाहा हुन्छ।
“सपनामा उसले तनक्क भएर जमिनमा लडिरहेको अनन्तको लास देख्यो।… त्यो शरीर गोलीले छेडेर प्वालैप्वाल थियो। ती प्वालबाट आलो रगत चुहिरहेको थियो। (पृ.217)
त्यो डरलाग्दो दृश्य सपनाको थिय़ो तर यथीर्थ जस्तो लागेर सुकरात तर्सिन्छ, म पाठक पनि झस्किन्छु ।
भाग्य र स्वर्ग
भाग्य स्वर्गका कुरा भ्रमात्मक भए पनि मान्छेले विश्वास गरिआएका यथार्थ हुन। सुकरातका पाइलामा लेखकले भाग्य र स्वर्गका कुरा सही ठाउँमा सही तरिकाले उपस्थापन गरेका छन। केही उदाहरण—
यो संसारबाट टाडा भएपछि मेरो अर्को संसार सुखद हुन सकोस (188)।
मलाई स्वर्गसम्म पुग्न साथ देऊ, हे आमा । (201)
त्यो मृतात्मालाई स्वर्गबाट किन वञ्चित गर्ने धम्की आइरहन्छ? (204)
आज म सम्झन्छु, तिमीले त्यो लालपाती समातेको भए हाम्रो भेट हुन्थ्यो होला। (121)
इस्किलस देवलाई तपाईँहरुले एउटा भाले चढाउनु होला, नबिर्सीकन। (23-189)
युनिभर्सिटिको प्रोफेसर, प्रकाण्ड विद्वान सुकरातले सारा विश्वको ज्ञानलाई आत्मसात गरेको छ तर भाग्य र लेखान्तका कुरामा भने ऊ भ्रमित छ। एउटा उक्ति जाँचौ. थाहा हुन्छ।
एक प्रकारले म भाग्यवादमा निकै भरपर्छु। लेखान्त पनि छ कि जस्तो लाग्छ। (103)
आलोचना
सत्तापक्ष, शक्तिकेन्द्र अथवा महाख्यानको आलोचना पनि मायिक यथार्थवादको विशेषता हो किनभने तिनले सधैँ भ्रमको परिवेश सिर्जना गर्दछन। विश्वासे मिलय गरि तर्के बहुदूर एउटा आहानै छ। यसले विश्वास गर, तर्क नगर भन्छ। उपन्यासकारले नित्सेले ईश्वरको मृत्यु घोषणा गरेको प्रसङ्ग ल्यएका छन भने मार्क्सवादी महाख्यानको पनि आलोचना गरेका छन। अंग्रेज कवि विलियम ब्लेकको एउटा कवितामा हे त्रासद व्याघ्र, जुन प्रभूले भेडाको पाठो सृष्टि गरे के तिनै हातले तिम्रो पनि रचना गरे त ! भनेर ईश्वरको कार्यमा आश्चर्य प्रकाश गरेका छन। उपन्यसका पातैपिच्छे सत्तापक्ष, शक्तिकेन्द्र र महाख्यानको आलोचना पाइन्छ। यहाँ केही आलोचनात्मक खरा वाक्य उदाहरणका लागि प्रस्तुत गरिन्छ ( स्थानाभावले प्रसङ्ग व्याख्या गरिएऩ)।
- माओवाद ठिक छ भन्दा पनि तिमी मर्छौ, ठिक छैन भन्दा पनि तिमी मर्छौ। (142)
- नेपालमा सबै हत्यारा, अपराधी र भ्रष्टाचारी झनझन मौलाएझै ईश्वरको राज्यमा सबै अत्याचारी झनझन ठूला व्य़क्ति भएका छन। (72)
- सरकारले मानवजाति निर्यात गर्दै थियो। यसमा गौरव लिँदै बेलाबेला वक्तव्य पनि निकाल्थ्यो। (93)
- यो उपद्रव मच्चाइरहने माओवादी र यस्ता दृश्य हेरिरहने सरकार दुबै नालायक हत्यारा हुन। (पृ. 117)
रुपक
एक
मेरो डेरा अरुकासँग नमिल्ने हुन्छ। मेरो कोठा घाम नछिर्ने, पानी नपस्ने, अन्धकार र प्रकाशदेखि धेरै टाढा, दुख, पीडा र चिन्ताहरुले नछूने एउटा सीमारहित शून्यजस्तो हुनेछ। (197)
यहाँ अनन्तले डेरा सर्ने कुरालाई घुमाएर द्यर्थबोधक पारेको छ। निशालाई लाग्छ अनन्त ज्वरोले प्रलाप बक्तैछ।
रुपक
दुइ
भित्रभित्रै मनको गहिराइमा ऊ एउटा खाडल खन्दै थियो। एक्लै, गोप्य, एउटा ओडारजस्तो अन्तरजगत। एकाकीपनको घोर निराशाको। एकाकीपनको घोर निराशाको, सूर्यास्तको, कालो रातको। (198)
हामी सबै आआफ्ना कोठाका अन्धकारमा झुण्डिएर समाप्त भइरहेछौं सुकरातदेखि आजसम्म। (222)
आज पनि एउटा डरलाग्दो सपना देखें। म यही ढुङ्गामाथि थिएँ।जगरबगर ढाकेर खोलामा बाढी आयो। ढुङ्गा-मुढा, काठपात बगिरहेका थिए। कालो लेदो पतपताइरहेको थियो। पीरि तर्छु भनेर तिमी तल ओर्लियौ। म भन्दै थिएँ त्यो साँघुबाट तरौं अनन्त, म पनि सँगै आउँला। तर तिमीले सुनेनौ, त्यो कालो नीलो, समेल नदीमा पस्यौ। तिम्रो घाँटीसम्म पानीले छोपिसकेको थियो। तिमी पारी तर्न सक्तैनौ जस्तो लाग्यो, तिमी वारी फर्किन पनि सक्तैनौ जस्तो लाग्यो।(179)
म सुकरातका पाइला पछ्याउँला (पृ. 185)
रुपक तीन
रहस्यात्मक भौतिक चरित्र अनन्त र उसको डायरी
मान्छेलाई सधैं रहस्य र भ्रममा पार्ने विषय नै मृत्यु हो। एकदिन मर्नुपर्छ भनेर जान्दा जान्दै पनि मान्छे कहिल्यै मर्दिन जस्तो आचरण गर्छ। कतिपयले अमर हुने चाहना राख्छन। उपन्यासको शेषको खण्डमा मृत्युको कुरा भिन्न भिन्न प्रकारले व्याख्या गरिएको हुनाले पाठकले मायाजालमा परेको अनुभव गर्छ।
सुकरातको कुरा पहिले नै भनियो। अब अनन्तको चरित्रतालाई हेरौ। गाउँमा छउञ्जेल उ ठिकै थियो, सहर छिरे पछि अनिर्णयमा अल्झिँदै गयो। जीवनको मोहभङ्ग भयो, आत्महत्या गर्नेमा पुग्यो। अमरत्वको चाहना गर्दछ। कुनै ठूलो लेखकले उसलाई आफ्नो कालजयी कृतिको नायक बनाई देओस भन्ने आशा गर्दछ। के म ग्येटेको वर्थर हुन सक्छु ? जे होस, अनन्त अमर भएको छ :
- उपन्यासको नायक भएर
- अध्ययन र सिर्जना कर्मले
अनन्तले आत्महत्या विषयमा गहिरो अध्ययन गर्यो। विश्वका ठूला ठूला लेखक, विज्ञानी र राष्ट्रनेताले किन र कसरी आत्महत्या गरेका थिए त्यसको विवरण उसले आफ्नो डायरीमा लिपिबद्ध गर्न सक्षम भएको छ। उसले लेख्यो————
The great tragedy of life is not death
But what dies inside of us while we live.
अनन्तको डायरीका पहिलो पातामा लेखिएका शब्दहरुमा जीवन दर्शनको सारतत्व रहेको छ। उसले द कम्प्लिट म्योनुअल अफ सुसाइड, लेट मि डाइ बिफोर आइ वेक, द एनिग्मा अफ सुसाइड, म्याडम बोभारी, अर्डिनरी पिपुल, म्यान अगेइन्स्ट हिम्सेल्फ, मौर्निङ एन्ड मेलानकोलि, द सेभेज गड: अ स्टाडि अन सुसाइड जस्ता ग्रन्थहरु अनन्तले अध्यय़न गरेको मात्रै छैन तिनको निचोड पनि डायरीमा लिपिवद्ध गरेको छ। विफलता, हताशा आत्महत्याको कारण होइन किनभने जीवनमा सफल भएका व्यक्तिले पनि आत्महत्या गरेका छन। यसको कुनै व्याख्या छैन। यो एउटा रहस्य हो। (200) उसले अस्तित्ववादी दर्शन पढ्यो, कामु. सार्त्र, किर्केगार्ड, हाइडेगर सबै पढ्यो, पढ्यो नित्से पनि।
मृत्युको बारेमा कसले के भने अनन्तले उसको डायरीमा लिपिवद्ध गरेको छ, जस्तै —-
मन लागुञ्जेल संसारमा बस, नलागे जाऊ तर गुनासो नगर—स्टोइक दार्शनिक एपिक्टेटस।
(पृ 202)
यो जगतमा आउने एउटै द्वार छ, यहाँबाट निस्कने हजार—- सेनेका। (पृ 202)
सिल्भिया प्ल्याथ र सारा टिड्जेलका कविता, जोन ब्यारिम्यानको द ड्रिम सङ, दोस्तोएभस्कीको द पोसेस्ट, सोपनहावरको द वर्ल्ड याज विल एन्ड आइडियाज, गेटेको द सरोज अब् यङ वर्थर ग्रन्थ उसले छिचोलिसकेको छ।
यी र यस्ता तात्विक ग्रन्थ पढ्ने अनि त्यसको आधारमा साहित्य सिर्जना गर्ने, सुकरातको प्रिय शिष्य अनन्तले कसरी आत्महत्या गर्न सक्छ भन्ने प्रश्न गर्न नपाउँदै डायरीको पुछारतिर लेखिएका यी कुराले पाठकलाई फेरि भ्रममा पार्छन—मृत्यु एउटा मात्र रोगको होइन, सारा रोगको अचुक औषधी हो। मृत्यु अत्यन्तै सुरक्षित स्थान हो। यसदेखि डराउनु पर्दैन, बरु यसको खोजी गर्नु पर्छ। (206)
अनन्तको डायरीले उसलाई अमर पारेको छ, एन फ्राङ्कलाई पारे जस्तै। डायरीमा अनन्तले धेरै ग्रन्थहरुको निचोड, जीवनको सार प्रस्तुत गरेको छ। विशेष गरी मृत्यु विषयको तथ्यपरक मननयोग्य यो एउटै लेखका लागि नेपाली वाङमयमा ऊ बाँचिरहने छ अनन्तकालसम्म।
अनन्तको डायरी भएको मिनियापोलिसको पुलबाट शीर्षकको 25 औ खण्ड पढ्दा पाठकको मुटु डरले ढुकढुक गर्न थाल्छ। चित्रमा देखिएको, पुलबाट हाम्फादै गरेको त्यो अस्पस्ट अनुहार अनन्त नै हो भन्ने भान हुन्छ। रुममा पङ्खामा झुण्डिरहेको आकृतिको झझल्कोले पनि अनन्तको भुत ठानेर पाठक तर्सिन्छ।
सुकरातले विष पियो। उसलाई त्यो मृत्युदण्डका रुपमा शासकले दिएको थियो। अनन्त पनि कुनै न कुनै प्रकारले विष पिउन विवश छ। अनन्तलाई विष पिउँन बाध्य गराउने शक्ति अदृश्य छ। किनभने अनन्तले ‘चाखी हेरौं’ भनेर विष पिएको होइन। कसैले पनि रहरले विष पिउँदैन। विष पिएको, पासो लागेको, गोली ठोकेको वा नदीमा हाम् फालेको कुरा उपन्य़ासमा स्पस्ट रुपमा पाइदैन। यी सबै भ्रमात्मक छन।
प्रेम, बिहे र अन्य
एउटै शब्द वा वाक्य बारम्बार आउँदा त्यसले ठूलै सङ्केत वहन गरेको हुन्छ। यस उपन्यासमा अब त कहिल्यै पनि हाम्रो भेट हुँदैन होला भन्ने वाक्य धेरै पटक (पाँच) प्रयोग भएको छ। लालुपाते को विशिष्ट प्रयोगले पनि गहिरो भावनात्मक सम्बन्धलाई सङ्केत गर्छ। यस उपन्यासमा प्रेम वा बिहेका प्रसङ्गले पाठकलाई भ्रममा पार्दछ। उपन्यासमा प्रेमिक जस्ता देखिने तीन जोडी छन, सबै भ्रममा। गोपी र निशाको प्रेम टाइमपास जस्तो लाग्छ किनभने गोपीले आफू विवाहित भएको कुरा ऩिशाबाट लुकाएको छ। सुकरात र नीलिमाको बूढेसकालको कुनै आवेग अनुभूतिबेगरको लिभ इन टुगेदर । अनन्त र पूर्णिमामा प्रेम गहिरो जस्तो लाग्छ तर पछि भताभुङ्ग हुन्छ।
मिथक
कतिपय मिथक पनि मायिकतापूर्ण हुन्छन। मिथकको प्रयोगले आख्यानमा नयाँ मात्रा थपिन्छ। सुकरातका पाइलामा ग्रीसेली मिथकको प्रयोग मननयोग्य देखिन्छ। यसमा एस्किलस देव, सुकरात, प्लेटो, आदम-इभ, गोदो, सिसिफस, डायना देवीको प्रसङ्ग जोडेका छन।
लेखकले उनको प्रस्तुत उपन्यासमा चित्रण गरेका दृश्यहरुले पाठकलाई कुन यथार्थ कुन भ्रम ठम्याउन मुश्किल पर्छ। यथार्थ र भ्रमलाई एकाकार पारेर माया वा लीला जस्तो परिवेशको सिर्जना हुन्छ। त्यसैले तिनलाई मायिक यथार्थवादमा समेट्न सकिन्छ।
डा. गोविन्दराज भट्टराई समसामयिक नेपाली आख्यान साहित्यलाई नवीनतम दृष्टि दिँदै विश्वआख्यानको हाराहारीमा पुर्याउने, साथै विश्वसाहित्यको मूलधारमा नेपाली साहित्यलाई मर्यादित रुपमा स्थापन गराउने क्षमता भएका उर्जाशील सर्जक हुन। उनी नेपालको सङ्क्रमण कालको वास्तविक इतिहासलाई विश्वका सामुन्ने जस्ताको तस्तै राखिदिन सक्षम भएका समसामयिक नेपाली साहित्यका सबैभन्दा निर्भीक लेखक हुन। उनले निरङ्कुशवादी शक्तिकेन्द्र र तत्वहरुलाई कहिले व्यङ्गप्रहार गरेर धराशायी पारेका छन भने कहिले सम्मुखबाटै खर्लप्पै छिनाएका छन। सुकरातका पाइलामा खण्डैपिच्छे भनेजसो यसको प्रमाण पाइन्छ।
यति मै सकियो ठानेर बिसाउन चाहेको थिएँ तर सकिएको रहेनछ, सुकरातले आपत्ति गरे। सन्दर्भमा सुकरातसँगको सम्वाद पनि थप्न चाहन्छु।
सुकरातसँग सम्वाद
दस दिन जति भयो म सुकरातका पाइला अध्ययनमा लागेको। आज दिउँसोको खाना पछि बैठक कोठाको सोफामा सुकरातका पाइलालाई मायिक यथार्थवादको दृष्टिले हेर्ने प्रयास गर्दै थिएँ। दैलो ढप्क्याएको मात्र, आधा खुलै थियो। लकडाउनको समय, कोही आउने होइन।
एउटा मान्छे सरासर भित्र पसेर मेरा अगाडि ठिङ्ङ उभियो। होचो होचो तालुखुइले अधबैसे मान्छेले हेन्सेक गर्न दाहिने हात अघि बढायो अनि फेरि के सोचेर हो तत्कालै हात पछि सारेर नमस्कार गर्यो र भन्यो, ‘म सुकरात’।
सुट-टाइले सजिएको छ, नेपाली बोल्छ, नाम भन्छ सुकरात ! — मैले ट्वाल्ल परेर उतिर अविश्वासको नजरले हेरेको देखेर मुसुक्क हाँसेर उसले भन्यो, म त्यो ग्रीसको दार्शनिक पण्डित सुकरात होइन। म कीर्तिपुर विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाउने प्रोफेसर, अर्कै सुकरात हुँ, तपाईँले पढ्दै गरेको पुस्तकको एउटा चरित्र।
यतिञ्जेलमा आगन्तुक मेरा सम्मुखको सोफामा बसिसकेको थियो। उ पुन बोल्न थाल्यो— हेर्नोस, ग्रीसका महान सुकरातले हामीलाई कुनै पनि कुरालाई तर्कले जाँचेर स्वीकार वा अस्वीकार गर्नु भनेर विचार गर्ने कला सिकाए, स्वाधीनताको पाठ पढाए। उनी सारा विश्वका सर्वकालका गुरु हुन। तीन हजार वर्षदेखि हामी सुकरातलाई पछ्याइरहेका छौं। सुकरातले हेमलक पिए, तर उनी मरेनन, अमर भए। रक्तबीज भएर सुकरात जन्मिरहेका छन हरेक युगमा, आज पनि …………..
म सुनिरहेको थिएँ, घरि घरि समर्थनमा टाउको हल्लाउँदै थिएँ।
अनि भन्नोस त, सुकरातका पाइला के कस्तो कृति हो ?
मैले भन्न खोजें तर मेरो बोली निस्केन। म अकमकाएको देखेर आगन्तुक बोल्यो, अध्ययन पुरा भएको छैन……..
देउसीको भाकामा उसले भन्दै गयो….
हामी यसै आएको होइन, कसैले पठाएको। मौका छोपेर आफ्ना कुरा पनि राख्ने ध्येयले यहाँ आएको हुँ। आन्तराष्ट्रिय समकालीन सिर्जना पत्रिकामा तपाईको लेख पढें। लेख राम्रो लाग्यो तर एउटा सिङ्गो पाटोलाई नै तपाईले छोडनु भएको रहेछ। हामीले अभिघात भोग्यौं, देशले अभिघात भोग्यो। खोइ अभिघात तपाईको लेखमा ? अध्ययन पुरा भएको छैन। यी भए तपाईको लेखका कुरा। अरु एउटा कुरा भन्नै पर्ने छ। त्यो हो चरित्रताको अभिघात। हेर्नोस न, म युनिभर्सिटिको प्रोफेसर । मलाई पनि उपन्यासको पात्र बनाएर भट्टराईले मेरा पाता कसेर गोर्खे लौरी हालेर चटपटाउन नसक्ने पारिदिएका छन। मुखले उत्तरआधुनिकताका, बहुलबादी विचारका कुरा ठिकै गर्छन तर आफैं महाख्यान बनेका छन। हेर्नोस त, म सुकरातको कस्तो बिजोक पारेका छन। म अनन्तको हाल खबर बुझ्न एकाबिहानै उसको कोठामा पुगेको थिएँ। अनन्तलाई बोलाउन चाहन्थें म, उसलाई झकझक्याएर ब्युँझाउन चाहन्थें तर स्वैराचारी आख्यानकार टुप्लुक्क आइपुगे र हकार्दै डरले काम्दै क्वाटरमा जा भन्ने हुकुम सुनाए। गुण्डाकेटालाई मलाई ङ्याक्न र बेस्सरी भकुर्न लगाए, आज पनि छातीमा च्वास्स च्वास्स दुख्छ। एकदिन मुखमा पट्टी बाँधेका सन्त्रासवादी पठाएर जे जति कमाएको जेथो सबै लुटेर लगे। म पुलिसमा रिपोट गर्न खोज्दै थिएँ त्यहाँ पनि वाधा गरे। मलाई ती सबै भ्रम, सपना हुन भनेर कठगडामा उभिएर बयान दिन लगाए, सद्दै मान्छेलाई पागल बनाए। मैले आख्यानकारलाई केही भनिन किनभने अचानाको पीर खुकुरीले बुझ्दैन। तपाईँ आख्यानकार होइन, आलोचक अरे भन्ने सुन्या छु, त्यसैले तपाईमाथि कलिकति भरोसा छ……….
‘खत्रक्क’– एउटा आवाज। म झसङ्ग भएर ब्युँझे। मेरा हातको किताप भूँइमा खसेछ। अघिल्तिरको सोफा खालि थियो।
अध्ययन पुरा भएको छैन ———— मेरा मानसपटमा यी शब्दहरु प्रतिध्वनित भइरहे।
————————————————————————————————————–
- उत्तरआधुनिक विमर्श गोविन्दराज भट्टराई, रत्न पुस्तक भण्डार काठमाडौ, नेपाल
- International Journal of Creative Research and Thought (IJCRT)
- Volume 6, Issue 4 November 2018.
- wikipedia
- ***************************************************
*Magical realism, magic realism or marvelous realism is a style of fiction that paints a realistic view of the modern world while also adding magical elements. It is sometimes called fabulism, in reference to the conventions of fables, myths and allegory. Magical realism, perhaps the most common term, often refers to fiction and literature particular, with magic or the supernatural presented in an otherwise real world or mundane setting, commonly seen in novels and dramatic performances. It is considered a subgenre of fantasy. Magical realism, magic realism or marvelous realism is a style of fiction that paints a realistic view of the modern world while also adding magical elements. It is sometimes called fabulism, in reference to the conventions of fables, myths and allegory. Magical realism, perhaps the most common term, often refers to fiction and literature particular, with magic or the supernatural presented in an otherwise real world or mundane setting, commonly seen in novels and dramatic performances. It is considered a subgenre of fantasy.
**(Magical Realism) “ is an expression of the new world reality which at once combines the rational elements of the European super civilization and the irrational elements of a primitive America.
यो विस्तृत, प्रति विन्दुमा अर्थ स्पष्ट पारिएको समालोचना विधामा लम्कन चाहने सिकारुको निम्ति पाठ स्वरुप गहन विषय सरल भाषामा,,, चित्तबुज्दो हार्दिक बधाइ नमन
नेपाली साहित्यका एक समालोचक श्री ज्ञानबहादुर छेत्रीले मायिक यथार्थवादको सिद्धान्तका आधारमा नेपाली साहित्यका विद्वान लेखक डा गोबिन्दराज भट्टराईको सुकरातका पाइलामाथि सम्यक् अध्ययन गर्नुभएको रहेछ। मलाई लाग्छ यता भारतमा विभिन्न वाद, सिद्धान्त र प्रणालीमा आधारित समालोचना त गरिएका छन् तर यो माय़िक यथार्थवादको आधारमा व्याख्या विवेचना गरेिएको पहिलो समालोचना हो। स्वैर कल्पना र अति यथार्थवादको सिद्धान्त नजिकको यो मायिक यथार्थवादका आधारमा अरू धेरै कृतिको अध्ययन गर्न सकिन्छ। श्री ज्ञानबहादुर छेत्रीज्यूले आदरणीय गोबिन्दप्तराज भट्टराई जस्ता गुनिला गहन अध्येता तथा हामी भारतमा साहित्यमा काम गर्नेका निम्ति साह्रै हितैषी र नजिकका सर्जकको कृतिमाथि .यस्ता नौलो सिद्धान्तका आधारमा समालोचना गरेर उहाँले गरेको गुणहरूलाई कृतज्ञता प्रकट गर्ने कोसिस गर्नुभएको छ। हामी भारतमा बस्ने सबै साहित्यकारका तर्फबाट छेत्रीज्यूलाई धन्यवाद टक्राउँदछौं। यसका साथै भारतका पनि कुनै नेपाली कृति विशेषगरी उपन्यासमा यस्तो मायिक यथार्थवादका आधारमा व्याख्या- विवेचना गर्नसक्नु हुनेछ। यसका निम्ति उहाँले यस्तोनयाँ किसिमको समालोचना लेख्नलाई ढोका खोल्नुभएको छ। मायिक यथार्थवादमाथि उहाँको यो लेख भारतमा पहिलो प्रयास हो भनी किटान गर्दछु।
poudyal_navin@yahoo.com
नेपाली साहित्य निकै कलिलो विरुवा हो। भर्खर भरिला फल लाग्न थालेको छ। नेपाल भारत दुवैतिरका साहित्यकारको मनमा यो बगानलाई सदैब नवीन तथा सुवासित पारौंला भन्ने छ। यतिबेला सर्बप्रथम त नेपाली साहित्य बागमा आफ्नै परम्पराका बोटलाई जोगाइरहनु पर्दछ। नत्र यतिखेर विस्व-वजारले पिटेर हाम्रा प्राचीन गाउँहरुमा रैथाने बीउ-विजन मासिए जस्तो स्थिति आउन सक्छ । त्यसैले आफ्नो आर्जन जोगाउदै विस्वका अनेक बियाडमा हुर्काइएका नया कलमी बिरुवा पनि छानेर लगाउदै जानुपर्छ । नत्र हाम्रो दृस्टि वैस्विक चेतनारहित हुन जान्छ। त्यसले साहित्य उन्नति अवरुद्ध हुन जान्छ। हामी विस्वसाहित्यमा प्रस्तावित नयाँ नयाँ कुरा वा प्रवृत्ति चिन्न नसक्ने हुन्छौ, घोकाइयेका पाठ मात्रै कण्ठ पारेर सुनाउने विद्यार्थी जस्ता। विज्ञान र प्रविधिले जस्तै साहित्यले पनि नयाँ जगत देखाइरहन्छ । कल्पनाले पनि निरन्तर नयाँ क्षेत्र पतालगाइरहेको हुन्छ। त्यसले गर्दा आफ्नो साहित्य भण्डारलाई पनि नयाँ दृष्टिले हेर्न समर्थवान हुनुपर्दछ।नारीवादी सिद्धान्त आयेपछि हाम्रै कर्मका कमी थाहा पाउन थाल्यौं। परिवृत्तीय चेतनाले गर्दा आर्को साहित्य चिन्ने भयौं। साइबर संस्कृतिले एक भिन्न जगत उघारेको छ। यस्ता अनेक कुरा छन्, अनन्त छन्। नयाँ कुरा आइररहन्छन जसले हाम्रो कमी देखाइरहन्छन,नयाँ विकल्प देखाइरहन्छन । यसरी साहित्यमा पनि केही स्थायी मूल्य छन्, केही नित्य नवीन।
प्रस्तुत आलेखमा आसामका सक्रीय एबम जिज्ञासु साहित्यकार ज्ञानबहादुर क्षत्रीज्यूले एक नयाँ स्वरूपको परिचय चर्चासंगै केही दृष्टान्तहरू पनि दिनु भएकोरहेछ । यो मैले पढ्ने गरेको साइट हो। सन् १९८२ का नोबेल पुरस्कार विजेता कोलम्बियाली लेखक मार्खेज्ले भन्ने गर्थे “अतियथार्थवाद भन्ने कुरा सडक सडकमा छ” । नभन्दै अहिले आएर हेर्दा हाम्रा कथा पुराणादिदेखि लिएर आधुनिक साहित्यमा पनि कति कति छ। अझ त्यो कुरा ता विस्वकै प्राथामिक्क्कालीन साहित्यको जग नै त्यही हो। तर नाचिनेसम्म त्यसलाई बोलाउने नामपत्ता नलागेसम्म हामीले नचिनी दबाइ खाए जस्तै हो। फेरी हाम्रो साहित्य-क्षेत्र नै एक कुमारी भूमी हो। यहाँका रत्नादिको उत्खनन भएको छैन । यसको ठुलो क्षेत्रमा या परम्परावादी रुढता रोपेका छौं या भौतिकवादी अन्धता। नया कुरा रोप्नु पर्ने जमिन ढाकेर सारा । त्यसो भन्दैमा सबै नयाँ पनि राम्रो छैन छान्नु पर्छ, सबै पुरानो पनि राम्रो छैन, छान्नु पर्छ।
निकै वर्ष अघि सेतो बाघ पढ्दैजाँदा मैले डायमन शमशेर राणाज्यूको अद्भुत शक्ति देखें र मार्केज साधेर त्यसलाई नेपाली समालोचनामा प्रस्तुतगरेको थिएँ । मलाई त्यसले छोड्दै छोडेन र आफ्ना उपन्यासमा पनि प्रयोग गरेको थिएँ। एकदिन ज्ञानबहादुरजीले पता लाउनु भएछ र त्यसको चर्चा प्रकाशमा ल्याउनु भयो। उहाँलाई बधाई छ। यस्तो कुराको निरूपण गरी अध्येता विद्वान भाइ नवीनले पनि ज्ञानजीको अग्रतालाई पुष्टि गरिदिनु भएछ। उहाँलाई पनि बधाई छ। ज्ञानजी नवीन चेतनाको अविस्कार तिर्सनामा हुनुहुन्छ । नेपाली साहित्यलाई नयाँ आँगनमा ल्याउने अरु मार्ग छैन, केवल नवीन पथको अध्ययन विश्लेषण अनि संकीर्णताबाट बिमुक्ति। त्यसैले धरणिधर कोइरालाले उसैबेला भन्नु भयो– पढ़ पूर्व र पश्चिम उत्तरका, अनि दक्षिणका कविका कविता’.
त्यसो त कुनै प्राप्ति फाइनल होइन। इतिहास मार्गमा भेटिएको एक नवीन चौतारो मात्रै । हाम्रै अज्ञान जंगलमा छन् अनेक जडी बुटिहरु तर एउटा फेला पारेर त्यसैलाई अन्तिम हो भन्ने साथीहरु छन् जो कहीँ पनि पुग्ने छैनन। त्यस्तो बद्ध मार्गलाई cul-de-sac भनिन्छ जो हाम्रै वरिपरि छ। कति साथीहरु त्यतै हरायएका छन्।
यसपालि आसामकै युवा स्रस्टा छत्रमान सुब्बाले नेपाली अनुवाद गरेको लक्ष्मीनन्दन बराको कालजयी उपन्यास कायाकल्पको पाण्डुलिपि पढेर म आस्चर्यचकीत छु। मलाई लाग्यो यी सुविख्यात असमेली लेखक लक्ष्मीनन्दन बराको कोलम्बियाली स्रस्टा मार्खेजसित भेट हुनु पर्थ्यो। दुवै समकालीन थिए। तर होइन एक स्रष्टाले आफै विस्वचेतना तान्दो रहेछ,डाइमन्ले झैँ। नेपाली साहित्यमा अरु कतिकति छन्– सम, विजय मल्ल, ध्रुवचन्द्र, आइ बी राई।
निस्कौं अब यी सास थुन्ने पुराना कोठाका झ्याल ढोका भत्काएर नयाँ आँगनमा निस्कौं। अन्त्यमा यत्ति लेख्ने ज्ञानजी र देख्ने र नवीन भाइ दुवैलाई बधाई। छाप्ने प्रिय नेपाली पोस्टलाई पनि।
Ashaar 7 gate 2077
Kathmandu
Glad so much.Congratulations.