आत्मकथाको भीडमा सक्कली किताब
|
विदेश बसेर चाहेको नेपाली किताब समयमै पढ्न पाउनु दुर्लभ आनन्दको बिषय हो । यसको मर्म किताब पढ्ने बानी भएका विदेश बस्नेलाई मात्र थाहा हुन्छ । पढ्ने बिषयमा पनि नेपाली मिडियाको कर्मकाण्डी प्रवृत्तिले सामान्य रूपमा लिएको तर निकै खँदिलो किताब हात पार्ने मान्छे त भाग्यमानी नै हो । यस्तै अनुभूति भयो पंक्तिकारलाई डा. शङ्कर प्रसाद उप्रेतीको किताब जीवन एक सपना हात पर्दा ।
एक त पंक्तिकारको बाल्यकालदेखि नै पूर्वी तराईमा नाम सुनिएका डाक्टर र पछि प्रजातन्त्र स्थापनापछि ‘बोल्ड’ कांग्रेस सांसदको छवीसमेत बनाएका कारण उनको किताब सीमित व्यक्तिबीच प्रतीक्षाको बिषय बनेको थियो । अलिक पछि लोकतान्त्रिक आन्दोलनताका स्थापित नयाँ ऊर्जाका लेखक डा. सञ्जीव उप्रेतीका पिता पनि हुन् भन्ने भएपछि त यिनीप्रति आकर्षण अझ बढेको थियो ।
नेपालमा उनको किताब प्रकाशनको खबर पाएपछि पंक्तिकारले चासोका साथ मगाएर पढेको हो । हिमाल खबरपत्रिकाका पूर्व संवाददाता तथा मेरा पुराना मित्र श्रीभक्त खनालले यो किताब हात लगाइदिएका थिए ।
इमान्दार कांग्रेस कार्यकर्तासमेत रहेका झापाका श्रद्धेय समाजसेवी डा. शङ्कर प्रसाद उप्रेतीले आफ्नो आत्मकथा जीवन एक सपना करिब दुई बर्षअघि सार्वजनिक गरेका हुन् । उनको यो पुस्तक लेखन, राजनीति वा समाजसेवामा लाग्नेहरूका लागि मात्र नभएर पूरै पठित समाजका लागि उदाहरण बन्न पुगेको छ, धेरै अर्थमा–पाठकले मनमा लिएमा । डा.उप्रेतीको यो किताब अहिले आत्मकथा लेख्न होडबाजी चलिरहेको समयमा आत्मरतीमा रमाउने कथित लेखकका लागि बौद्धिक झापड पनि हो ।
उनले यो किताबलाई कतै पनि आत्मकथा भनेका छैनन् । तर, आफ्ना पितापुर्खाको नेपालको पूर्वी क्षेत्रको बसाइँसराइदेखि अहिलेको आफ्नो अवस्थासम्म उनी आइपुगेका छन् । नेपाली किताब बजारमा हिजोआज धेरै स्थापित व्यक्तिका अत्मकथा पढ्न पाइन्छन् । प्रकाशनपूर्व नै चर्चाको ढोल पिट्दै राजधानीमा आएका ती आत्मकथामा एक खालको मनोरोगका लक्षण पाइन्छन् । आत्म कथाकारका रूपमा उदाउने ती जर्नेल, राजनीतिज्ञ, व्यापारी वा लेखकका बढाइचढाइ गरिएका सन्दर्भका तुलनामा उनको जीवनकथा धेरै रोचक र प्रेरणादायी छ । हरेक पेशा, तह, तप्का र बिषयमा रुची राख्ने सचेत व्यक्तिका लागि डा. उप्रेतीको यो किताब पठनीय छ । किताब पढ्दा साँच्चै नै गम्भीर पाठकहरू उनीप्रति नतमस्तक हुँदै सोच्न बाध्य हुन्छन्–यसरी प्रचार नचाहने सामाजिक अगुवा वा वास्तविक समाजसेवी कति होलान् मुलुकमा ? आफूले काम गरेको क्षेत्रबाहेक पूरै मुलुकलाई डा.उप्रेती वा उनी जस्ताको लगातारको समाजसेवाको जानकारी दिनु जरुरी थियो । किताबमा डा. उप्रेती समाजलाई अनुभव बाँड्न र प्रेरणा दिन सफल छन् ।
किताबको मूल सन्दर्भ डा. उप्रेतीको बाल्यकाल अर्थात् राणाकालको उत्तरार्धदेखि शुरू हुन्छ । बि.सं १९९१ म पूर्वी नेपाल, तेह्रथुमको आठराईमा जन्मिएका डा. उप्रेतीले सम्झनाले भ्याएसम्म बिक्रमाब्द अघिल्लो शताब्दीदेखिका प्रसंग ल्याएका छन् किताबमा । असल र सफल जे होस्, वास्तविक लेखकले आफ्नो समय लेख्छ, चाहे जुनसुकै बिधा लेखोस् । डा. उप्रेतीले पनि आफ्नो निजी जीवन कथा लेख्दा समाजका हरेक पाटा छुँदै लेखेका छन्, जुन सचेत पाठकका लागि गतिलो खुराक हो । यस अर्थमा उनको लेखन समाजको चित्र खिच्ने प्रयास पनि हो । मूलतः किताबले समेटेका करिब ६ दशक लामो समयको राजनीति, त्यसका सह–उत्पादन सामाजिक अर्थव्यवस्था अनि सामाजिक मनोविज्ञान आजको पुस्ताका लागि निकै रोचक लाग्छन् ।
किताबको रौनक सानो छँदा नपढी नछाड्ने अनि भनेकै बिषय सोचेकै ठाउँमा पढ्ने लेखकको अठोटबाट शुरू हुन्छ । यो अठोटलाई लेखक उप्रेतीले बुबाको खर्चमा नपढ्ने तर डाक्टर बनेरै छाड्ने सनकसम्म पु¥याउँछन्, १४ बर्षको उमेरमा । यो सनकलाई लक्ष्य बनाएर त्यसकापछि धैर्य, लगन अनि योजनाका साथ पार लगाएपछि बल्ल उनको जीवन सफलतातिर अघि बढ्छ । पाठकलाई उनको जीवनले एउटा कौतुहलतामा राख्दै जान्छ–अब यिनको अर्को अठोट सनक बनेर कहाँनेर देखा पर्ने हो ?
डा. उप्रेतीको किताब अनि पूरै जीवन आफैंलाई महान देखाउने नाटकीय प्रयासमा कतै पनि केन्द्रित छैन । यो विचारका लागि उनी अनुकरणीय छन् । सादा जीवन अनि सादा विचारका उप्रेतीको जीवनका बाल्यकालदेखि किताब लेखिएको समयसम्मका हरेक बिषय र सन्दर्भ हरेक पाठकका लागि पढ्न, बुझ्न र अनुकरण गर्न योग्य छन् । उनी सानै उमेरदेखि जीवन, कर्तव्य, र उत्तरदायित्वप्रति सचेत छन् । आठ दशकअघिको बाल चेतनामा पनि उनी प्रष्ट छन्–पढ्नु पर्छ, आधुनिक शिक्षा लिनुपर्छ । यसका पछाडि अनेकौं तगारा र समस्यासँग जुध्दै उनी २०१८ सालमा एमबिबिएस डाक्टर बनेर नेपाल फर्किन्छन्, जिल्ला अस्पताल कैलालीमा नियुक्ति लिँदै । यहाँबाट शुरू हुन्छ उनको नेपाली समाज सुधार्ने प्रयास र समाज सेवा ।
पञ्चायती व्यवस्थाको आरम्भमा उनले त्यही व्यवस्थाभित्र सरकारी नून खाए । तर, डाक्टरी धर्मभन्दा बाहिर कतै पाइला राखेनन् । जटिल अवस्थामा पनि व्यवस्थाका खूनी पञ्जाको शिकार हुनबाट बँचिरहे । बरु, सरकारी जागिरमा हुँदासम्म केही कूटनीतिक बने, बिभिन्न द्वन्द्व वा अप्ठ्यारामा ।
भारतका बिभिन्न शहरमा बसेर भारतीयहरूका घरमा काम गर्दै पढ्ने अवसर खोजे, त्यो पनि मेडिकल शिक्षा । एमबिबिएस सकेर नेपाली मूलकी भारतीय महिलालाई भित्र्याउँदै नेपाल फर्किए । सुदूर पूर्वका मान्छे, त्यो जमानाको कैलाली गएर डाक्टरी करिअर अनि आफ्नो पारिवारिक जीवन सँगै अघि बढाउनु सामान्य कुरो थिएन । उनले समाज सेवासँगै त्यस बेला हरेक पाइलामा समाज र व्यवस्थाभन्दा प्रगतिशील विचार राखे अनि व्यबहारमा प्रयोग गरेर देखाए । अहिलेको छ दशकभन्दा अघि घरेलु कामदार बनेर परिवारको खर्चबिना एमबिबिएस पढाइ सक्नु, अनमेल जातमा बिबाह गरेर फर्किनु, हरेक कुरामा समाजभन्दा प्रगतिशील बन्नु कम चुनौतिपूर्ण बिषय होइनन् । यससँगै तत्कलीन प्रतिबन्धित नेपाली कांग्रेसतिरको आस्था जोगाउनु अर्को चुनौति थियो । यी अर्थमा उनी प्रजातन्त्रवादीभन्दा अझ बढी समाज सुधारक र उदाहरणीय व्यक्तित्व बन्न पुगेका छन् ।
यो संघर्ष र सफलतापछि पनि उनको चेतनाले जवानीले मदमस्त पञ्चायति व्यवस्थाका लोभ लालच मात्र अस्वीकार गरेन, स्वतन्त्र डाक्टरी पेशामा लागेर पनि समाजका केही गर्न सकिन्छ भन्ने प्रमाणित पनि ग¥यो ।
पञ्चायति व्यवस्थाको आरम्भमा सरकारी सेवा प्रवेश गरेका डा. उप्रेती करिब एक दशकपछि झापामा निजी स्तरबाटै बिरामी उपचार र क्लिनिक सन्चालनसँगै समाज सेवामा सक्रिय हुन्छन् । त्यो समय झापामा ‘वर्ग शत्रु खत्तम’ अभियानको समय थियो । उनी त्यस समयदेखि निकट बिगतसम्म झापाकै समाजमा रहे । यो लामो अवधिमा उनी केवल एउटा डाक्टर मात्र रहेनन्, हजारौं परिवारको आपतकालका साथी पनि रहे । यस अवधिका हरेकजसो बिषयलाई उनले किताबमा सम्झिएका छन् । जस्तो कि एक ठाउँमा निजी सन्दर्भसँगै उनले तत्कालीन परिवेशबारे लेखेका छन्–२०२९ फागुनमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरिएको खबर सुनेर दिक्क लाग्यो । ती मार्नेहरूलाई समातेर जेलमा राखेकै थियो ।..तिनीहरू आतङ्कवादी थिए भने मुद्दा चलाउनुपथ्र्यो, तिनीहरूका कुरा पनि सुन्नुपथ्र्यो ।
डा. उप्रेती धर्म नछाडि डाक्टरी पेशामा सक्रिय रहे । भनिन्छ, हरेक असल र कर्मशील मान्छेलाई अवसर, नाम र दाम सबै वस्तुले आफैं पछ्याउँदै आउँछन् । डा. उप्रेतीको जीवनमा यस्तै भएको छ । उनी आफैं कुनै पनि समयमा कतै माग्दै गएका छैनन् । बरु, लगानीका आधारमा समाजबाट थोरै लिएका छन् । जस्तो कि ६ बर्ष राष्ट्रियसभामा काम गरि सकेपछि उनी फेरि गाउँ समाजमै मेडिकल प्राक्टिसका लागि फर्किए । उनका ठाउँमा अर्को कुनै चल्तीको राजनीतिक कार्यकर्ता भएको भए उसले राष्ट्रियसभा एउटा भ¥याङ् मात्र बनाउने निश्चित थियो । अझ चलाख राजनीतिक कार्यकर्ताका लागि उनको अवस्था एकदम ‘संभावनायुक्त’ थियो । उनी कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीच खेल्न सक्थे, बार्गेन गर्न सक्थे । तर, विवेक बन्धक राखेर वा कपटपूर्ण ढंगले कुनै पनि अवस्थामा ब्याख्या गरेनन् । पदमा बसेर पनि फेरि समाजसेवामा फर्किने अठोट गर्दै मन्त्री पदको प्रस्ताव गरिँदा जवाफमा उनले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईसँग भनेका रहेछन्– यहाँ ३/३ महिनामा मन्त्रिमण्डल परिवर्तन हुन्छ । मन्त्री भयो कि उसको नाम भ्रष्टाचारीमा दर्ता भैहाल्छ । मलाई भ्रष्टाचारीको लाइनमा नउभ्याउनुहोस् ।
पूर्ण वा कतै पनि कमजोरी नभएको किताब कतै हुँदैन । डा. उप्रेतीले पनि थोरै पूर्वाग्रहको कोणबाट केही बिषयलाई हेरेको पाठकलाई लाग्छ । खासगरी तत्कालीन माले-एमाले सँगका स्थानीय मुद्दामा । तर उनले गरेको काङ्ग्रेसको लगानी र उनको ठाउँबाट हेर्दा यी बिषय स्वाभाविक लाग्छन् । त्यस्तै आफ्नो किशोरावस्थामा ‘यस्तो सोचेँ’ भनेर उल्लेख गरिएका केही बिषय अस्वाभाविक लाग्छन् ।
समाजका लागि उमेरले दिँदासम्म केही गरिरहने लेखक उप्रेती अहिले काठमाडौंमा लेखक छोरा सञ्जीव र बुहारी अर्चना थापासँग अवकाशको जीवन बाँचिरहेका छन् ।
लाग्छ, डा. उप्रेतीले गरिब तथा असहाय बालबालिकाको शिक्षाका निम्ति यस किताबको आम्दानी छुटयाएर अवकाशप्राप्त जीवनमा पनि समाजसेवा गरिरहेका छन् । उनको किताब प्रकाशन गरेर लागि परिवार, प्रकाशन गृह र उनी स्वयम् समाजका सचेत वर्गका लागि धन्यवादका पात्र बनेका छन् ।
किताब : जीवन एक सपना
लेखक : शङ्करप्रसाद उप्रेती
प्रकाशकः अक्षर क्रिएसन्स नेपाल
मूल्य : ३६५ रुपैयाँ
पृष्ठ : २६५