कसरी ईश्वर एउटै ?!
|म बन्दी
तिमी स्वतन्त्र
म त्रासमा
तिमी उल्लासमा
म डराएकी
तिमी मुस्कुराएकी
म बिछोडमा
तिमी आलिंगनमा ।
म गुम्सिएकी छु
तिमी फैलिएकी
म धर्मराएकी छु
तिमी मौलाएकी
म लड्खडाएकी छु
तिमी हौसिएकी
म लखतरान छु
तिमी ऊर्जावान ।
हे प्रकृति!
तिमी कति भाग्यमानी
अदृश्य विषादले मेरो संसार जकडेको छ
मृत्युको भयले
मेरो मुटु कामेको छ ।
म भाग्छु मान्छेको आगमनमा
नाक मुख छोपेर मास्कले
ईर्ष्या जागेको छ तिमीप्रति
म चैं किन प्राकृतिक हुन सकिन ?
जन्म न तिमीले न मैले रोज्यौं
तिमी स्वतन्त्र
म बन्दी
हामी कसरी
एउटै परमात्माका सन्तान ?!