भोकको जुलुश

ऊ हेर त भोक
हुल बाँधेर लम्किरहेको
आँधीको रफ्तारमा
रोगले जिर्ण शरीर
हुल, हुद्दा कसेर आइरहेछ
गडेका नयन
सुकेका ओठ तालु
सिठ्ठो-सन्ठी र अस्थिपन्जर !

सलहको गतिमा बढ्दै
तिम्रै धनसारमा
अर्जुनदृष्टि गाडेर
फौज नै लम्किएको अझै देखेनौ ?
कुण्डली मारेर बसेको
तिम्रो आसनको नागपास फुकाउँछु भन्दैछ ।

ऊ हेर त अनिकाल
झ्याउँकिरी झैं झ्याईं-झ्याईं
कोक्काएका आन्द्राहरू
भोटे कुकुरको छाउरोजस्तो कुईं-कुईं
तुफान गतिमा लम्किरहेको ।

रछ्यान र महल चिन्दैन भोक
आफ्नो र अर्को हेर्दैन अनिकाल
न हेर्छ जात
न हेर्छ वर्ग, वर्ण र भूगोल
भरिभराउ तिम्रो बन्द धनसार फोरेर भएपनि
वर्षौको भोक मेटाउँछ भोक ।

न भिषा
न पासपोर्ट कुरेर बस्छ
यसै हावामा पौडिरहेछ
समुद्रमा उडिरहेछ
दृष्टिदोष नसम्झ यसलाई
बग्रेल्ती झुण्ड-झुण्ड बनेर रन्थनाएको छ
बबन्डर मच्चाउनेछ यस्ले
तिमीलाई पक्कै पाच्य  हुने छैन ।

पूर्व-पश्चिम होस् वा  उत्तर-दक्षिण
कता ओझेल पर्छौ त अब ?
हाउगुजी मात्रै होइन हेक्का राख
उस्ले गुमाउने त

यै शरिररूपी नश्वर देह न हो
ऊ भोकले मर्छ या तिमीले मार्छौ  !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *