जीवनको छाँया


मध्यदिनको टन्टलापुर घाम
ठाडो उकालो
तोक्माले ढाकरको पिँध अड्याएर
खुईयो….. सुस्केरा लिंदै
उभिएको छ ….भरीया ।

थाप्लोमा नाम्लो
थिचिएको भारी
निधारबाट झरिरहेछ
चिउँडो हुँदै……
मौन पसीनाको नदी
तप्किरहेछ… तप… तप …।

फाटेको टोपीले पसीना पुछेर
दापको च्यापबाट निकाल्छ
मकैको खास्टोमा सुर्ति बेह्रेर थुकले टाँस्छ
स्यानो दर्सनढुंगा थोरै कपास र कर्द
घोटेर आगो बाली सुर्ति तान्दै
सम्झेर पुग्न भ्याउँछ
आफ्नै गाउँको सानो झुप्रो भित्र
ओदानले अंगालेको अगेनाको भुँग्रोमा
पोल्न राखेको बारीको आलु
लाला बाला आलु पाक्छ र खाउँला भनि
अगेना वरिपरी ….पर्खिरहेका होलान्
सुत्केरी स्वास्नी
आगोको रापमा
तताउँदै होली कलिलो चिसीएको शरिर
यही विवश पसिनाहरुले
जिउभरि दल्ने तेल त किन्नै बाँकिछ ।

गरीबीले चिसीएको घर परिवार
नाम्लोको घेरा भित्र बेह्रिएको छ
थाप्लोमा सवा मनको भारीले
थिचिएकोछ
टायरको जुत्तामा
चर्चरी चिरिएको कुर्कुच्चाबाट
निस्कियको रगत सुकिसकेकोछ
पत्तै छैन उस्लाई
गह्रुँगो भारीको थिचाईले
पिडौलाको…. ठाउँ ठाउँमा…..
गुजुल्टियको नसा
फट्ट फट्ट रगत बगेको
बाहिर छ्यागं देखिन्छ
मनको तनाब हो या
भारी कै थिचाईले हो
उस्लाई केहि पत्तै छैन…।

सुस्तरी हिंडिरहेछ आफ्नै गन्तब्यमा
बिसाउनु छ भारी
थाप्नु छ ज़्याला…….
किन्नु छ चामल
नुन , तेल र सुतकेरीलाई कुखुरा
एकै रंगको रातो ललिपप्
अनि रंगमा झगडा गर्ने छैनन्
लाला बाला , खुसिले उफ्रनेछन्
भारीको थिचाईसँग….
ऊ सन्तोषको लामो सास लिन भ्याउँछ ।

माया मोहमा रुम्मलिएको मन
ढोका खोलेर पस्दा
बुढी हाँस्छे होलीन्
मलिन सुत्केरी हाँसो
परिवारको मलिन प्रसन्नता सोचेर
उस्को….मन…… भारी बोकेर पनि
आधा थकान मेटीएको छ
मन मनै फिस्स हाँस्दै…. दगं हुन्छ
अनि पसीना औंलाले तर्कायर
गन्तब्य तिर
आफ्नै छाँया पछ्याउन थाल्छ !

Add a Comment

Your email address will not be published. Required fields are marked *