भारतमा नेपाली लोकगीत – अध्ययन, संकलनको स्थिति र यसका विषयवस्तु

  • आमुख

लोकसाहित्यका विभिन्न विधाहरूमा लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा आदि पर्दछन् भने यसका गौण वा प्रकीर्ण विधाहरूमा उखान, तुक्का, पहेंली, वागधारा आदि हुन्। यीमध्ये लोककथा र लोकगीत अत्यन्त प्रचलित रहेको देखिन्छ। लोकगीतमा रागात्मकता, गेयात्मकता जस्ता गुणहरू पाइन्छन्। जनताका सुस्केरा, पीडा, खुशी, आनन्द, मनोरन्जन सबै पक्षलाई लोकगीतले समेटेको हुन्छ. जनताको धुकधुकी हो लोकगीत। लोकगीतको परम्परागत अविरल धारा अनादिकालदेखि नै प्रवाहित हुँदैआएको हुन्छ। ती श्रुतिमधुर गीतका आदि रचयिताबारे थाहा नभए पनि गीतका छन्द र गेडाहरूहरू सहस्र कण्ठहरूबाट लोकलयमा निश्रृत भएर पहाडका उकाली-ओराली, वन प्रान्त र तराईका समथर भूभागलाई अद्यापि रनबन पारिरहेछन्।

मानिसले आफ्नो भाव व्यक्त गर्न कतै सार्थक र कतै तुकबन्दी मिलाउन निरर्थक शब्द प्रयोग गरेर पनि लोकगीत सिर्जना गर्थे। आधुनिक गीतको पुर्खाको लोकगीत हो। सम्बन्ध लोकजीवनको सुख-दुःखसित छ। सृष्टिको अनादिकालदेखि नै मान्छेमा सामाजिक चेतनाका साथसाथै लोकगीतको पनि उदय भएको हो। मानवमा ज्ञानको विकास हुँदा मान्छेले लयवद्ध वाणीमा आफ्ना सुख-दुःख आदि व्यक्त गर्न थालेका हुन् र यीनै लयवद्ध वाणी लोककण्ठको आश्रय लिएर लोकगीत बनेका हुन्।

लोकगीतमा सहजता, रसमयता, मधुरता, प्राकृतिकता, लयात्मकता आदि जस्ता गुण हुन्छन्। यसमा संगीतात्मकता, भावनाको सार्वभौमता, भावान्विति, संक्षिप्तता, गम्भीरता, स्वाभाविकता इत्यादि विशेषता रहेका हुन्छन्। युगौंदेखि लोकगीतले मानिसलाई भिजाउँदै आएको हुनाले यसमा जीवन-जगत्‌को वास्तविक तथ्य पनि झल्किएको हुन्छ।

  • भारतमा नेपाली लोकगीतको संकलन कार्यको सर्वेक्षण

हालसम्म भारतबाट नेपाली लोकगीतको संकलन र अध्ययनको स्थिति केलाउँदा हामी केही निम्न कार्यहरू सम्पन्न भएको पाउँछौं।

१. हाजिरमान राई – मीठा मीठा नेपाली गीत –सन् १९००।

२. बहादुरसिंह बराल र मित्रसेन थापा बरालको आँसु

३. शिवनिधि जोशी – आशिका औ गीत भारत-, सन् १९३० तिरको।

४. पारसमणि प्रधान (सम्पा. र संकलक)  –   लोकगीत –-, १९५३।

५. मानबहादुर प्रधान सुख-दुःख, सन् १९५३।

६, सन्तवीर लामा –  तम्बा कइतेन ह्वाइ रिमठिम –१९५७।

७. इन्द्र थपलिया – हाम्रो गीत – (सन् १९७७)

८. मनबहादुर कार्की, तेजपुर- देउसी (?)

९. एस. एम वाइबा – परम्परागत नेपाली लोकगीत लोकसंस्कृति, २००८

१०. कमल थीङ – लोकलय. १९८४, (लोकगीत आंशिक रूपमा मात्र।)

११. कमल थीङ – केही आधुनिक केही लोक. १९९८, (लोकगीत आंशिक रूपमा मात्र)

१२. डी. बी. सिंह – लौ खेलौं जुवारी, २०११।

 

प्रस्तुत सूचीमा नेपाली लहरी काव्यको चर्चा गरिएको छैन। लहरी काव्यलाई लोकगीतका रूपमा राख्न उचित हुँदैन। लहरी काव्य त ज्ञात भएको रचयिताको वैयक्तिक सिर्जनाको उपज हुनुका साथै बढी लमाई भएको, कुनै ठुलो प्रसङ्ग वा घटनादिको वर्णनप्रधान भएको काव्य हो। यस्ता लहरी काव्यको सूचि भिन्नै हुन्छ र यहाँ समावेश गरिएन।

यीबाहेक दार्जिलिङ, सिक्किम र आसामतिर नेपाल लोकगीतका धेरैवटा क्यासेट, चक्का निकालिएका छन्। सिक्किमका सिरिकुमार पाखरिन, नरेन गुरूङ तथा दार्जिलिङ जिल्लाका मानसिह मोक्तान (खरसाङ), बिरेन राई (दार्जिलिङ), काजी सिंह, स्व. हीरा वाइबा (खरसाङ), स्व. मंगलसिंह घिमिरे (कालिम्पोङ), स्व. अतिबल विश्वकर्म, श्री इन्द्रप्रसाद अधिकारी (कालिम्पोङ), के. बी. खाती (दार्जिलिङ), स्व. मनबहादुर गुरूङ, दीलिप विश्व, स्व. पदमबहादुर सुनाम, सुकबीर लकान्द्री, स्व. प्रेमफूल बराइली (पोखरेबुङको गाउँ-घरमा लोकगीतलाई विकास गर्ने महिला।), राधिका प्रधान, सुदीप वाइबा – चन्द्रदीप वाइबा, पदमबहादुर विश्वकर्मा आदि हुन्। विशेषगरी खरसाङका मानसिंह मोक्तानले एउटा लोकगीत क्यासेट अल्बम कोसेढुङ्गा तथा आकाशवाणी खरसाङबाट एकसयभन्दा बढी नेपाली लोकगीत गाएर रेकर्ड गराएका छन्।[1] यताबाट लोकगीत गाउने अन्य गायक गायिकाहरूमा शर्मिला पाखरिन, जयकला तामाङ, राजेन घिमिरे आदि हुन्। असमतिरबाट नेपाली लोकगीतलाई विकास गर्ने युद्धवीर राणा, प्रेम विश्वकर्मा, घनश्याम शर्मा आदि हुन्।

यसै गरी बाग्राकोट, डुवर्सका गोकुल थापाले पनि नेपाली लोकगीतको संकलन र गायन कार्य गर्दैछन्। सिक्किमका नरेन गुरूङ नेपाली लोकगीतका एक प्रखर संकलक र गायक कलाकार हुन्। उनले सिक्किमतिरका गाउँ-बस्ती घुमेर लगभग २७-२८ किसिमका कृषिजन्य श्रमगीत, बिहे बटुलोतिरका पर्वगीत आदि संकलन गरेका छन् भने आकाशवाणी गान्तोकमा लगभग तीनसयवटा जति नेपाली लोकगीतहरू संकलन-गायनको रेकर्ड गरेका छन्। उनले नेपाली सिक्किमतिर प्रचलित नेपाली लोकगीतहरूको संकलन गरी पुस्तकाकार रूपमा प्रकाशनको तयारी रहेको र निकट भविष्यमा यो प्रकाशित हुनेछ भन्ने जानकारी पाइन्छ।[2] मिरिककी श्रीमती राधिका प्रधान पनि नेपाली लोकगीत संकलन र गायनमा अब्बल रहेकी छन्। उनलाई विशेषगरी संगिनीको विशेषज्ञ मानिन्छिन् र ठेट गाउँले गोठाले गीत, रोपाइँगीत, लहरे टप्पा जस्ता लोकगीतहरूमा सिद्धहस्तता हासिल गरेकी छन्। असमको तेजपुरका केही जागरूक महिलाहरूले सयपत्री सांस्कृतिक संघका तत्वावधानमा विशेषगरी संगिनी गीत र नारीका अन्य पीडाहरूलाई लोकगीतका संकलनका रूपमा एउटा भिडियो सिडी अल्बम माइतीको सम्झना तयारी गरेका छन्। यता दार्जिलिङ-सिक्किमतिर पनि केही लोकगीतका क्यासेट, भिडियो सिडी आदि तयार गरिएको पाइन्छ।

  • केही मुख्य मुख्य संकलन कार्यहरूको सामान्य चर्चा

सन् १९०० सालमा प्रकाशित हाजिरमान राईको मीठा मीठा नेपाली गीत नेपाली लोकगीत संकलनको एउटा माइलखुट्टी हो। यसको लय र धून लहरी र सवाईसित केही मात्रामा मिल्दछ तर यसलाई गीतसंग्रह नै भनिएको छ। यसमा तत्कालीन दार्जीलिङमा चलेका ‘रानी रूमालमा, होइन रेसम’, ‘चट्ट चरण’, ‘माइला नारान’, ‘सिमलबरूलै’, ‘सजनी’, ‘सोधन सबैलाई’, ‘दिलाजान’, ‘ब्युटिफूल’, ‘कम टु माइ होम’ गरी दसवटा रागका प्रश्नोत्तर. गरी बीस-बीस पदका एक्काइसवटा गीत रहेका छन्।

नेपाली लोकगीत संकलन गर्ने क्रममा क्यापटेन मोनेको व्याकरणिक पुस्तक गुर्खाली म्यानुअल (सन् १९१८) मा पनि केही नेपाली लोकगीतको सङकलन र केही लोकगीतको चर्चा गरेका छन्। विशेषगरी दार्जिलिङका चियाबारीका अँग्रेज मालिक र मेनेजरहरूलाई नेपाली भाषा सिकाउने क्रममा चियाकमानातिर चलेका चौधवटा नेपाली लोकगीतको साङ्गीतिक नोटेसनसमेत दिएका छन्।

नेपाली लोकगीत लेखन – संकलन क्षेत्रमा भाक्सूका बहादुरसिंह बराल र मित्रसेन थापाले उल्लेखनीय काम गरेका छन्। उनीहरूका संयुक्त रूपमा रहेको गीत-गजलसंग्रह बरालको आँसु (सन् १९३८) मा केही लोकगीत पनि रहेका छन्।३ बराल र थापा दुवैका गीतहरू लोकलयमा आधारित भई गोर्खाली समाज सुधारको आवश्यकता र जागरणको सन्देशवाहक छन्। विशेषगरी सैनिक क्षेत्रमा बराल र थापाले नेपाली समाजमा लोकसाहित्यको संवर्द्धनमा विशेष योगदान पुर्‍याए। यद्यपि मित्रसेन थापामाथि शोध अनुसन्धान गर्ने डा. खगेन शर्माका अनुसार ‘बरालको आँसु’ पुस्तकका सम्पादक र प्रकाशक मित्रसेन थापा नै हुन्। यो पुस्तक पनि पहिलो भाग सन् १९३४ मा, दोस्रो भाग र तेस्रो भाग अनिश्चित समयमा, चौथो भाग सन् १९३९ मा, पाँचौं भाग सन् १९४५ मा प्रकाशित भएका हुन्। बहादुरसिंह बरालको सामान्य सहयोग मात्र रहेको थियो अधिकांश काम चैं मित्रसेनले नै गरेका थिए। पछि बहादुरसिंह बरालका छोरा खडगजित बरालले आफ्नो प्रकाशनमा प्रकाशित गरेको तथ्य प्राप्त गरिएको छ।[3] उनका ९७ वटा गीत रहेका छन् र ६३ वटा गीतहरूको रेकर्ड गरेका थिए। यद्यपि उनका जम्मै गीतलाई लोकगीत मान्न नसकिए तापनि केही लोकगीत भने संकलन र गायन गरेका छन्। तीमध्ये ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान’, ‘अब त जुँ कान्छी घर’, ‘लाहुरेको रेलीमाइ फेसनै राम्रो’, ‘तानसेन सितलपाटी’, ‘धानको बाला झुल्यो’, ‘नौतले बाउन्न ढोका’, ‘छत्रे टोपी झम्काइ’ इत्यादि हुन्।

दार्जीलिङबाट नेपाली लोकगीत संकलनको क्षेत्रमा इन्द्र थपलियाको हाम्रो गीत (सन् १९७७) पुस्तक हो। ‘इन्द्र थपलियाले लोकगीतको संकलन, गायन र प्रचार-प्रसार गरेर जीवन बिताएका हुन्। दार्जिलिङका आधुनिक शहरीया नेपालीहरूलाई नेपाली लोकसंगीत, लोकनाच र लोकबाजासँग परिचय गराउने थपलिया नै हुन्। गाउँ बस्ती र चियाकमानबाट, भेडीगोठ, खर्क र व्यासीबाट मेलापात, चाडपर्व, हिमाली पाखाबाट अनि परिश्रमी नेपाली हृदयबाट लोकगीतका विभिन्न भाका र लय टिपेर आधुनिकताको पोखरीमा डुब्दै गरेको दार्जिलिङे शहरीया वातावरणमा रूमल्लिएको जनमानसलाई सुनाउने, देखाउने र चिनाउने थपलिया स्मरणीय र वन्दनीय छन्।’ [4] उनका केही लोकगीतहरूमा ‘दार्जिलिङ शहर हेर्दामा रहर’, ‘डाँडापारि हिउँ परेछ डाँडावारि पानी’ ‘सिरिमा सिरि हावा चल्यो’। सन् १५२-५३ सालतिर इन्द्र थपलिया कालेबुङको एउटा अभेक गाउँ रोङ्गोमा बसेका बेला त्यहाँ गोताला, खेताला, सिन्कोना कमानका खटिखाने जनताका गलाबाट उब्जेका लगभग नब्बेवटा जति लोकगीतहरू र अन्य दुईवटा गरी जम्मा बयानब्बेवटा लोकगीतहरूको संकलन गरेका छन्। यसमा झ्याउरे, विरहिनी, लहरे टप्पा, पूर्वेली, सेलो, समला, संगिनी, हाकपारे, भैलो मालसिरी (मालश्री) आददि जस्ता लोकलयहरूको संकलन पाइन्छ।[5]

सन्तवीर लामाको तामाङ रिती-थितीमा आधारित तम्बा कइतेन ह्वाइ रिमठिम पनि लोकगीत संकलनको एउटा उपलब्धि हो। यसको मूल तामाङ भाषा र त्यसको नेपाली भावानुवाद पनि सँगसँगै राखिएको छ। तामाङ जातिमा प्रचलित धार्मिकचर्या, संस्कार, रीतिथिति, प्रकृतिप्रेम आदि कुराहरू संकलित पुस्तकमा पाइन्छ।

  • भारतमा नेपाली लोकगीतको अध्ययनको स्थिति

वि सं २०२० तदनुसार सन् १९६३ मा रोयल नेपाल एकाडमीद्वारा प्रकाशित काजीमान कन्दङबाको नेपाली जन साहित्य नेपाली लोकगीत अध्ययन क्षेत्रमा एउटा उल्लेखनीय उपलब्धि हो। यसका लेखक दार्जीलिङकै थिए र उक्त अध्ययन पनि यहींबाटै गरेका हुन्। यस पुस्तकमा नेपाली लोकगीतका विभिन्न भाकाहरूको व्याख्यासहित नमूनाहरू प्रस्तुत गरिएको। यसपछि अर्को उपलब्धी एम. एम. गुरूङको बिर्सिएको संस्कृति हो जो सन् १८८० मा प्रकाशित भई सन् १९८४ मा साहित्य एकाडमी पुरस्कार हासिल गरेको छ। यसमा लेखकले दार्जीलिङका विभिन्न गाँउ कमान-बस्ती घुमी-घुमी त्यहाँका जनजीवनका विभिन्न अभिव्यक्ति बटुलेर पुस्तकाकार रूपमा संकलन, सम्पादन र विवेचना गरेका छन्। यस पुस्तकमा विशेषगरी लोकगीतबारे अध्ययन प्रस्तुत गरिएको छ। आर. पी. लामाको पुस्तक इन्द्रधनुष (१९९०) मा पनि नेपाली लोकगीत र लोकपरम्परामाथि अध्ययन प्रस्तुत गरिएको छ। सन् १९७४ मा प्रकाशित काजी सिंह र नरेन्द्र गजमेरको संयुक्त लेखनमा रहेको मादल भन्ने पुस्तकमा मादलको उत्पत्ति र विभिन्न मादले गीतहरूको संकलन र समीक्षण गरिएको छ।

नेपाली लोकसाहित्य अध्ययन क्षेत्रमा २००६ मा प्रकाशित गुप्त प्रधानको  धूमिल पृष्ठहरू अत्यन्त उल्लेखनीय छ। यस ग्रन्थमा लेखकले दार्जीलिङ, आसाम सिक्किमको ऐतिहासिक, सामाजिक, आर्थिक पृष्ठभूमि केलाएर नेपाली लोकसाहित्यको  ऐतिहासिक अध्ययनअन्तर्गत संकलन, सम्पादन र विवरण प्रस्तुत गरेका छन्। यसमा ‘उदयलहरी’, ‘लक्ष्मी धर्म संवाद’, डाकमान राईको ‘दार्जीलिङको पैह्राको सवाई’, हाजिरमान राईको ‘मीठा मीठा नेपाली गीत’ र ‘नारी उपदेशार सवाई’ जस्ता लोकसाहित्यिक कृतिहरूको संकलन, सम्पादन  पनि गरिएको छ। यसको दोस्रो संस्करण सन् २००८ मा अझै थप सामग्री लिएर प्रकाशित छ।

खरसाङका लोकगीत कलाकार एस. एम. वाइबाद्वारा संकलित, रचित र विवेचित ग्रन्थ हो परम्परागत नेपाली लोकगीत र लोकसंस्कृति हो। यो २००८ मा सिक्किमको निर्माण प्रकाशनबाट प्रकाशित छ। यसमा नेपाली लोकगीतको ऐतिहासिक, सामाजिक इत्यादि पृष्ठभूमि केलाउँदै विभिन्न नेपाली लोकलय, लोकभाकाहरूको विवरणसहित प्रस्तुत गरिएको छ। यसका साथै यसमा मादलको उत्पत्तिको लोककथादेखि लिएर विभिन्न चाड-पर्वका गीत-संगीतको चर्चा गर्दै अनेक गीतहरू पनि राखिएको छ।

असमका डा खेमराज नेपाल र मणिपुरकी डा गोमा अधिकारीले नेपाली लोकगीतको विभिन्न पक्षको सामान्य चर्चा – अध्ययन गरेका छन्।

  • नेपाली लोकगीतको विषय र भावगत वर्गीकरण

नेपाली लोकगीतहरूमा अनेक विषय र भाव रहेका छन्। लडाईँको वर्णन्, वीरको वीरताको वर्णनदेखि लिएर माया-प्रीतिका  उच्छवास, नारीको पीडा-व्यथा, मानिसहरूको श्रम, जीवन र जगतका परिभाषा इत्यादि इत्यादि सबै समेटिएका पाइन्छन्। केही नेपाली लोकगीतहरूमा रोदीघर, घरगीत, बाह्रमासे, कौरा, सैरेली, ख्याली, झ्याउरे, देवडा, रसिया, रोइला, सगिनी, सेलो, टुङना गीत, हाकपारे, दोहोरी र जुवारी, धमारी, भोलाउलो, भजन, आरती, पडेली, मागल, सगुन, महाल, रतेली, आसिका, करात, तीजे, गौरा वा गमरा, सराएँ, मालसिरी, भैलो, देउसी, भुओ गीत, वसन्त, फागु र होरी, लल्लोरी वा निँदरी, गोडेली, असारे, घाँसे गीत, दाइँगीत, सिमलचरी आदि हुन्। यीमध्ये पनि मूलमूल विषयवस्तुगत वर्गीकरण गर्न सकिन्छ। डा चूडामणि बन्धुले समग्र नेपाली लोकगीतको वर्गीकरण गर्ने क्रममा यसरी प्रस्तुत गरेका छन्-

सहभागिताका आधारमा- (क) एकल, (ख) दोहोरी र (ग) समूह।

प्रस्तुतिका आधारमा- (क) नृत्यगीत र (ख) वाद्यगीत।

प्रकार्यका आधारमा- १. मनोरञ्जनका रूपमा, 2. विशेष गीत। विशेष गीतमा पनि (क) धार्मिक गीत, (ख) अनुष्ठानमूलक तथा संस्कारगीत, (ग) ऋतुगीत र पर्वगीत र (घ) श्रमगीत।

यसबाहेक डा चूडामणि बन्धुले नेपाली लोकगीतहरूको वर्गीकरण यसरी गरेका छन्[6]

प्रार्थना गीत – मागल, फाग, धमारी, भोलाउलो, पडेली, चुड्किलो, भजन, आरती आदि।

संस्कार गीत – मागल, फाग, रत्यौली, करात, आशिका।

पर्वगीत- तीज, गौरा, सराएँ, मालसिरी, भैलो, देउसी, भुओ, बसन्त, फागु।

श्रमगीत- धाइ, गोडेलो, बाली, रोपाइँ, दाइँ आदि।

डा. घनश्याम नेपालले ‘नेपाली लोक कविता र व्यञ्जनाका कुरा’ नामक लेखमा लोकगीतलाई लोककविताकै परिधिभित्र राखेर अध्ययन गरेका छन्। उनका अनुसार नेपाली लोकगीतलाई भाव र विषयवस्तुका आधारमा छवटा वर्गीकरण गरेका छन् – १. प्रणय-प्रीतिकाका कुरा, २. राष्ट्रिय भावनाको अभिव्यक्ति, ३. युद्ध र वीरताको वर्णन्, ४. सामाजिक रीति, संस्कृति र सभ्यताको समावेश, ५. सामाजिक आर्थिक अवस्था र अर्थतन्त्रको चित्रण तथा ६. दैनिक व्यवहार र प्रविधिको सूचना।[7] मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेलले सामयिक  लोकगीतअन्तर्गत ऋतुगीत, पर्वगीत, संस्कार गीत, धार्मिक गीत र श्रमगीतलाई राखेका छन्।[8]

नेपाली लोकगीतको संकलन, गायनका क्षेत्रमा दार्जिलिङमा केही कार्य सम्पन्न भएका छन्। यहाँबाट लोकगीतका ग्रामोफोन रेकर्ड, क्यासेट, सिडी, भिडियो सिडी आदि निर्माण भएको पाइन्छ। दार्जिलिङ-सिक्किमतिरका प्रचलित केही लोकहरूको वर्गीकरण गर्दा यहाँ (क) धार्मिक गीत, (ख) पर्वगीत, (ग) श्रमगीत, (घ) प्रेम-प्रीतिका लोकगीत, ङ) बाललोकगीत, च) वीरतामूलक लोकगीत, छ) नारीका पीडा व्यथाका लोकगीत, ज) विविध विषय र झ) प्यारोडी लोकगीत। यीमध्ये केही बाह्रमासाका रूपमा रहेका छन् भने कति विशेष अवसरमा गाइन्छन्। यता आसामतिर पनि नेपाली लोकगीतको गायन र संकलन भएको हुनुपर्छ। दार्जिलिङ, सिक्किम र आसामलगायतका हाम्रा थलाहरू गएर क्षेत्रीय सर्वेक्षण गरी नेपाली लोकगीतको संकलन र अध्ययन गर्नुपर्ने समयको आवश्यकता देखिन्छ। आसामतिर पनि नेपाली लोकगीत गाइन्छन्। गीतमा यहाँको माटाको गन्ध छ, यहाँको हाम्रा पीडा व्यथा समावेश रहेका तथा हाम्रा धार्मिक-चर्या, पर्व, संस्कार आदिका केही गीतहरू नपाइने होइन। केही नमूना हेरौं-

बसौन यहाँ हे साइली, लोहितको किनार हेरेर

हुन्छ नी बसौं हे साइला, भैंसीको ओलन पिएर।

त्यस्तै गरी असमतिर पनि धेरै नेपाली लोकगीत सिर्जना भएको हुनपर्छ। अरू एक- दुइवटा लोकगीत –

हाम्रा राजा नरकासूर

नरकासूरले प्राग्जोतिषपुर

पाए है पाए है पाए है।

 

असम- मणिपुरतिर पनि अझै धेरै मात्रामा नेपाली लोकगीत रचिएका होलान्। यहाँका गाईगोठ, खेतीपाती, तेल र कोइलाखानीतिर हाम्रा मजदूरहरूका पीडा व्यथा, सुस्केरा, हर्ष, उन्माद आदि भावबाट स्थानीय लोक कलाकारहरूले निश्चय नै लोकगीत सिर्जना गरेका हुनुपर्छ।

क) धार्मिक लोकगीत – यता भारततिर पनि नेपाली समाजमा धार्मिक अनुष्ठानका निम्ति धेरै मात्रामा लोकगीतका रूपमा धार्मिक गीतहरू रहेका छन्। यस्ता गीतहरू भजनका रूपमा, आरतीका रूपमा, स्तुतिका रूपमा गाइने गरिन्छ। हाम्रोतिर प्रचलित धेरै आरतीहरू पनि हाम्रो आफ्नै परिपाटी हुन्छन्। कतै लोकधूनका रूपमा भजन पनि रहेका छन्। यस्ता अनेकौं गीत छन्। केही भजनहरू कसैले रचना गरेपनि तिन तिनको रचनाकार अज्ञात बनेका छन् र ती आफैं केही परिवर्तित हुँदै आएर आफैं नै हाम्रो लोकउपजसरह बनेका छन्। विभिन्न लोकधूनमा पनि भजनहरू सुनिने गरिन्छ।

ख) पर्वगीत – पर्व र विशेष अवसरतिर विशेष रूपमा गाइने गीत पर्व गीत हुन्। यसलाई पनि लोकगीतकै रूपमा लिन सकिन्छ। यस्ता बिहे-बटुलो, तीज, ब्रतवन्ध, चाड पर्व आदितिर यस्ता गीतहरू गाइन्छन्। केही पर्वगीतहरूमा मालश्री, देउसी, भैलेनी, आदि हुन्। बिहेको अवसरमा मागल, सिलोक आदि गाउने गरिन्छ। नौरथाको अवसरमा मालश्री गीतले समाजमा निकै प्रसिद्धी पाएको छ। यसको एउटा नमूना –

जय देवी भैरवी गोरखनाथ दर्शन देऊ भवानी हे।

प्रथम देवी उत्पन्न भई है जन्म लिए कैलाश हे।

आसामका नेपाली नारीहरूले संगिनीको रूपमा त्यहीँको जीवन रेखा ब्रह्मपुत्र नदीलाई यसरी पुकारा गर्दछन्।

यसै र ठाँउ ब्रह्मपुत्र बाबा, रच्छे गर

हामी पर्‍यौ तिम्रै शरण।

 

ग) श्रमगीत – नेपाली लोकगीतको सन्दर्भमा श्रमगीतको अत्यन्त ठुलो भूमिका छ। श्रमगीत विश्वका प्रायः सबै स्थानमा गाइने गरेको पाइन्छ। कुनै काम गर्दा श्रम परिहारको निम्ति गाइने गीतलाई श्रमगीत भनिन्छ।[9] विभिन्न समयमा मेलापात जाँदा, घाँस-दाउरा गर्दा, खेत, चियाबारी, कुलैनबारी, गाईगोठ-छपडी आदितिर गाइने गीतहरू नै श्रमगीत हुन्। दार्जिलिङतिरको सन्दर्भमा धान, कोदो रोप्दा, घैया, मकै गोड्दा, दाइँ गर्दा, चियापत्ती टिप्दा, ढ्वाङ तान्दा, बाटो बनाउँदा र असम मणिपुरपतिर कृषिकार्य, गौपालन, तेल र कोइलाखानीमा काम गर्दा यस्ता किसिमका श्रमगीत स्वतः सिर्जना भएको हुनसक्छ। यसका साथै घरेलु काम जस्तै ढिकी कुट्दा, जाँतो पिँध्दा, गाईगोठमा काम गर्दा पनि गीत गाइन्छन्। नेपाली श्रमगीतको अध्ययन गर्ने क्रममा श्री कबीर बस्नेतले श्रमगीतको वर्गीकरण गर्दा आठवटा भेद गरेका छन्[10] -कृषिसँग सम्बन्धित, चियाबारीसित सम्बन्धित, ढ्वाङ तान्दा वा बाटो बनाउँदा गाइने, गोठालाहरूले गाउने,, मछुवाहरूसँग समबन्धित, घरेलु श्रमसँग, लाहुरेहरूसँग सम्बन्धित र अन्य श्रमसित सम्बन्धित श्रमगीत।  रसिया, दाइँगीत कृषिसित सम्बन्धित श्रमगीत हुन्।

आली र लाउने त्यो चाम कोदाली

धान काट्ने कँचिया

माइतीको वचन सिरमा राखी

म भन्छु रसिया।[11]

यसैगरी चियाबारीसित सम्बन्धित श्रमगीतहरू विशेष उल्लेखनीय छन्। अँग्रेजको उपनिवेश कालमा दार्जिलिङ डुवर्सतिर चियाकमानका अँग्रेज व्यवस्थापनमा श्रमिकहरूले दिनमा दश घण्टाभन्दा बढी श्रम गर्नुपर्थ्यो। कमानका मालिक र मेनेजरहरूको शोषणमा परेका दुःख, कष्टमा परेका श्रमिकहरूबाट पनि केही यस्ता किसिमका लोकगीतहरूको सिर्जना भएको थियो

पत्तीलाई टिप्नु ज्यान टपटप जोर मुन्टा भाँचौला

त्यै पत्ती टिपी जिन्दगी गयो, कति दिन बाँचौंला।[12]

हरियो भन्नु त्यो काँचो पात

पहेँलो बेसार

सकिने मेलो रहनै लाग्यो

बाहुली पसार।[13]

दार्जिलिङमा अँग्रेजहरूको आगमनपछि यहाँ धेरै बाटा-गाटा बनाए। यसका निम्ति स्थानीय मानिसहरूले ठुलो श्रम गर्नुपरेको थियो। त्यस समयमा सडक बनाउँदा गिटी, बालुवा र अलकत्रा पेल्दा गह्रौं ढ्वाङ तानेर सडक निर्माण हुन्थ्यो। त्यसरी श्रमिकहरूले ढ्वाङ तान्दा लोकगीतको सिर्जना गरेको पाइन्छ-

पानीलाई पर्‍यो रिमी र झिमी

घाम लाग्यो छप्परमा

भावीले पनि के लेखिदियो

अभागी खप्परमा।[14]

घ) प्रेम-प्रीतिका लोकगीत – मानिसको जीवनमा सबैभन्दा उल्लासमय, रमाइलो क्षण नै यौवनावस्था हो। युवाअवस्थामा प्रेमका विभिन्न तरङ्ग उठछन्। प्रेमी-प्रितीका मनमा उम्लेका भावतरङ्गलाई एकार्कामा साट्ने गर्दछन्। वास्तवमा भन्नुपर्दा यस्ता किसिमका लोकगीत सबैभन्दा बढी प्रचलित देखिन्छ। मान्छेभित्रका रतिरागात्मक स्थायीभावलाई गीतका माध्यमबाट माध्यमबाट प्रस्फुटित हुन्छ। यस्ता युवाअवस्थाको प्रेमपितीका भावले भरिएका अनेकौं गीतहरू हाम्रो समाजमा पाइन्छन्। यस्ता लोकगीतहरूलाई पनि उप-विभाजन गर्दा क) नर वा नारीले एकार्काप्रति आकर्षित भएर प्रेमको आग्रह गरेको, २) प्रेमसम्बन्ध कायम रहेका बेलाको आनन्द र ग) कुनै कारणवस् प्रेमसम्बन्ध टुटेर विछोड भएपछिको पीडा जुवारी, ख्याली, सेलो आदि जस्ता अनेक लोकगीतहरू यसअन्तर्गत पर्दछन्। जुवारीको एक उदाहरण-

लस र लस मसला पिँध्ने सुवेदारकी बुहारी

तिमी कन्ये केटा, म कन्ये केटी, लौ खेलौं जुवारी।

तरूणहरूले तरूणी फकाउने भावका लोकगीत –

  • उकाली चिसो पानी

खाइदिउँ खाइदिउँ लाग्छ।

एति राम्री पातलीलाई लैजाउँ लैजाउँ लाग्छ।

  • सुनन मेरी ए साइली ढल्के जोबन साटौं

तिमी र हामी मिलेर टिस्टा खोला तरौं।

ङ) बाललोकगीत – बालबालिकाका खेलका रूपमा अनेको लोकगीतहरू रहेका पाइन्छन्। बालगीतमा युक्तियुक्तता नभए तापनि मनोरञ्जनका अनेक पाटा हुन्छन्। उनीहरूले आफ्नै किसिमको बालसुलभ अभिनय गर्छन्, गीत गाउँछन्। गीतभित्र शिक्षा हुन्छ, ज्ञान हुन्छ, मनोरञ्जन हुन्छ। यस किसिमका गीतमा पनि निनीनानी गीत, खेलगीत आदि हुन्छन्। दार्जिलिङ-सिक्किमतिर प्रचलित केही बाल खेलगीतहरूमा-

झिँगा हेर भित्तामा

चडदै चडदै लडदैन

पखेटा के जस्तो

इन्द्रेणी रङ्गको छ।

——- ——  ——-

चीँ मुसी चीँ,

आलु दमदम तिते करेला

पिँडालु खाँदा कोक्याउँछ।

जाउ न दिदी डिपोमा

भेनाले पैसा पठाउँछ।

…………………. …….

ताते नानी ताते

सबैको हाते पाते

नानी भयो लाठे

खरसाङ डाँडा काटे। इत्यादि।

दार्जिलिङको रेलसम्बन्धी पनि केही बाललोकगीत बनाइएका छन्। जस्तै –

दार्जिलिङको सानो रेल हिँडनलाई अब तयारी छ।

गार्डले सुन है सिटी बजायो

हिँडनै लाग्यो अब रेल।

उन्नाइसौं शताब्दीको शुरूमा जब अङ्गेजहरू दार्जिलिङलाई आफ्नो उपनिवेशको मूल स्वस्थ्यअनुकूल स्थानका रूपमा चिन्हित गरी यतै बसोबासो गर्ने थाले तब इसाई मिसनेरीहरूले दार्जिलिङमा इसाई धर्म प्रचार गर्न थाले। यहाँ चियाकमान खोलिए, चियापत्ती टिप्ने श्रमिकहरू ल्याएर कमान-बस्तीहरू बसाएर आवाद गरे। दार्जिलिङका जनतामा सोझै इसाई धर्म प्रचार गर्न केही अपठ्यारो पर्ने स्थिति थियो। इसाई धर्ममा लाग्नेलाई तत्कालीन समाजले घृणाको नजरले हेर्दथे। सका निम्ति उनीहरूले अनेक उपायले धर्म प्रचार गरे। सर्वप्रथम अँग्रेजलगायत जर्मन मिसनेरीहरूले यहाँका नानीहरूलाई स्कुल खोलेर शिक्षा प्रचार गर्न थालेका हुन्। विशेष गरी आइतबारको दिन मिसनेरी फादरहरूले इसाई धर्म प्रचार-प्रचार गर्न नानीहरूलाई त्यसप्रति आकर्षित गर्न आइतबार लाग्ने भनेर सन्डे स्कुल स्थापना गरेका थिए। त्यस सन्डे स्कुलमा नानीहरूलाई खेल्न, बदामलगायत के के खानेकुरा खानको निम्ति भनेर बोलाइन्थ्यो। त्यस्तो अवस्थालाई जनाउने एउटा बालगीत यस्तो सिर्जना भएको छ –

बदामको लागि को आउँछ को आउँछ

आइतबारको बिहानै..

च) वीरतामूलक लोकगीत – गोर्खालाई मूलतः वीर र लडाकु जातिका रूपमा संसारले चिन्छ। गोर्खालीहरूले विश्वभरि युद्धमा आफ्नो पराक्रम, वीरता र साहस देखाएको छ। गोर्खा जातिको वीरतालाई झल्काउने कालका अनेक गीतको सिर्जना भएको पाइन्छ। केही नमूना हेरौं-

लाहुरेको रेलिमाइ फेसनै राम्रो

रातो रूमाल रेलिमाई खुकुरी भिरेको।

… …. ……. …….. ……… …… ……

मर्दैन नेपाली छोरा, चिसो पानी खाएर हुर्केको

हट्दैन नेपाली छोरा, धावैमा बैरीलाई देखेर।

छ) नारीका पीडा-व्यथाका लोकगीत – नेपाली समाज मूलतः पुरूषप्रधान समाज भएकाले नेपाली लोकगीतमा नारीका अन्तर्मनमा रहेका पीडा, वेदना अधिक रूपमा पाइन्छ।  छोरी चेली जन्मजात रूपमा तिरस्कृत हुनाले उनीहरूका मनका पीर व्यथालाई संगिनी, रत्यौली इत्यादि जस्ता पर्वमा गाएर आफ्ना पीडालाई बाहिर प्रकट गर्छन्। अधिकांश लोकगीत नै नारीको पीडामा आधारित छन्। नारीका निम्ति कडा बुहार्तन, सासूको कचकच, लोग्नेमान्छेको बहुपत्नी प्रथा आदिद्वारा पीडित नारीहरूले स्वतः गीतको रचना गरेका हुन्छन्। हाम्रो समजामा विगतको बहुपत्नी विवाह प्रथाका कारण नारीको अन्तर्मनको वेदनालाई यसरी झल्काएको पाइन्छ –

सिमसिम पानी हो

घरमा सौता छ माइत सानीमा।

.. …. ……. ……

बाटैमुनि हरियो टुनी

सौतामाथि जानेको के जुनी।

पुरूष जातिले नारी जातिलाई खसालेर व्यङ्ग्य गरेका गीत पनि पाइन्छन् –

आइमाइको दौंतरी जातै नहुने

सानु कुरा पायो भने आकाश पाताल छुने।

फेरि केही भन्न हुन्न गाँठे

धुरू धुरू रूने।

अर्कातिर हाम्रो समाजमा पुरूषहरूको दोहोरो चरित्रलाई पनि इँगित गर्दै नारीले व्यङ्ग्य गरेको गीत पनि पाइन्छ-

एउटा त मुखले तरूणी फकाउने

अर्को त मुखले स्वास्नी रिझाउने

ए आमा सानीमा

नकच्चरो दाइलाई चड्काइदेउ चड्काइदेउ गालामा।

ज) विविध विषयक नेपाली लोकगीत – लोकगीतमा इतिहासको गर्भमा लुकेका केही तथ्यहरूको संकेत पनि नपाइने होइन। पलम्पा रानी, रानीखेत, बेठी लाएर खेती गर्ने कुनै राजाहरूको चलन आदि कुरामा केही तथ्य लुकेका छन्। कतिपय शिक्षा, अर्ती, उपदेश दिने मनसायका लोकगीत छन्। कतिका आफ्ना व्यथा, अनुभव आदिलाई लोकगीतका रूपमा गाइने गरिन्छ। दार्जिलिङको रमणीय परिवेश र यसप्रति आकर्षणबाट लोकगीत यसरी उत्पत्ति भएको छ –

१. साइँली माइली दार्जिलिङ कस्तो छ

दार्जिलिङ शहर, बिजुली बत्ती

बैकुण्ठ (इन्द्रासन) जस्तो छ।

२. लाग्छ मलाई रिबनको रहर

जान्छु म त दार्जिलिङ शहर।

जीवनको बुढ्यौली अवस्था पुगेको सत्यतालाई गीतमा यसरी झल्काइएको छ –

पानी पर्‍यो सिमसिमे झरी लै

अब बूढो भइएछ बरी लै।

असमकी कुनै महाजनकी छोरी विमलादेवीलाई कुनै दिन गैंडाले मारेको घटना कतै घटेको ऐतिहासिक तथ्यलाई यस लोकगीतले प्रकट गर्दछ –

घुरूमा घुरू परेवा घुरू फूलपाते तारो।

माजनकी छोरी विमलादेवीलाई गैंडाले मारो।

 

झ) नक्कल (प्यारोडी) लोकगीत – यस भेदअन्तर्गत सामान्य लोकगीतलाई मनोरञ्जन र ठट्यौलीका रूपमा कसै-कसैले विभिन्न अन्य तरिकाले नक्कल (प्यारोडी) का रूपमा पनि कथेको पाइन्छ। कुनै ठट्यौली बढी गर्ने, समाजमा हँसाउने, मनोरञ्जन दिन रूचाउने खालको व्यक्तिले कुनै पनि लोकगीतलाई त्यही लयमा आफ्नो शब्द र कतै फोहोरी भावको रूप दिएको र पछिबाट त्यसको सिको गरेर प्रचलित रहेको पनि नपाइने होइन। जस्तै लाहुरेको रेलीमाइ फेसनै राम्रो भन्ने लोकगीतलाई अर्को रूप दिएर—

लाहुरेको रेलिमाइ फाटेको झोला

टालटुल गर्दा रेलिमाइ होला कि नहोला।

 

यस्ता किसिमका अनेक लोकगीतको प्रचलन पाइन्छ। यसले कतै कतिपय मूल लोकगीतको शब्द र मर्मलाई अर्कातिर भँगालेको, छोपिदिएको पनि हुनसक्छ। कति त फोहोरी, फूहड किसिमका पनि हुनसक्छन्।

 

६. भारतको नेपाली लोकगीतको वर्तमान स्थिति र मूल्याङ्कन

६.१. भारतमा नेपालीभाषी मानिसहरूको ठुलै आवादी छ। मुख्य गरी दार्जीलिङ, सिक्किम, डुवर्स, पूर्वोत्तर भारतबाहेक देहरादुन, भाक्सू, राँची आदि ठाउँतिर हाम्रो आवादी रहेको छ। यद्यपि यहाँ नेपाली लोकसाहित्य त्यति मौलाएको देखिन्न, टाक्सिएको नै देखिन्छ।

६.२. नेपाली जाति भन्नु नै विभिन्न जात र गोष्ठीहरूको सम्मिश्रित रूप हो। हाम्रा सबै जात- गोष्ठीका आ-आफ्ना लोकगीत, लोकसंगीत, लोकसंस्कार र लोकपरम्परा आदि छन्। गुरूङको रोदी, तामाङको सेलो, बाहुन-छेत्रीको सङ्गिनी, बालुन्, नेवारको लाखे, लिम्बूको च्याब्रुङ, शेर्पाको रेवालू, राईको हाक्पारे, मगरको कौरा इत्यादि सबै नेपाली लोकगीत-संगीतका अङ्ग हुन्। यी सबैको जगेरा गर्नुपर्ने स्थिति छ।

६.३. भारतमा नेपाली लोकसाहित्यमाथि गम्भीर रूपले अध्ययन-अनुसन्धान गर्ने अध्येता-अनुसन्धाताहरूको अभाव छ। यहाँबाट विकसित र प्रचलित भएको नेपाली लोकसाहित्यको सर्वेक्षण गर्नपर्ने देखिन्छ। यहाँ पनि नेपाली लोकसाहित्य समाज पुनर्स्थापित हुनपर्ने देखिन्छ।

६.४. अचेल यहाँका केही उच्च शिक्षा संस्थानमा नेपाली लोकसाहित्यलाई अध्ययनको विषय बनाइएको छ, जो स्वागतयोग्य र स्तुत्य छ। यसबाट पनि भविष्यमा नेपाली लोकसाहित्यको रूपमा नेपाली लोकगीतको विकास हुने सम्भावना देखिन्छ।

६.४.१. उत्तर बङ्गाल विश्वविद्यालयले नेपाली अनर्स तहको तेस्रो खण्डअन्तर्गत  सातौं पत्रको उत्तरार्द्धमा पचास अङ्के नेपाली लोकसाहित्य पाठ्यक्रममा राखेको छ। गत वर्षदेखि चालु भएको नयाँ पाठ्यक्रममा पनि अनर्स तेस्रो खण्डअन्तर्गत विशेष अध्ययनका तीनवटा वैकल्पिक विषयमध्ये एउटा विषय नेपाली लोकसाहित्य राखिएको छ।

६.४.२. नेपाली स्नातकोत्तर तहको दोस्रो खण्डअन्तर्गत विशेष अध्ययन पत्रका छवटा विकल्प विषयमध्ये तेह्रौं पत्रमा लोकसाहित्यशास्त्र र नेपाली लोकलाहित्य एक सय अङ्कको राखिएको थियो भने नयाँ पाठ्यक्रमअनुसार चौथो सत्रको विशेष अध्ययन पत्रका पाँचवटा विकल्पमध्ये एउटा विकल्प सय अङ्कको लोकसाहित्यशास्त्र र नेपाली लोकसाहित्य राखिएको छ।

६.४.३. काशी हिन्दू विश्वविद्यालयको स्नातकोत्तर नेपालीमा पनि एक विषय लोकसाहित्य राखिएको छ।

६.४.४. यसै गरी गौहाटी विश्वविद्यालयको दूर तथा मुक्त शिक्षण संस्थानद्वारा परिचालित नेपाली स्नातकोत्तरको दोस्रो खण्डको सातौं पत्र द्वितीयार्द्धमा नेपाली लोकसाहित्य पाठ्यक्रममा समावेश गरिएको छ। यसको अध्ययन–अध्यापनको लागि सम्बन्धित विद्यार्थी र शिक्षकसमेत गम्भीर अभिरूचि लिएर अध्ययन गर्नुपर्ने देखिन्छ।

६.५ भारतमा नेपाली लोकसाहित्यको अध्ययन-संकलन विशेष गरी दार्जीलिङबाट मात्र भएको देखिन्छ। सिक्किमका एकजनाबाहेक र असम, मणिपुर आदिबाट भने नगण्य छ।

६.६. यताका हाम्रा महाविद्यालय, विशिवविद्यालय र साहित्यिक संस्थाले नेपाली लोकसाहित्यमाथि सङ्गोष्ठी, कार्यशाला गर्नुपर्ने देखिन्छ। यसका साथै एम फिल र विद्यावारिधिको विषय पनि यसलाई ग्रहण गर्ने र गराउने परिवेश बनाउनु औ तिनको प्रकाशन गर्नु आवश्यकता छ।

६.७. पश्चिम बङ्गाल सरकारको सूचना तथा संस्कृति मञ्त्रालयअन्तर्गत रहेको दार्जीलिङ लोक मनोरञ्जन शाखाले नेपाली लोकसंस्कृति र लोकसाहित्यसम्बन्धी विगतमा धेरै काम गरेको थियो। अहिले उक्त शाखा निष्क्रियप्रायः छ। यसलाई पुनः सक्रिय बनाई सरकारी तवरबाट नै नेपाली लोकसाहित्य र संस्कृति संरक्षित, प्रवर्द्धित बनाउने आवश्यकता छ।

६.८ विगतको दार्जिलिङ गोर्खा पार्वत्य परिषद् र वर्तमानको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत पर्ने सूचना तथा संस्कृति विभागले नेपाली नेपाली लोकगीतको संरक्षण, समवर्द्धन र प्रवर्द्धनका निम्ति निकै काम गरेको र गर्दै गरेको पाइन्छ। कुनै वर्ष नेपाली लोकगीत गाउने कलाकारलाई दागोपापबाटले अगमसिंह गिरी पुरस्कार वितरण गर्ने गरेको र वर्तमानमा जिटिएले अरूणा लामा पुरस्कार प्रदान गर्ने गरेको छ।

६.९. यता पश्चिम बंगाल सरकारले पनि लोकगीतको संरक्षण र प्रवर्द्धनका निम्ति लोककलाकारलाई पेन्सन-भत्ता आदि प्रदान गर्न थालेको छ। यसका साथै दूरदर्शनको कोलकोता केन्द्रबाट पनि नेपाली लोकगीत प्रसारण हुने गरेको पाइन्छ।

६.१०. दार्जिलिङ सिक्किमतिर नेपाली लोकगीतका धेरै सिडी अल्बम वा क्यासेट अल्बम त निस्किरहेका छन् तर त्यस हिसाबमा लोकगीतका वास्तविक संकलनहरूको संख्या नगन्य नै छ। केही उल्लेखनीय संकलकहरूमा विगतका इन्द्र थपलिया, मनबहादुर गुरूङ हुन् भने वर्तमानमा सिक्किमका नरेन गुरूङ र यता दार्जिलिङका श्रीमति राधिका प्रधान, मानसिंह मोक्तान प्रमुख हुन्। अझ नरेन गुरूङले सिक्किमका गाउँ-घरतिर पसेर त्यहाँका मानिसहरूले गाउने लोकगीतहरू संकलन गरी बाहिर प्रकाशमा ल्याउने काम गर्छन्। यता मिरिककी राधिका प्रधानले यही काम गर्ने गरेकी छन्।

६.११. यता दार्जिलिङ-सिक्किममा पाइने लोकगीतहरूमा सेलो, सङ्गिनी, मारूनी, मादले, लहरे टप्पा, खैंजडी भजन, समाला, ख्याली आदि अन्य किसिमका लोकगीतका तुलनामा बढी मात्रामा विकसित भएको पाउँछौं।

६.१२. दार्जिलिङ- सिक्किमतिरका केही सामाजिक र सांगीतिक संस्थाले पनि नेपाली लोकगीत प्रतियोगिता, यस्ता अन्य कार्यक्रम गरेर पनि नेपाली लोकगीतलाई जगेरा गर्ने काम गरेका छन्। दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ आदिले लोकगीत प्रतियोगिता पनि सञ्चालन गर्दछन्।

७. निष्कर्ष – विश्वको मानचित्रमा हाम्रो नेपाली लोकगीतको स्थान टडकारो रूपमा पाइम्छ। यसमा पनि यता हाम्रो भारतभूमिमा पनि नेपाली लोकगीत आफ्नै प्रकारले संवर्द्धन र प्रवर्द्धन भएको पाइन्छ। यहाँ पनि नेपाली लोकगीतको संकलन, गायन र अध्ययन कार्य भइरहेको पाइन्छ। यद्यपि यहाँ जति मात्रामा लोकगीतहरू सिर्जना भएको हुन्, तिनको अझै समुचित संकलन र अध्ययन भएको पाइन्न। दार्जिलिङ, असम, मणिपुरतिरका गाउँ, बजारतिर पनि नेपाली लोकगीतको सिर्जना भएको हुनसक्छ। यस अध्ययनबाट प्राप्त निष्कर्षमा के पाइन्छ भने दार्जिलिङमा सबैभन्दा बढी श्रम गीतले फस्टिने मौका पाएको छ। यसका साथै यतातिर बढी मारूनी, मादले, सेलो, खैजडीभजन र चुड्के (झ्याउरे) लोकगीतको संकलन र गायन अरूका तुलनामा धेरै मात्रामा भएको पाइन्छ। युगदेखि यहाँ बस्तै आएका हाम्रा मानिसहरूको आफ्नै लोकगीत विकसित भएको हुनसक्छ। यता दार्जिलिङको चियाबारी, असम-मणिपुरतिरका कोइलाखानी, तेलखानीमा काम गर्ने श्रमिकहरूले पनि लोकगीत विकसित गरे होलान्। त्यसैगरी गौपालन र कृषिकार्यमा संलग्न रहेका श्रमिक, खेताला, गोठालाहरूले पनि लोकगीत अवश्यै गुनगुनाउछन्, रचना र फैलाएका होलान, तिनको समुचित संरक्षण, संकलन, अध्ययन र विकास गर्नुपर्ने आवश्यकता र समयको माग हो।

प्रमुख सन्दर्भ-

  • चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता बुक हाउस्, वि.सं. २०५८।
  • मोहनराज शर्मा र खगेन्द्र लुइँटेल, लोकवार्ता विज्ञान र लोकसाहित्य, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६३।
  • काजीमान कन्दङबा, नेपाली जनसाहित्य, काठमाडौं, रोयल नेपाल एकाडेमी, वि.सं. २०२०।
  • पुष्कर पराजुली (सम्पा.), नेपाली लोकवार्ता अध्ययनहरू, उत्तर बंग विश्वविद्यालय, २०१३।
  • खगेन शर्मा, नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा, नाम्ची, निर्माण प्रकाशन, २००९।
  • डी. बी. सिंह, लौ खेलौं जुवारी, दार्जिलिङ, मृणालिनी प्रकाशन, २०११,पृष्ठ १२।
  • किताबसिँह राई, आँखीझ्यालबाट, सिक्किम, निर्माण प्रकाशन, पृष्ठ ४९।
  • घनश्याम नेपाल, विधा विविधा, कालिम्पोङ, उपमा प्रकाशन, २०१४।
  • वीरभद्र कार्कीढोली (सम्पा.) प्रक्रिया, अङ्क २५, रजत विशेषाङ्क, २०१२।

[1] मानसिँह मोक्तान स्वयंबाट फोनवार्ताअनुसार प्राप्त जानकारी।

[2] लोककलाकार नरेन गुरूङ स्वयम्‌बाट प्राप्त मौखिक फोनवार्ताअनुसार।

[3]  खगेन शर्मा, नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा, नाम्ची, निर्माण प्रकाशन, २००९, पृष्ठ ५९-६०।

[4] मोहन पी दाहाल, नेपाली लोकसंगीत-केही चर्चा, प्रक्रिया, २५ (रजत विशेषाङ्क, सम्पा. वीरभद्र कार्कीढोली) पृष्ठ १९-२३।

[5] सुजाता रानी राई, भारतीय लोकगीतको परिप्रेक्ष्यमा लोकगायक एव् संकलक, इन्द्र थपलिया, काहिविविमा फरवरी२१-२२ तारिख २०१२ मा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीमा पठित संगोष्ठी पत्र।

[6] डा चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता प्रकाशन, 2058।, पृष्ठ 124।

[7]  घनश्याम नेपाल, विधा विविधा, कालिम्पोङ, उपमा प्रकाशन, २०१४, पृष्ठ ११०।

[8] मोहनराज शर्मा र खगेन्द्र लुइँटेल, लोकवार्ता विज्ञान र लोकसाहित्य, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, पृष्ठ ७९-८४।

[9] चूडामणि बन्धु, नेपाली लोकसाहित्य, पूर्ववत्, पृष्ठ १२३।

[10] कबीर बस्नेत, नेपाली श्रमगीत : दार्जलिङको सन्दर्भ, नेपाली लोकवार्ता अध्ययनहरू, सम्पा. पुष्कर पराजुली, उबंविवि।

[11] डी बी सिँह, लौ खेलौं जुवारी, दार्जिलिङ, मृणालिनी प्रकाशन, २०११,पृष्ठ १२।

[12] किताबसिँह राई, आँखीझ्यालबाट, सिक्किम, निर्माण प्रकाशन, पृष्ठ ४९।

[13] काजीमान कन्दङबा, नेपाली जनसाहित्य, काठमाडौं, रोयल नेपाल एकाडेमी, वि.से. २०२०, पृष्ठ १७।

[14] डी बी सिंह, पूर्ववत्, पृष्ठ ४६।

Add a Comment

Your email address will not be published. Required fields are marked *