एक अँध्यारो हृदय
|
पेरिस, एक साँझ, सन १९२३
रात्रीभोजको नाचगान सक्किने कुनै छाँटकाँट छैन, तर मलाई भने पटक्कै बस्न मन छैन जहाँ बाहिरी रुप, सौन्दर्य वा त्यस्तै सतही कुराहरुले बढी माने राख्छन। र दरबारका हलहरुमा यसो टहलिन्छु। बैराग लाग्दा हलका ति सुस्त भित्ताहरुमा ठोक्किंदै परबाट पियानोको मधुर धुनहरु आइपुग्छन मसम्म । अनायासै हलको अन्त्यतिर मेरा नजर एउटा ओइलाइसकेको फूलले भरिएको एउटा फूलदानीले पहरेदारी गरिरहेको पियानोमा ठोक्किन पुग्छन । मलाई त्यो पियानोले तान्छ र म बस्छु एकाएक म त्यो पियनोको अगाडी । नृत्य हलबाट म यति पर छु कि पियानोसँगको मेरो अन्तरंग कसैले सुन्दैन ।
मलाई तीन हरफको बला-आड लय बजाउन मन लाग्छ । बजाउँदै गर्दा यो संगीतले अनन्त प्राणहीन यो दरबारमा केही जीवन भरेजस्तो महसुस हुन्छ । आफैंलाई हेर्छु, र पो झल्याँस्स याद गर्छु, आहा !! कति राम्रो पहिरन मेरो: सितारै सिताराले भरिएका, मोतीका फूलबुट्टाले जिस्क्याइएको एक बाल नीर रंग । म त एक दन्त्यकथाकी परी सिन्डरेला जस्ती पो देखिएकी छु, तर मन ? त्यस्तो महसुस पनि गर्दै छु त म मनमा पनि ? अहँ, छैन । बरु मलाई त भागूँ-भागूँ पो लाग्दैछ यो समाज र यसका निर्दयी थितीबाट, मेरो प्रेम, पेरिस !
तर फेरी यसो सोच्छु, खासमा म सिन्डरेला जस्ती महसुस पनि गर्दैछु कि क्या हो ?
म बिस्तारै बाहिरिन्छु दरबारबाट, मध्य-वसन्त ऋतुको रात्रीकालिन सुगन्धित हावाको सुवास लिँदै। तर यसले त मलाई त्यो बेलाको पो याद दिलाउँदैछ जब म प्रयोग गरिएकी थिएँ । ति यादहरु मेरो मानसपटलमा हुर्रिएर आउँछन एक्कासी, र लैजान्छन मलाई त्यो दिनमा ।
* * *
लण्डन, एक साँझ, सन १९२०
“ल अब चैँ प्रेमिल जोडीहरुको नाच्न शुरु गर्ने बेला भयो है” पियानोवादकको आव्हान आयो । म हतारिंदै भिन्सेन्टको बाहुमा जान्छु त, चाल पाएँ म ढिला भइसकेकी रहेछु । उ त चनेलसँग पो नाच्न थालिसकेको रहेछ।
“भिन्सेन्ट, मैले त हामी साथै पो हुन्छौं भन्ने पो सोचेकी थिएँ ……सदासदाको लागि…… तिमीले भने झैं” म भन्छु, आँखाको आँसु रोक्दै भनें।
“भिक्टोरिया, जिन्दगी यस्तै हो, बानी पारे हुन्छ। अनि चनेलको दाँजोमा तिमी मेरा लागि केही होइनौ, कहिल्यै हुन पनि सक्ने छैनौ” उ हाँस्छ।
ओहो कस्तो आपत । त्यो नृत्यहलका हरेकले मलाई नै पो क्वारक्वार्ती हेरिरहेका छन, अझ कोही त हाँस्दै पो छन्।
म भाग्छु त्यहाँबाट, लज्जित हुँदै।
खै किन हो, म यस्तै ठाउँमा पर्छु, एक्लै अथवा अरु जोसुकै सँग आएको किन न हूँ, जे होस् म यहाँ छु हाल । र यस्तो लाग्दै छ म एक्लो हुनेछु निकै समयको लागि । के गर्नु, लाग्न त लाग्थ्यो नि उसले मलाई प्रेम गर्छ भन्ने । उसले मलाई ख्याल गर्छ भन्ने नि भान हुन्थ्यो नि, तर शायद म सधैं गलत थिएँ ।
जुनको उज्यालोले बगैंचाको दुबोलाई झलमल पारेको छ, ताराहरुको टिलपिल उज्यालो कुनै बहुमुल्य पत्थर झैं चम्किरहेका छन तर मेरो मन भने यो क्षणमा निष्पट्ट अँध्यारोले छाएको छ। “किन होला असल दिलका मान्छेहरु सधैं अति खराब मान्छेको फेला पर्छन ?”
* * *
वर्तमान
खैर, मेरो दिल अझै नि अँध्यारै भए झैँ लाग्छ, तर मलाई मेरो प्रश्नको उत्तर थाहा छ। यस्तो किन हुन्छ भने हामीलाई हाम्रो भाग्यमा जस्तो प्रेम लेखेको छ त्यस्तो प्रेम मात्रै मिल्छ भन्ने लाग्छ न कि जस्तो प्रेमको लागि खासमा हामी लायक छौँ। तर के गर्नु म कच्चा थिएँ त्यतिबेला यो पनि बुझ्न नसक्ने कि प्रेम त एक भ्रम हो जसले मान्छेका असली नियत र दुर्गुणहरुमाथि एक अपारदर्शी नकाब लगाइदिन्छ । शायद पछि कुनै दिन म यो आफ्नो अँध्यारो अनन्त सुरुङ्गजस्तो जीवनबाट माथि उत्रिने छु र मलाई आफ्नो प्रेम मिल्ने छ । शायद, वा शायद छैन कि।
(निहारिका कक्षा छमा अध्ययनरत छात्रा हुन्)
(अनुवादक: सन्तोष न्यौपाने)
राम्रो लाग्यो। उमेरभन्दाको सोचाइ राम्रो।keep it up