नारी चेतनाको बीज रामायण र महाभारतमा

नारी समानता (लैङ्गिक, शैक्षिक, आर्थिक र सामाजिक), नारी अधिकार, वरण स्वतन्त्रताआदि आधुनिक युगको अवदान मानिने सिद्धान्तहरु नै नारीवादका तात्विक तथ्यहरु हुन्। पश्चिमतिरबाट शुरु भएको भनिने नारीलाई हर्ने र जोख्ने नयाँ दृष्टिकोण र व्यवहारमा आधारित नारीवादी धारणा आज विश्वभरी नै झ्याँगिएर गएको छ।यो धारणा पनि आज एउटा आधुनिक साहित्य लेखन र अध्यनकाकेही सामाजिक र वैचारिक धरातल बनिसकेको छ। विश्वभरीका चिन्तक, बुद्धिजीवी, लेखक वा कलाकारमा यसै नारीवादको विचारलाई मलजल हालेर पोस्ने र यसैलाईविचारको दरिलोआधारभूत तत्त्व बनाउने एककिसिमको होड़ नै चलेको छ।

नारी शोषित र दमित छन् र थिए भन्ने भाव र अनुभवले सामाजिक दमन र शोषणबाट उन्मुक्ति खोज्दै समान रुपले नारीलाई पनि सामाजिक व्यवहार,अधिकार र सम्मान पनि प्राप्त होस् भन्ने कामना यस वादले बोकेको छ।

आधुनिक परिवेशमा हुर्किएका नारीहरु आत्मसम्मान र समानताको चाहना राखेर आजपर्यन्त यसै विचारलाई पछ्याउँदै आफ्नो सम्मान, सुरक्षा र अधिकारको निम्ति संघर्षरत छन् भने यो चेतनाले नछोइएका कतिपय समाजमा नारीहरु भने अझै पनि दमन, शोषण र असम्मानका शिकार बनिइनै रहेका छन् ।तर जे भए आजको विश्वमा भने नारी मुक्ति र अधिकारको स्वर भने अझ चर्किएर गएको छ।

तर एउटा प्रश्न यहाँ उठ्छ, त्यो के भने यो नारीवाद र यसका तात्त्विक चाहनाहरु सर्वत्र एउटै भए ता पनि व्यवहारमा एकैनासले सर्वमान्य र ग्राह्य बन्न सक्लान् ?

 

आधुनिक भनिने नारीवादका समानता र सुरक्षा सम्बन्धी धारणा र शोषणका परिधि सबैका निम्ति समान बनेका छन् त ?

विभिन्न जातिविभिन्न संस्कृति, विभिन्न मानिस विभिन्न विचार, अनेकौं देश अनेक रंग र देश अनुसारसबैका आ-आफ्नै मान्यताहरु हुन्छन्। यिनै माथि टिकेका हुन्छन् नारीवादका धारणाहरु र यिनै हुन् नारीवादका वैचारिक धरातल पनि ।पूर्व र पश्चिम दुवै पृथक पृथक विचार र संस्कृति। यसैले नारी समानता र अधिकारको कुरा गर्दा , दमन र शोषणको कुरा गर्दा यीपृथक पृथक विचार र सस्कृतिलाई पनि ध्यानमा राख्नु आवश्यक ठहर्दछ।कुन विशेष परिवेशमा जन्मेका र हुर्केका हुन् ? कुन संस्कृति,काल, समूह र श्रेणी अन्तर्गत उनीहरु पर्दछन्। विशेष सांस्कृतिक-सामाजिक धरातलमा निर्मित र पोषित नारीवादी धारणाहरु यसैले सर्वत्र उसै रुपमा लागू हुन सक्छ भन्ने कुरामा केही विवाद र अलमल आउन सक्छ।हुन त आज विश्व साहित्यमा प्रचलित र मनोनित नारीवादी धारणा भने पश्चिमकै देन मान्नु पर्छ। पुरुष सरह नारीलाई पनि समान रुपमा व्यवहार र सम्मान गरिनु पर्ने चर्को घोषणा आज जताततै प्रचलित छ।

नारीवादको सन्दर्भमा आधुनिक अध्ययन अन्तर्गत आउने प्रतिच्छेदन नारीवाद(intersectional feminism)वर्तमानमा चर्चित र ग्राह्य आन्दोलन बनेको छ।यस अन्तर्गत नारीकोपरिचय, उमेर,श्रेणी,धर्म,रङ्ग,जात,जाति, लिङ्गीय समानतामा अवरोध वा समस्याका रुपमा स्थित विविध दृश्यावलीलाई -चिनेर वा बुझेर (recognizing)‘नारी समस्याको सन्दर्भमा -सम्बोधन गर्ने आंकाक्षा राखिन्छ।।(a movement recognizing that barriers to gender equality vary according to other aspects of a woman’s identity, including age , race, ethnicity, class and religion, and striving to address a diverse spectrum of women’s issues: DICTIONARY. COM) । यसैले एउटै विशेष सांस्कृतिक-सामाजिक धरातलमा निर्मित र पोषित नारीवादी धारणाहरु सर्वत्र उसै रुपमा लागू हुन सक्छन् भन्ने कुरामा केही अन्योल आउन सक्छ वा भनौं एउटै नारीवादको घेरामा विश्वव्यापी नारीहरुको समस्या र पीड़ाको लेखाजोखा हुन सक्दैन। आज विश्व साहित्यमा प्रचलित र मनोनित नारीवादी धारणा भने पश्चिम कै देन मान्नु पर्छ। नारीलाई पनि पुरुष सरह ठानी त्यही रुपमा नारी जीवनको मूल्याङ्कन गर्ने प्रयास र परम्परा आज सर्वमान्य बनी सकेको छ।

अब प्रश्न उठ्छ पश्चिमबाट शुरु भएको नारीवादी धारणा र सिद्धान्त पूर्वमा थिँदै थिएन र?नारीलाई हेर्ने, जोख्ने र सम्मान जनाउने प्रचलन यतातिर थिँदै थिएन र? हो यतातिर कुनै सिद्धान्त बनिएको थिएन,कुनै नारीवादी कार्यकर्ताहरु पनि यता थिएनन्। । कुनै नारीवादी धारणालाई आधारभूतखाँबा मानेर नारीलाई जोख्ने वा मूल्याङ्न गर्ने काम यहाँ भएन तर यतातिर भने

‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताः

यत्र एतास् तु न पुज्यन्ते सर्वास् तत्र अफलाः क्रियाः ।।‘

अर्थात

जहाँ जहाँ नारीकोसम्मान हुन्छ त्यहाँ मात्र देवता रमाएर वस्छन्। नत्र जहाँ नारीको सम्मान छैन त्यहाँ गरेका कुनै पनि क्रिया फलदायी हुँदैन – भन्ने उच्च विचार पाइन्छ। यस्ता विचारमानै हाम्रो समाज हिँड़ेको छ त? नारी सम्मान, नारी स्वतन्त्रतार नारी अस्मिताको यही उच्च विचार नै हाम्रो समाजको ढाँचा हो त? यस्तै विचार नै सामाजिक व्यवहारको मेरुदण्ड हो त ? यस विषयमा अनेकौं प्रश्नहरु सल्बलाएर उठ्छन् ।

सामाजिक तहमा निर्मित यस्ता विचारहरु र व्यवहारका घेरामा हाम्रा नारीहरु सम्मान र अस्तित्वका प्रश्नमा कति माथि उठ्न सकेका थिए वा छन् ? पुरुषप्रधान (पितृसत्तात्मक समाज) भनिने हाम्रो जस्तो समाजमा हाम्रा नारीहरु कत्ति सुरक्षित र स्वतन्त्र थिए वा छन् ? यिनै प्रश्नहरुलाई केलाउने साधन इतिहास हुन सक्छन् , पुराण हुन सक्छन् र साहित्य पनि हुन सक्छन् ।यसैले यहाँ नारीवादका केही प्रश्नहरुका उत्तरमा रामायण र महाभारत जस्ता पुराणमा चित्रित केही नारीहरूलाई केन्द्रित बनाएर नारीवादको घेरामा मिथकीय नारीहरूलाई हेर्ने धृष्टता गरिएको छ। तिनै केही नारी पात्राहरुलाई केन्द्रित पार्दै आजको समाजमा प्रचलित नारीवादी अध्ययन र मूल्याङ्कन विधिलाई यहाँ प्रयोग गर्ने प्रयास गरिएको छ।

रामायणः रामायण त्यो ग्रन्थ हो जहाँ मनोनित सामाजिक मान्यता र मानदण्ड अनुरुप नै नारी जीवनको मूल्याङ्कन भएको छ। दुइ विपरीत विचार र सामाजिक मान्यताको द्वन्द्वमा नारी मर्यादा र आदर्श बेग्ला बेग्लै बन्न पुग्छन्।नारी शक्ति , स्वतन्त्रता र वरण स्वतन्त्रताकै घेरामा यस ग्रन्थका नारीहरु सक्रिय र जीवन्त रहेका छन्। तरै पनि पितृसत्तात्मक समाजमा नारी अस्तित्व र नारी मूल्य र महिमा पुरुष पात्रका तुलनामा धमिलिन पुगेका छन्। सामाजिक मूल्य र सांस्कृतिक भिन्नताले नारी मर्यादाको पृथकता , सामाजिक मानदण्डको आधारमा नै नारी स्वभाव , व्यवहारको भिन्नता र नारी सुलभ ईर्ष्या, लोभ आदिकै परिणाम स्वरुप रामायणका घटना विशेष संरचित भएका छन्।

रामायणका घटनाक्रम विशेष राममाथि नै केन्द्रित राख्ने ध्येय रहे ता पनि रामायणका कथाक्रमलाईअघि बढ़ाउने कारक तत्व वास्तवमा नारी पात्रहरु नै रहेका छन्। नारी शक्ति र स्वतन्त्रता,मर्यादा र व्यवहार यिनै कुराहरुलाई आधार बनाई रामायणका केही नारी पात्राहरुको अध्ययन र विश्लेषण गरिने प्रयास गरिएको छ।

रामायणमा कैकयीमन्थरा उल्लेखनीय नारी पात्राहरु हुन् । रामायणको कथानकलाई एउटा विशेष मोड़ प्रदान गर्नमा यी दुइ नारीहरुको पनि विशेष योगदान रहेको छ। सूचारु रुपले चलिरहेको राजघरानको सम्पूर्ण वातावरणलाई नै अलग अर्को नया मोड़ प्रदान गर्नमा यी दुइ नारीहरुको भूमिकालाई बिर्सन सकिँदैन।

परम्परागत आस्थामा र मान्यतामा नै हिँडिरहेकी कैकेयी राजा दशरथकी पत्नीहरुमा प्रिय पत्नी रहेकी छिन्। रुप र गुणले सबैलाई रिझाएर बसेकी कैकेयी शक्ति सम्पन्न पनि छिन्। राजा दशरथलाई युद्धमा सहयोग पुर्याउने कैकेयी पुरुष समान बुद्धिमानी र साहसी पनि छिन्। सौताकै छोरो भए पनि रामलाई नै प्रिय ठानेर माया गर्ने कैकेयीको मनमा अचानक मन्थराले लोभ र नारी सुलभ ईर्ष्याको भाव जगाइदिन्छिन्। परिणाम स्वरुप कैकेयीले आफनो अधिकार र शक्तिको प्रयोग गरेर राजालाई रामको बनवास र आफ्नो छोरो भरतलाई राज्यको माग गर्छिन् । कैकेयीको यस निर्णयले रामायणको कथावस्तुमा ठूलो परिवर्तन आउँछ र कथाको मोड़ नै अर्कोतिर बहन्छ। वचनवद्ध राजा दशरथ कैकेयीको यस मागले अवाक् बन्छन् । कैकेयीको कुरालाई नमानी धर पाउँदैनन्। शक्ति र सत्ताको लोभमा नै भए पनि कैकेयीले लिएकी निर्णयले नै रामायणमा एउटा क्रान्तिकारी मोड़ आउँछ । नारी शक्ति, स्वतन्त्रता र महत्वाकांक्षाले यसरी रामायणमा कार्यव्यापारलाई द्रुततासित अघि बढाएर लैजाने काम गर्छ। नारी निर्णय र मागको परिणामस्वरुप राम बनवास तिर लाग्छन्। यसरी नै पछि पनि केही नारीहरुकै कारणले गर्दा रामायण रोचक बनिंदै जान्छ र रामायणमा अरु संघटक तत्त्वहरु थपिदै जान्छन्।

मन्थरा यहाँ नारी सुलभ ईर्ष्या, सत्ताको लोभ र परम्परागत सौतेनी डाह र अधिकारको भावलाई उकास्ने कारक तत्त्वको रुपमा रहेकी छिन् । मन्थरा नै वास्तवमा रामको वनवास र भरतलाई राज्याभिषेक दिनुको कारण बनेकी छिन्। उनैले घोटेर खुवाएकी विषको परिणाम स्वरुप रामायण अझ रोचक र यथार्थ बन्न पुगेको पनि छ। मन्थरा जस्ती साधारण नारीको कारणले गर्दा नै रामायणले आदर्श रुप लिंदै गएको छ। यसैले भन्न सकिन्छ साधारण नारीको बुद्धि चातुर्य र ईर्ष्याको समक्ष सम्पूर्ण दशरथको आदर्श परिवार नै खण्डित भएको छ र राजा दशरथ जस्ता शक्तिशाली व्यक्तिलाई समेत मानसिक तापले मृत्युको मुखमा पुर्याएको छ।कैकेयी जस्ती नारीलाई समेत मानसिक रुपमा कमजोर बनाउन सक्ने मन्थरा वास्तवमा रामायणमा खल पात्र भएर देखा परेकी छिन् क्षणिक रुपमा मन्थराको चित्रण रहे पनि उनकै प्रभावको परिणामस्वरुप बनेर नै रामायणको कार्यव्यापार प्रवाहित रहेको छ । सामान्य नारी पात्रको रुपमा चिनिने मन्थरा यहाँ नारी शक्तिको एउटा विम्ब नै बनेकी छिन् ।

यसै गरी रामायण- मा सीताशूर्पणाखा ती विशेष दुइ नारी पात्रहरु हुन् जसले रामायणका कथावस्तुलाई अझ अर्को नयाँ मोड़ र एउटा विचार वा दृष्टिकोण प्रदान गरेका छन्।

सीता रामकी प्रिय पत्नी , राजा जनककी छोरी र राजा दशरथकी पुत्र वधू। सर्व गुण सम्पन्न । शूर्पणाखा राजा रावणकी बहिनी। यी दुवै अलग अलग संस्कृति र व्यवहारका प्रतीक हुन्। बेग्ला बेग्लै देश र परिधिमा जन्मेका नारी पात्रहरु हुन्। यी दुवै दुइ किसिमका संस्कृतिमा हुर्के बढ़ेका। दुवैको सोचाइ अलग –अलग। यही सांस्कृतिक भिन्नताले गर्दा यी दुइमा वैचारिक र व्यावहारिक पृथकता देखिन्छ। सामाजिक मान्यता, सांस्कृतिक चेतना र परिवेश अनुसार मानवीय मन र मस्तिष्क निर्मित हुने हुनाले यसलाई पनि ध्यान दिनु आवश्यक हुन्छ – नारीवादी धारणाको कुरा गर्दा।

राम र रावणको युद्धका मूल कारण यी दुइ नारीहरु बनेका छन्। रानी कैकेयीको इच्छानुसार बनवास गएका छन् राम, लक्षमण र सीता । एकदिन दक्षिणबाट घुम्न (?) आएकी शूर्पणखाले रामलाई देख्छिन् र विवाह गर्न उत्सुक हुन्छिन् तर रामले सीतालाई देखाउँदै हाँसेर म विवाहित छु भनेर बरु आफ्नो भाइ लक्ष्मणकहाँ जाऊ भनेर पठाइदिए। पूरुषोत्तम रामले आफनी पत्नी अघि एक पत्नीव्रत लिएको देखिए ता पनि उस्तै विवाहित लक्षमणकहाँ शूर्पणाखालाई पठाउनुले गर्दा पत्नीको अनुपस्थितिमा परस्त्रीगमनको स्वीकृति गरेको भान हुन्छ वा लक्षमणले पनि विवाह गर्दैनन् भन्ने विश्वासमा शूर्पणाखासित निर्मम ठट्टा गरेको आभास हुन्छ। अझ लक्षमणले मत दास मात्र हुँ सूख पाउनलाई त मालिककहाँ नै जानुपर्छ भने पछि त्यो वाक्यले शुर्पणाखाको अघात अहंमा नूनचूकको काम गर्छ। शूर्पणाखाप्रति राम र लक्षमणको व्यवहारलाई सीताले निरीह रुपमा हेरीरहिन ,त्यसो नगर्नुहोस् भनेर भनिनन् । सीताको मौनतालाई आफूप्रतिको असम्मानमा सम्मतीको रुपमा शूर्पणाखाले लिइन् र क्रोधवश आफू बाराबरीकी सीतालाई आक्रमण गर्न पुगिन्।एउटी नारीको यस्तो दुस्साहस(वा साहस ?)) देखेर क्रोधित भएका लक्ष्मणले आफ्नो दाज्यू रामको निर्देशनमा शूर्पणाखाको नाक-कान( भानुभक्तीय रामायण) काटिदिन्छन् ।तर त्यसो गर्दा उनीहरुले शूर्पणाखालाई आफ्नो व्यवहारलेअगावै कति अपमानित तुल्याएका थिए र औ त्यो अपमानले शूर्पणाखाको नारीत्वमा कति आघात पुगेको थियो होला भन्ने कुरालाई उनीहरु चटक्क बिर्सिदिन्छन् । आफ्नो सम्पत्ति(सीता)माथि अरुले गर्न खोजेको दुर्व्यवहारलाई उनीहरुले आफ्नै असम्मान र असुरक्षा ठान्छन् प्रतिकारमा उनीहरु कसैको पनि मान सम्मानप्रति संवेदनशील बनेका छैनन्। नाक र कान काटिएरघर फर्केकी बुच्ची भइसकेकी बहिनीको दयनीय हालत देखेर र नाक-कान काटेको कारण जानेर रीस र आवेशमा आएर रावणले पनि सुन्दरी मानिएकी रामकी पत्नीसीतालाई हरण गर्छन्। परिणामस्वरूप राम र रावणको युद्ध हुन्छ र यस युद्धमा रावणको अन्त्य हुन्छ। राम रावणको युद्धको मूल कारण नै दुइ नारी बनेका छन्।

शूर्पणखाको नाक-कान काटिदिनु र सीताको हरण यी दुइ घटना एकार्कासित जोड़िएका छन्। युद्धको परिणति जे भएपनि रामायणमा यी दुवै नारीहरु विना कारण नै सजाय पाउँछन्। शूर्पणखा बेग्लै सांस्कृतिक परिवेशमा हुर्केकी, स्वतन्त्र रुपमा बाँच्ने र निर्णय लिने परिवेशमा जन्मेकी । विवाहको प्रस्ताव नारी स्वयंले पनि राख्न सक्ने सांस्कृतिक धरातलमा हुर्केकी शूर्पणखालाईआफुलाई मन परेको युवकलाई विवाह प्रस्ताव राख्नु अनुचित लागेन । तर अलग वातावरण र अलग सामाजिक मान्यता र मर्यादामा हुर्केको लक्ष्मणलाई शूर्पणखाको प्रस्ताव निर्लज्ज र अनुचित लाग्छ यसैले दाज्यू रामको निर्देशमा उनको नाक काटिदिन्छन्। किनभने उनीहरुको दृष्टिमा यस्तो व्यवहार नारी जातिलाई नसुहाउने कार्य हो । राम रलक्ष्मणको संस्कृतिमा नारीले आफूखुशी परपुरुष समक्ष यस्तरी विवाह प्रस्ताव राख्न सुहाउँदैन भन्ने भएको हुनाले विपरीत वा पृथक संस्कृतिप्रतिको असहिष्णुताको भाव उनले शूर्पणाखाको नाक-कान काटिदिएर व्यक्त गरेका छन्।

रावण यहाँ आफ्नी बहिनीको दुर्दशामा क्रोधित हुन्छ।बहिनीप्रतिको प्रेम र स्नेह कै कारणले गर्दा बहिनीकै आत्मसम्मान र इज्जतको निम्ति उनले पनि सीता हरण गर्छन्। सीताको हरणको मूल कारण बनेको छ –शूर्पणखाको दुर्दशा। यसरी यी दुइ घटना एकार्काका पूरक बनेका छन्।राम र रावण दुवै नारी सम्मानको निम्ति युद्ध गर्छन् तर रामले गरेको युद्ध भने धर्म युद्ध बन्छ भने रावणले गरेको युद्ध चाँहि अधर्मसित गाँसिएको छ भनेर बुझाइएको छ । यहाँ सीताशूर्पणाखा दुवै नगण्य बन्छन्। पितृसत्तात्मक समाजमा नारी सम्मान र अस्तित्वको प्रश्नै उठेन । दुइ विपरीत संस्कार र संस्कृतिलाई एउटै कसीमा घोटेर हेर्दा सीता नायिका र शूर्पणाखा खलनायिका बनेका छन्। तर जुनसुकै कारणले भए पनि यी दुवै नारीहरुको आत्मसम्मान भने खण्डित हुँदै गएको छ — एउटा लक्ष्मणको कारणबाट (सीताशूर्पणाखा दुवैको) र दोस्रो रावणको कारणले गर्दा राम र समाजबाट(सीता) ।

एकातिर शूर्पणाखा र अर्कातिर सीता। यी दुवै विपरीत सांस्कृतिक धरातलमा उभिएका दुइ विचार र धारणाका नारीहरु हुन्। उत्तर र दक्षिणका दुइ विचारधाराको सङ्घर्ष यहाँ स्पष्ट हुन्छ। सीता आदर्शवादी नारी बन्छिन् लक्ष्मणको दृष्टिमा भने शूर्पणाखा ठीक यसको विपरीत। तर जब नारी सम्मान ,अधिकार, स्वतन्त्रताको प्रश्न उठ्छ तब एउटै दृष्टकोणले मात्र सबैलाई निर्क्यौल गर्न न्यायोचित हुँदैन। शुर्पणाखा आफ्नो दृष्टिकोणमा ठीकै छिन्। उनी स्पष्टवादी छिन्। उनी जन्मेकी समाज र परिवारमा यसरी आफ्नो विचार पोख्नु सामान्य कुरो होला। यसैले उनको निम्ति आफ्नो विचार पोख्नु र परपुरुष समक्ष विवाहको प्रस्ताव राख्नु कुनै अनुचित कुरो भएन होला उनी बाँचेको समाजको निम्ति। उनले आफ्नो विचार मात्र पोखेको थिइन् परिणामस्वरुप उनी अपमानित बन्नु पर्यो, राम र लक्ष्मणको निर्दयी ठट्टा र वचनले मन र मस्तिष्क आहत हुनपुग्यो। आजपर्यन्त हाम्रो संस्कृति र परम्पराभित्र शुर्पणाखा नारी लज्जाहीनताको उदाहरण बनेकी छिन्।

नाक काटिसकेपछि शूर्पणाखारामायण-बाट लोप भएकी छिन्। रामायणभरी फेरिशूर्पणखाको नाम अरु आउन सकेन । नाककाटिएकी शुर्पणाखाको मानसिक अवस्था कस्तो भयो होला? आफ्नो कारणले गर्दा दाज्यू रावणको दुर्गतिले उनलाई मानसिक सन्ताप प्रदान गर्यो कि गरेन? यस विवरणबाट पाठकहरु अनभिज्ञ नै रहन पुगे। यसलाई लेखकीय मानसिकतामा रहेका अव्यक्त वा अन्जान विभेद मान्न सकिन्छ कि? अलग संस्कृति र अलग रहनसहन भएकी शूर्पणाखाको साहस (वा दूस्साहस) वा व्यवहार अमान्य ठहराएर हो कि?

रावणद्वारा अपहरित भइसकेपछि र उनको उद्धार भइसके पनि सीताले समय समयमा अपमानको विष पिउनु परेको छ। आफ्नो पवित्रताको अग्नि परीक्षा दिँदै सामाजिक र पति धर्मको निर्वाह गर्नु परेको छ। आदर्शवाद र समाजवादको घेरामा बन्दी परेकी सीताले आफ्नो व्यक्तित्वलाई समाजद्वारा नै निर्मित आदर्शको घेरामा नै मर्यादित राख्नु परेको छ। समाज र पति आज्ञालाई नै सर्वोपरी ठान्दै गर्भवती सीता पतिगृह त्याग गर्न वाध्य बन्नुपरेको छ । उनले आफ्नो सन्तानलाई समेत वनमा नै जन्म दिएकीछिन्। तर आदर्शवादी सीता स्पष्टवादी हुन सकेकी छैनन्। आफुमाथि भएको अन्यायलाई प्रतिवाद गर्दिनन् तरै पनि उनले समाज र पतिलाई माफ गरेकी छैनन्। यसको सङकेत सीता भूमिगत भएकी कुराले स्पष्ट पार्द्छ। धरतीबाट उत्पन्न सीता अन्तमा धरतीकै कोखमा शरण लिन पुग्छिन्। पति त्याग र समाज त्यागको यस घटनाले सामाजिक धारणा र मर्यादा प्रति सीताको सांकेतिक विरोध स्पष्ट हुन आउँछ। आत्मसम्मानमा घात लागेपछि र बिना कसूर पतिद्वारा त्यागिएकी सीताभित्रकी नारीत्व कुनै दोष बिना बारम्बार खण्डित हुँदै गएको छ ।यहाँ नारी जीवनको विविध पक्षलाई बारम्बार आघात पार्ने सामाजिक अन्यायको कसैबाट वा कतैबाट पनि कुनै प्रकारको विरोध छैन । सीताभित्रको नारी बारम्बार खण्डित भए पछि, आत्मसम्मानमा चोट लागेपछि बरू सीताले नै निर्णय लिन्छिन् पति घर नफर्कने । सन्तान जिम्मा लगाइसकेपछि सीता भूमिगत हुन्छिन्। रामायणमा सीता भूमिगत भएकी खण्डले भने सीताले नारी असम्मान र सामाजिक एक पक्षीय खोक्रो आदर्श र नीतिलाई अस्वीकार स्वरुप प्रतिकार गरेकी हुन् भन्न सकिन्छ।

सीताशूर्पणाखा दुवै यहाँ शिकार बनेका छन्। आफ्नो मन्तव्य पोख्नु स्वतन्त्रता प्राप्त शूर्पणाखाको स्वभिमानमा चोट लाग्छ लक्ष्मणद्वारा नाक काटिए पछि, उसैको स्वभिमानको खातिर दाज्यू रावणले सीता हरण गर्छन् । लक्ष्मणको कर्मको फल सीताले भोग्नु परेको छ। लक्ष्मण दोषी भएर उसले पाउनु पर्ने सजाय सीताले भोग्नु परेको छ। यसरी दुवै नारी वास्तवमा लक्षमणद्वारा नै परोक्ष वा अपरोक्ष रुपमा अपमानित हुनु परेको छ। यस अपमानको ज्वालालाई सीताले अन्तसम्म आफ्नो हृदयमा राखेर बाँच्नु परेको छ। परपुरुषद्वारा अपहरित हुनु , समाज र पति रामलाई आफ्नो पवित्रताको प्रमाण प्रस्तुत गर्नको निम्ति अग्नि परीक्षा दिनु र गर्भवती अवस्थामा नै वनगमन हुने आदेश पाउनु वास्तवमा न्यायोचित देखिदैन ।

आफू राजा जनककी पुत्री हुँदाहुँदै पनि, राजा रामकी प्रिय पत्नी हुँदाहुँदै पनि जोगिनी भएर वनमा जीवन बिताउनु पर्ने अवस्था वास्तवमा अत्यन्त दुखदः र दयनीय हो ।सीता शुरुदेखि नै स्त्री धर्मको निर्वाह गर्ने आदर्शकी प्रतिमूर्तिकी रुपमा ऊभिएकी छिन्। सामाजिक धर्मको पालनलाई मौन स्वीकृति प्रदान गर्ने सीता रामायणमाश्रेष्ठ ठानी र पूजनीय बनेकी छिन्। तर कतै पनि सीताभित्रको नारी घाइते हुँदै गएको तथ्य र उनको मानसिक सन्ताप्रति भने तत्कालिन समाज संवेदनशील बन्न सकेन । नारीको व्यक्तिगत पीड़ा र मानसिक उहापोहको भने लेखाजोखा भएन। बारम्बार अपमानित हुनु पर्दा उनीभित्र उत्पन्न हुँदै जान लागेको मानसिक कुण्ठा र आत्मसम्मानमा लागेको आघातलाई भने कतैतिर पनि कसैले पनि उल्लेख गरेको पाँइदैन। समाजमा मनोनित मान्यताहरु र आदर्शको घेरामा नै राखेर सीताको त्याग र बलिदानको कुरा गरियो । तर त्यही अनुरुप नारी जातिको मानवीय मन र आत्मसम्मानको कुरानै भएन ।

शूर्पणखा त नाक काटिएपछि कथाबाट नै हराएर जान्छिन्। उनको रुप , गुण र सामर्थ्यको कतै पनि उल्लेख पाँइदैन। बहिनीको अपमानको प्रतिशोध लिने रावण पनि सोझै लक्ष्मणलाई सजाय दिंदैनन् उनको प्रतिशोधको माध्यम सीता हरणनै बन्छ। नारी भएर कमजोर (?) ठानेर हो कि सीता हरण नै उनको लक्ष्य बन्छ। शूर्पणखा पनि नारी भएर नै होला नाक काटिदिन सजिलो भएर लक्ष्मण पनि सोझै शुर्पणखाको नाक नै काटिदिन्छन्। यहाँ दुवै नारी शारीरिक रुपमा कमजोर नै भएर हो कि पुरुषका बदलाका कारण बनेका छन्।अनि युद्धका कारण पनि रहेका छन्।यसरी दुइ नारीहरुको सम्मान र अस्तित्व रक्षाकै कारण भएको युद्ध राम र रावणको युद्धको नामले प्रसिद्ध बन्छ। नारी शक्ति होइन तर पुरुष शक्तिको प्रदर्शन बन्छ र रामायण दुइ पुरुषहरुको मात्र मूल कथा बन्न पुग्छ। धर्म र अधर्मको युद्ध बन्छ। धर्मको युद्धमा नारी निरीह नै बन्छिन् र नारी सम्मानको भाखा भने बारम्बार लुप्त हुन्छ तर दण्डित भने नारी नै हुन्छन् वा बन्न पुग्छन्। धर्म स्थापनामा नारीको कुनै मोलतोल नै हुँदैन नत नारी पुरुष सरह नै रहन पाउँछन्।नारी त केवल सामाजिक मर्यादा र आदर्शकी प्रतिमूर्ति मात्र बन्न पुग्छन्नत्र भने लज्जाहीनताको प्रतीक बन्छन्।

महाभारत

हिजआज लौकिक मत अनुसार “महाभारत” त “ फेमिनिस्ट् टेक्स्ट्” नै भएको छ।। यस ग्रन्थमा भएका नारी पात्रहरु सबै नै सशक्त र स्वतन्त्र रहेका प्रतीत हुन्छन् । महाभारतको शुरुदेखि नै सत्यवती(मत्स्यकन्या -मत्स्यगन्धा) जस्ती नारी सशक्त र निर्णायकको रुपमा उभिएकी देखिन्छिन्। उनैको कुरालाई सर्वमान्य ठहर्याई उनैको सन्तानलाई उत्तराधिकारी घोषित गरिन्छ। यहीँबाट महाभारतको कथाको कार्यव्यापार शुरु भएको छ ।त्यसपछि महाभारतमा धेरै नारी पात्रहरुको आगमन हुन्छ । कुन्ती , माद्री, द्रौपदी , सुभद्रा आदि नारी पात्रहरु पनि छन् जसले यस ग्रन्थलाई रोमाञ्चक बनाएका छन् भने नारी महिमा ,शक्ति, वरण स्वतन्त्रतालाई आकर्षक ढंगमा प्रस्तुत गरेका छन्।त्यस समाजमा नारीलाई वरण गर्ने र निर्णय लिने स्वतन्त्रता प्राप्त छ। यसैले सत्यावतीदेखि नै नारी निर्णय र मतलाई समर्थन छ।

कुन्ती पाण्डव पत्नी भए पनि उसको सन्तान पाण्डवको होइन । युधिष्ठिर ( धर्म वा यमपुत्र) भीम ( वायू पुत्र ), अर्जुन (इन्द्रपुत्र),मानिन्छन्। अझ अघि गयौं भने त अविवाहित हुँदा नै कर्ण पनि जन्माएर कुन्तीले सामाजिक मर्यादाको उल्लंघन गरेकी छिन् । स्वतन्त्रता र आफू इच्छाअनुसार काम गर्ने सामर्थ्यभएकी कुन्ती विवाह पश्चात पनि एक सशक्त र आधिपात्य प्राप्त नारीको रुपमा चिनिएकीछिन्। पाण्डवको मृत्यु पश्चात् स्वेच्छाले सती हुन गएकी माद्री पछि त कुन्तीको एकक्षत्र राज हुन पुग्छ– आफ्नो सन्तान र राज्यमाथि।कुन्ती राजनैतिक र व्यक्तिगत दुवै रुपमा सफल नारी बनेकी छिन्। एउटै पत्नीसित आफ्ना पाँच छोराहरुलाई विवाह गराइदिएर निर्धक्क भइ पारिवारिक रुपमा एकक्षत्र राज गरेकी छिन् । कुनै कलह , कुनै पारिवारिक अशान्ति बिना कुन्तीले पाँच भाइहरुलाई एक मुठ्ठीमा बाँध्ने काम गरेकी छिन्। बौद्धिक तहमा सचेत कुन्ती महत्वाकांक्षी भएर पनि देखा पर्दछिन्। नारी सशक्तिकरणको दृष्टिले कुन्तीलाई सफल मान्न सकिन्छ।

द्रौपदी महाभारतकी नायिका हुन् । अग्निबाट उत्पन्न द्रौपदी महाभारतमा पाँच पाण्डवकी पत्नीको रुपमा चिनिएकीछिन्। कर्णलाई वरको रुपमा अस्वीकार गरी अर्जुनलाई पतिको रुपमा स्वीकार गर्ने द्रौपदीलाई वरणको स्वतन्त्रता रहेछ भन्ने भान पाठकलाई पर्न जान्छ। तर पाँच पाण्डवकी पत्नी भएर बस्नु पर्दा उनले कुनै पनि प्रतिकारको भावना नदेखाएकीमा पाठकलाई आश्चर्य पनि पर्न जान्छ।

सर्वचर्चित, सर्वव्यापी चिरहरणसित परिचित द्रौपदी आज वलत्कृत नारी र पुरुष प्रधानद्वारा सताइएकी नारीको अशक्ततालाई दर्शाउने प्रतीक नै बनीसकेकी छिन्। आजपर्यन्त नारी शोषण , प्रतिकार र सबैकोअसमर्थताको रुपमा द्रौपदी जीवित नै छिन्। यहाँ द्रौपदी मूल पात्रकी रुपमा उभिएकी छिन्। कूल वधूको उपमा पाएकी द्रौपदी प्रिय बन्न सके पनि, पाँच समर्थवान पतिकी पत्नी भए पनिशक्ति सम्पन्न कौरव र तिनीहरुको सभामा एक्लो पर्छिन् ।जूवामा पतिद्वारा( युधिष्ठरद्वारा) हारिएकी द्रौपदी आफ्नो स्वत्व र आत्मसम्मानको रक्षाको निम्ति शारीरिक रुपले सशक्त भएर आफैलाई बचाउन सकेकी छैनन्।सभामा घोर अपमानको घुट्को पिऊनु सिवाय उनीसित अन्य विकल्प रहँदैन। ठूलो सभामा आफ्नै देवरद्वारा नै चुल्ठोमा समातेर तानिँदै ल्याइएकी द्रौपदी पर सरेर बसेकी हुन्छिन्। सभामा कर्णद्वारा समेत अपशब्दहरुको बाण वर्सिन्छ। कौरवहरुको कूकृत्यले सम्पूर्ण सभा नै स्तब्ध बन्छ , लज्जित बन्छ । तर यसको विरोध कसैले गर्दैन -विकीर्ण बाहेक। यही नारी अपमान र आत्सम्मानको परिणाम स्वरुप महाभारतको युद्ध हुन्छ । अपमान र आफ्नै पतिको जुवाको व्यसनको दुर्बलताको कारणले गर्दा कौरव सभामा अपमानित बनेर क्रोधित भएकी द्रौपदीको आत्मसम्मान, सामाजिक सम्मान वा पारिवारिक सम्मानमा ठूलो घात पर्छ। द्रौपदीको यो अवस्था देखेर जूवामा हारिसकेका भए ता पनि पाण्डु पुत्रका रोषले पराकाष्ठा नाघ्छ । र यसको प्रतिशोध लिने घोषणा गरिन्छ। यही घोषणा यहाँ द्रौपदीको मान सम्मान र नारी अस्तित्वको आधार बन्छ। यसरीयहाँ युद्धका कारणहरू मध्ये एउटा कारणनारी अपमान र असम्मान पनि नै हुन आउँछ।

सभामा द्रौपदी मूक भएर बसेकी छैनन्। आफूमाथि भएको घोर अन्यायको प्रतिवाद गर्ने क्षमता उनीकहाँ रहेको छ। यद्यपि शारीरिक बल र शक्तिको समक्ष उनी अपमानित हुनु परेको छ। सामूहिक रुपमा भएको अन्यायलाई शारीरिक शक्तिले रोक्न नसके पनि वचन र बोलीले भने त्यस अत्यचारको प्रतिवाद भने गरेकी छिन् तर शक्तिको अविवेक सामुन्ने उनले पराजित बन्नुपरेको छ । सभामा बसेका सम्पर्णविद्वतवर्ग , आफ्ना पतिवर्ग र सम्पूर्ण उपस्थित जनलाई आक्रोश जनाउने द्रौपदी मानसिक तौरमा भने एक सशक्त नारीको रुपमा चिनिन आउँछिन्।नारी सम्मान र अन्यायको प्रश्न उठाउने द्रौपदीलाई एक निष्क्रिय नारीको रुपमा लिन सकिँदैन ।आफूमाथि बलजफ्ति हुन लाग्दा मलाई छुने त्यो को हो ?भनेर प्रश्न गर्ने र आफ्नै पतिद्वारा आफूलाई जूवामा हारिएको थाहा पाएर युधिष्ठिरलाई (आफनै पतिलाई ) समेत आफू जूवामा पराजित भइसके पछि मलाई जूवामा हाल्ने अधिकार कसले दियो भन्ने द्रौपदीको प्रश्नले भने द्रौपदी भित्र रहेको नारीवादी चेतनाको आभास पाइन्छ ।

निश्चित रुपमा त्यस समयमा आजको नारीवादी धारणा र दृष्टिकोणले महाभारतका नारीहरुलाई जोख्न सकिंदैन।आजको आधुनिक नारीवादी वैचारिक धरातलमा ती मिथकीय नारी पात्रहरुको लेखाजोखा हुनैसक्दैनतरै पनि द्रौपदीले उठाएका ती प्रश्नहरू भने नारी सम्मान र अस्तित्वसित नै गाँसिएका छन्। अपमानित र क्रोधित द्रौपदीले निर्धक्क भई प्रश्न गर्न सक्नु नै वास्तवमा द्रौपदीभित्र रहेको स्वभिमानको परिचय हो । नारी अस्मिता र अस्तित्वको प्रश्न हो। यसैले भन्न सकिन्छ नारीवादी धारणाको आज जुन मूर्त आकार छ त्यसैको सचेत भाव भने त्यस कालका नारीहरुमा पनि थियो, यसको ज्वलन्त उदाहरण द्रौपदीले उठाएका प्रश्नहरुले दिएका छन्।

अझ थपेर भन्नु पर्दा रामायण कालदेखि नै नारीहरुको अस्मिता र यसप्रति पुरुष औ सामाजिक असंवेदनशीलता निकै नै प्रखर देखिन्छ ।आफूमाथि परेको आजीवनको असंवेदनशीलतालाई सीताले सहे ता पनि अन्त्यमा सीताले मौन प्रतिकार गरेकी छिन्। नारी शोषण र अधिकारको प्रतिकार तर महाभारतमा आएर केही चर्किन्छ सीताको मौन प्रतिकार द्रौपदीमा आउँदा वाचाल बन्छ। स्त्री धर्म पालनतिर नै द्रौपदी पनि रमाए जस्ती देखिए ता पनि उनले नारी अस्मिता,अधिकार र सम्मानको दाबी वाचाल रुपमा सम्पूर्ण राजसभा समक्ष गरेकी छिन् ।उनको यो प्रतिकारले उनीप्रति सहानुभूति र सम्मानकोभाव पाठकमा उब्जाएको छ। यसरी सामाजिक अन्याय र मनमानीको विरोधमा नारी प्रतिकारले शिर उचालेको अनुभव गर्न सकिन्छ। स्त्री धर्मको पालनमा द्रौपदीले शारीरिक र मानसिक रुपमा जुन पीड़ा खप्नु परेको छ त्यसकै परिणामस्वरुप उभित्रको नारी चित्कार नै यहाँ नारीत्वमाथि व्यवहार बारे एउटा विस्मयकारी प्रश्नको रुपमा उभिएको छ।

नारीजीवनको यस्तो स्थिति वास्तवमा तत्कालीनसमाजमा मान्य धारणा , सामाजिक मर्यादा ,पुरुष अहं , ईर्ष्या, शक्ति वा सत्ता दुर्योपयोगको परिणति हो। हिजआज सामूहिक रुपमा हुने नारी बलत्कारको जिउँदो यथार्थ द्रौपदी चिरहरण नै हो।

द्रौपदी सुन्दर छिन्। र परम्परागत सामाजिक मान्यता र विचारमा नै उनी हिँड़ेकी देखिन्छिन्।स्त्री धर्मको निर्वाह पनि गरेकी छिन्। पति, पतिघर, परिवार र पति इच्छालाई मान्यता दिने नारी जीवनको महत्तालाई नै सर्वमान्य ठान्ने द्रौपदी पनि त्यही समाजकै अङ्ग भएर देखा पर्छिन् तर यति हुँदा हुँदै पनि नारी सम्मान र अधिकार, नारी अहं र प्रेमको तुष्टिलाई पनि समाजले कदर गर्नु पर्नेभन्ने आवश्यकताकोदृष्टान्त रामायण र महाभारत दुवै महाकाव्यमा पाउन सकिन्छ।

रामायण र महाभारत दुवै महाकाव्यमा नारीको सम्मान र सुरक्षा हुनु पर्ने कुरामा दुइ मत देखिँदैन। तर बिडम्बना के छ भने नारीलाई पुरुषको व्यक्तिगत सम्पत्ति वा व्यक्तित्वको विस्तारको रुपमा लिइएको छ । त्यसैले नारीको सम्मान र सुरक्षा पुरुष व्यक्तिको अहंको प्रश्न भएको छ , यसैको निम्ति युद्ध भएको छ। पुरुषको यसै स्वामित्वलाई चुनौति दिने द्रौपदीका उद्गारहरु नै नारी अस्तित्वका स्वतन्त्रताका प्रारम्भिक हरफहरु हुन्।

सुभद्रा कृष्ण र बलरामकी बहिनी। सुन्दर छिन् र उनी पनि आफनोवर चुन्न स्वतन्त्र छिन्। सौता जान पाउने र क्षमतावान पतिसित सौता जान पाउँदा पनि खुशी हुने सुभद्राले पनि आफैले सौता जाने निर्णय लिएकी छिन्। यति मात्र होइन आफ्नै भाइ कृष्णले समेत अर्जुनसित सौताकै रुपमा भए पनि सुभद्रालाई जानदिने कृष्णको निर्णयले नै स्पष्ट पार्छ बहुपत्नी समाज थियो र यस प्रकारको विवाह त्यस समाजमा स्वीकृत थियो। अपहरण हुनु र हुनदिनु दुवै वैध बनेको छ। आफ्नो विवाह दूर्योधनसित हुन्छ भनेर जान्दाजान्दै उनी स्वेच्छाले अर्जुनकी पत्नी बन्न पुगेकी छिन्। आफूले मन परेको कार्य गर्न र पति छान्न महाभारतकी सबै नारी पात्रहरु स्वतन्त्र छन्। तर यति हुँदाहुँदै पनि द्रौपदीले जस्तो मानसिक र शारीरिक पीड़ा सबैले खप्नु परेको छैन।

गान्धारी महाभारतकी चर्चित नारी पात्रहरुमा एउटी हुन् । धृतराष्ट्रकी पत्नी गान्धारी जीवन भर स्वेच्छाले अन्धी भएर अन्धा पतिसित जीवन विताउने नारीको रुपमा चिनिन्छन्। आँखा सक्ला हुँदाहँदै पनि आफूखुशी आँखामा पट्टी बाँधेर जीवन बिताउने गान्धारी पुरुष(पति) अहंको तुष्टिमा लागेकी भान हुन्छ।आफ्नो जीवनका प्रायः नै क्षणहरु उनले अँध्यारोमा बिताएकी छिन्। पुत्र मोह, पति धर्म नै उसको जीवनको उद्देश्य बनेका छन्। उनलाई जितिएर ल्याइएको हो। उनीसित धृतराष्ट्रलाई पतिको रुपमा स्वीकार गर्नु सिवाय अन्य विकल्प रहेन। परिणामस्वरुप जीवनभर मौनतामा र अन्धकारमा उनले आफ्नो जीवन बिताएकी छिन्। राजनैतिक रुपमा र व्यक्तिगत दुवै रुपमा नै शिकार बनेकी वाध्यतामा गान्धारीले खुशीसित (?) बाँच्नु परेको छ। गान्धार देशकी राजकुमारी गान्धारी सबै दृष्टकोणले दमित भएको मान्नु पर्छ। अलग देश, अलग संस्कृतिबाट आएकी गान्धारीले प्रत्येक पाइलामा समझौता गर्नु परेको छ।

रामायण र महाभारतका यी नारी पात्राहरु हाम्रै समाजका प्रतिमूर्तिहरु हुन्। समाजिक मान्यता र मानदन्ड अनुसार आफनो जीवनलाई समेटेर सामाजिक मर्यादा अनुरुप नै ढालेका छन् (वा ढालेर देखाइएको छ)। साथै नारी जीवनको महिमा र महत्वलाई पनि मनोनित आदर्श र मर्यादाकै घेरामा राखिएर चित्रित गरिएको छ। पितृसत्तात्मक समाजमा नारी जीवनको परिधि र स्वतन्त्रता, वरण र चुनौति, अधिकार र दमन, भेद र सम्मान आदिको चित्रणमा लेखकीय मनोस्थिति समाजदेखि भिन्न बनेकोहुँदैन। नारी जीवनको गरिमालाई देखाउँदा देखाउँदै पनि पुरुषप्रधान समाजमा नारीले तर पुरुष सरह व्यावहारिक अधिकार र सम्मान पाउन सकेका छैनन्।

समसामयिक प्रचलन र सन्दर्भ अनुरुप नारीवाद र नारीवादी नाराहरु सर्बत्र प्रिय र चर्चित रहेका छन्। नारीत्वको मूल्य र महिमा, नारी जीवनको गरिमा, सामाजिक अधिकार र स्वतन्त्रता यिनैका आधारमा आज नारीहरु र नारीवादीहरु नारीवादका नारा लाउँछन्। सरकारी सहूलियत र समाजिक संक्षणका कुरा गर्छन्। नारीलाई बस्तुको रुपमा लिने र भोगका वस्तु ठान्नेहरु केही रुपमा दोषी पनि बनेका हुन्छन्।तरै पनि नारी शोषित हुन र दमित भइ नै रहेका छन्। परम्परागत मान्यता र मानदण्डमा संरचित पितृसत्तात्मक समाजमा नारी आज पर्यन्त निर्बल र शोषित नै मानिन्छन् र नै नारीवादका धारणाहरु चर्किंदै अझ बुलन्द भइरहेछन्। पश्चिमबाट थालिएको नारीवादी धारणाहरु विश्वव्यापी भइसकेको छ।

नारीवादी धारणा आजकै सन्दर्भमा उचित हुन आउँछ। समयानुरुप र कालानुरुप नै कतिपय सिद्धान्त र धारणाहरु निर्मित र मनोनित हुन आउँछन्। सैकड़ौं वर्ष अघिका पौराणिक ग्रन्थहरुमा वर्णित सामाजिक तथ्य र सांस्कृतिक पृष्ठभूमिमा जीवन्त नारी पात्राहरु निश्चित रुपमा आजको परिधिमा पर्न आउन सक्दैनन्।

तरै पनि आजको नारीवादी धारणामा मनोनित कतिपय तथ्यहरु भने त्यस कालका नारीहरुमा थिँदै थिएन भन्न सकिँदैन। नारी स्वतन्त्रता, नारीसशक्तिकरण, वरण शक्ति, नारी अधिकार, नारी विरोध (पुरुष प्रधान समाजको),नारी आत्मसम्मान आदिको भाव भने त्यस समाजका नारीहरुमा निश्चित रुपमा थियो। व्यक्त रुपमा नभए पनि हरेक नारीको अन्तरभावमा अचेलका नारीका जस्तै मान- सम्मान र अधिकार, अहं,अपमान आदि भावहरु भने त्यसकालका नारी मनभित्र पनि निश्चय नै रहेका नै थिए ।तिनै भावहरुको परिपुष्टि सीताको भू-गमनदेखि द्रौपदीको प्रश्न सम्म छ।

युद्धको परिणति जे भए पनि युद्दको कारक तत्त्व भने नारी असम्मान र अपमान नै रहेको छ। नारीहरुको सम्मानको रक्षा पनि पुरुषद्वारा नै भएको देखाइए ता पनि पुरुषहरुद्वारा नै नारी अपमानित र असम्मानित हुनु परेको छ। युद्धका कारक तत्त्व नारी नै रहे पनि युद्धमा नारी अस्तित्व भने धमिलिएर गएको छ। नारी अस्मिता र अस्तित्वमा यहाँ प्रश्नचिन्ह लागे ता पनि वास्ताविकता के हो भने त्यस बेलाका नारीहरु साह्रै निर्बल र अशक्त भने थिएनन्। समाजको विरोध गर्ने क्षमता, वर चुन्ने अधिकार, एक्लै घुम्न सक्ने, राज्य चलाउने सामर्थ्य भएका नारीहरुको रुपमा हामी मिथकीय नारी पात्राहरुलाई पाउँछौं।

 

त आफ्नो अधिकार, शक्ति , मान सम्मान, अस्तित्व र अस्मिताको जुन भाव ती नारीहरुमा देखिन्छन् ती नै वास्तवमा नारी सशक्तिकरण , नारी अस्तित्व र अस्मिता, अधिकार , प्रतिकार,विद्रोह र स्वतन्त्रताको परिचय हो । आजको सन्दर्भका   नारी अस्तित्वका बल्दा जल्दा प्रश्नले मिथकीय नारीहरुलाई पिरोलेको थिएन भनेर भन्न सकिँदैन ।

रामायणदेखि महभारतसम्म आइपुग्दा नारी चेतनाको विकासमा सामाजिक र पारिवारिक शोषण र दमनमा सीताको मौन प्रतिकारदेखि द्रौपदीको वाचाल विरोध सम्म आइपुग्छौं। तर यो विचारलाई पछिल्ला पुस्ताहरुले सायद राम्रो टेको दिएनन्, र नै हामी कहाँ नारीवाद जस्तो आधुनिक विचार पल्लवित हुन सकेन ।तथापि जीवन बँचाइको क्रममा बीज रुपमा भने यस्तो विचार र व्यवहार रामायण र महाभारतमा हामी पाउने गर्छौं।

5 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *