आकाँक्षा
|
सबैथोक बन्द थियो
मात्र ऊ खुलेको थियो
मात्र उसको सपना
बिउँझेको थियो
मात्र उसको आकाँक्षा
जुरमुराएर आकासिएको थियो
थप्दै गयो आकाँक्षाको भर्याङ्ग
आकासभन्दा माथिसम्म
मृत्यु सामुन्ने हुँदा पनि
भय थिएन कत्ति कालको
गन्दै थियो-
एक , दुई ,सय, हजार
अनि अनगिन्ती लाख !
तृष्णाले अझै तृष्णा जगायो
अरु धेरै लाखका मुहानहरु कहाँ छन् ?
सोच्दै गयो
सम्झिंदै गयो
र घोत्ली रह्यो निन्द्रा भगाउँदै
मस्तिष्कलाई जोड , घटाउ, गुणांकमा
फनफनी घुमाई रह्यो धेरैबेर
भोलि भेट्ने छु त्यो, त्यो र त्यो !
त्यो , त्यो र त्यो भएपछि
पर्सि यति हुनेछ, औंला भाँचि रह्यो
कल्पनामा नै
महल ठड्याउँदै गयो क्रमश: ।
मूल्य निर्धारण गर्दै थियो
हरेक वस्तुको
बनाउँदै थियो योजना
करोडौं खर्चको
बुन्दै थियो सपना आँखाभरि
आकाँक्षाले पूर्णता पाएको
अनुभूतिमा मुसुक्क
मुस्कुराउँदै थियो मनमनै
तर,
आँखा खोल्न नपाउँदै
उसलाई झुक्यायो कालले
सपनाकै आँखाले हेरिरह्यो
आफ्नै ओछ्यानमा
सुतेको सुत्यै भएको
आफ्नै मृत शरिर !